शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

शनिबार, २७ माघ २०८०, १३ : ०७
शनिबार, २७ माघ २०८०

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको हो । 

क्यानडाका लागि ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ६५ रन बनाए । अर्का ओपनर नवनित धालिवालले टोलीको खातामा ४६ रन थपेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान परगात सिंहले पनि ३८ रन बनाए । निकोलस किर्तन २० रनमा आउट भए । श्रेयष मोभाले पनि टोलीको खातामा ४० रन थपेका थिए । उनले ४२ बलमा चार चौका पनि प्रहार गरे । उदय भगवानले पनि अविजित २० रन बटुले । उनले १५ बलमा एक छक्का र एक चौका हिर्काएका थिए ।  

क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले कप्तान रोहित पौडेल, रिजन ढकाल, कुशल मल्ल, सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामी गरी सातजना बलर प्रयोग गरेको थियो । रोहित र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले पनि एक–एक विकेट हात पारे । 

आकाशको सिनियर टोलीबाट यो ‘डेब्यू’ खेल हो । सूर्य तामाङ र रिजन ढकालले भने बिहीबार सम्पन्न क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमार्फत सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा ‘डेब्यू’ गरेका तीनैजना खेलाडीले विकेट लिइसकेका छन् । रिजनले भने बिहीबारको खेलमै विकेट लिएका थिए ।  

क्यानडाको पहिलो विकेट आकाश चन्दले लिएका थिए । आकाशले सिनियर टोलीबाट ‘डेब्यू’ गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका हुन् । सिनियर टोलीबाट आकाशको यो ‘डेब्यू’ खेल हो । यू–१९ राष्ट्रिय टोलीका तिब्रगतिका बलर आकाशले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए । 

मैदानमा जमिसकेका नवनितले ४६ रन बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि ६० बलको सामना गरी आठ चौका हिर्काएका थिए । १८.२ ओभरमा नवनित आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।  क्यानडाको दोस्रो विकेटका रुपमा ओपनर एरोना जोन्सन पेभेलियन फर्किएका थिए । उनी ६५ रन बनाउँदै रनआउट भएका थिए ।

उनले केवल ६२ बलमा दुई छक्का र १० वटा चौका पनि प्रहार गरेका थिए । २२.२ ओभरमा जोन्सन आउट हुँदा क्यानडाले एक सय २६ रन बनाएको थियो । नवनित र जोन्सनले ओपनिङ विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका थिए । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए । ३१।२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको थियो ।

क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका थिए । उनले एकै ओभरमा दुई विकेट लिएका हुन् । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई २० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । निकोलस किर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए । ३१.५ ओभरमा किर्तन आउट हुँदा क्यानडाले एक सय ८० रन बनाएको थियो ।

क्यानडाको पाँचौँ विकेट सूर्य तामाङले लिएका थिए । सूर्यले सिनियर टोलीबाट पहिलो विकेट लिएका हुन् । उनले सिनियर टोलीबाट क्यानडाविरुद्ध बिहीबार भएको खेलमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काएका हुन् । 

सूर्यले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए । ३४.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि दिलप्रितले ३८.४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको थियो । 

क्यानडाको सतौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनको ब्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका थिए । कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । ४०.४ ओभरमा साद बिन जाफर आउट हुँदा क्यानडाले दुई सय १६ रन बनाएको थियो । 

क्यानडाको आठौँ विकेट पवन सर्राफले लिएका थिए । पवनले क्यानडाका साहिद अहमदजाईलाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । ४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले दुई सय ३९ रन बनाएको थियो । क्यानडाले नवौँ विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिएका थिए ।

सोमपालले उनलाई ४० रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा पेभेलियन फर्किएका थिए । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपाली टोलीले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप