बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लघुकथा

पुनर्मिलन

शनिबार, २७ माघ २०८०, ०६ : ५८
शनिबार, २७ माघ २०८०

‘आम्मामा ! के अचम्म सुन्नुपर्‍यो ?’

बिहानै पँधेरामा पानी भर्न आएकी फोस्राबोटे साइँली गाग्री बोकेको डोको बिसाउँदै एक्कासि बोलिन् । 

सबै पँधेर्नीहरूका कान ठाडा भए । जिज्ञासु नजर साँइलीतर्फ सोझिए । 

‘हैन् के अचम्म सुन्यौ र साँइली ? कुरा खुलस्त पार न । ’ काफ्लारुखे पण्डितनीले कुरो भुइँमा खस्न नपाउँदै सोधिहालिन् । 

‘ऊ बेला केटो काठमाडौं बस्ने । केटी सासुससुरासँग गाउँमा बस्ने गर्दा मनमुटाब बढ्दै गयो । पढेकी केटी, विवाहपछि उसको पनि जागिर गर्ने इच्छा भयो । उता केटाको पनि बाध्यता, सँगै लैजाओस् घरमा रोगी बाआमा एक्लै । बाआमालाई सेवा गर्न, सुख–सुविधा दिनका लागि बाआमाले खोजेकै केटीसँग विवाह गरेको । तर केटीले बुहार्तन गरेर घरमा बस्न मानिनँ ।’ 

‘त्यो त सबैलाई थाहा भएकै कुरा त हो । त्यसै कारण त उनीहरूको सम्बन्धविच्छेद भएको हो । त्यो कुन नौलो कुरा भयो र अचम्म मान्नुपर्ने ? आफूलाई कति बेला घरमा पानी पुर्‍याउँला र मिलमा जाउँला भन्ने आत्तुरी छ । यिनी भने कुरा चपाइ मात्र रहन्छिन् ।’ हतार भाव देखाउँदै जुरेली च्याँट्ठिइन् । 

‘सम्बन्धविच्छेद पछि निकिताले पनि लोकसेवा पास गरिछ । उसको पनि काठमाडौँमा जागिर भएछ ।’

‘ए, केटी त टाँठी रैछे नि । त्यस्ती केटी किन मान्थी बुहार्तन गरेर घरमा बस्न ?’ बिचमै प्वाक्क बोलिन् पण्डितनी । 

‘यो कुरा चाल पाएछन् रविनका अफिसका साथीहरूले । साथीहरूकै मिलेमतोमा उनीहरूको फेरि विवाह गरिदिएछन् । अहिले त सँगै पो छन् रे त !’ रुद्रघण्टीमा अड्किएर उकुसमुकुस भएको पुरै कुरा ओकलिन् साँइलीले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मित्र ‘उराठी’ गौतम
मित्र ‘उराठी’ गौतम
लेखकबाट थप