मदिरा
‘ओहो दाइ तपाईं !’ एकाबिहानै आफ्नो ढोकैमा आएका मिठुरामलाई माधवले मुस्किलले चिने । सधैँ मदिराको आहालमा रमाउने मिठुराम आज रामनामी ओढेर जो आएका थिए । माधव भने एकाबिहानै तीन गिलास सिनित्त पारेर झल्लिरहेका थिए ।
‘अनि यो के हो, पुरै रामनामी छ त ? धर्मकर्म गर्न लाग्नुभयो कि के हो ?’ माधव खिस्स हाँसे ।
‘रमेशदाइ बिते नि, भाइ !’ मिठुरामको बोली फुट्यो ।
‘हो र ? के भन्छौ मिठुदाइ, के भनेको ? रमेश दाइ ! कसरी ?’ माधवले एकै सासमा सबै सोधे ।
‘कलेजो खत्तम भएछ । अस्पतालका डाक्टरले निकै बिग्रेको छ, अब हुँदैन भने । अनि त...’ एक्कासि मिठुराम क्वाँ क्वाँ रुन थाले ।
‘भाइ ! तैँले पनि छोड त्यो कुकुरको मुत खान । मेरो नि कलेजो धेरै नै बिग्रेको रहेछ । कसो औषधीले बचायो । अब त त्यो पिउने मान्छेदेखि नै घृणा लाग्छ ।’ यति भनेर मिठुराम बाटो लागे ।
माधवले एक–दुईचोटि ‘दाइ, दाइ’ भन्दै चिच्याए ।
मिठुराम केही नसुनी लगातार अघि बढे । भर्खरै के भएको हो माधवले सोच्नै सकेनन् ।
उनले पुराना दिन सम्झिए । ओहो ! ती दिन भारतको दिल्लीस्थित एक सम्भ्रान्त परिवारमा मिठुराम, रमेश, विष्णु र माधवले नोकरको काम गर्थे । काम सकेपछि चारैजना भएर हररात ग्यालेनका ग्यालेन सस्तो मदिरा घुट्काउँथे । माधवलाई खान उनीहरूले नै सिकाएका थिए । श्रीमतीको कचकचले विष्णुले समयमै मदिरा छाडे । अरुले भने तीन–चार वर्ष लगातार पिइरहे । घरायसी कारणले माधवले पनि दिल्ली छाडेपछि रमेश र मिठुराम मात्रै मदिराका साथी भएका थिए । यता माधवले घर फर्केर पनि पिउने बानी छाडेका थिएनन् ।
मिठुराम र रमेशको यादमा तड्पेर दिन बिताएपछि माधवले एक गिलास तीनपाने सिनित्तै पार्न आँटेको थियो । उनका साना छोरा छोरा ‘बाबा’ भन्दै आए ।
‘ओहो म पनि रमेश दाइझैँ छिटै गएँ भने यी लालाबालाको के होला ? अझ बिरामी परियो र झ्याप्पै काल नआए के होला ? उनीहरूले मलाई पिउन सिकाए र आफूहरूले छाडे । धत् यो तीनपाने ।’
माधवले तीनपानेसहितको गिलास हुत्त्यायो । अनि छोरो च्यापेर रुन थाल्यो ।
(लस एन्जलस क्यालिफोर्निया, अमेरिका)