शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
पाकिस्तान निर्वाचन परिणाम

पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

शुक्रबार, २६ माघ २०८०, २३ : १२
शुक्रबार, २६ माघ २०८०

इस्लामावाद । पाकिस्तानमा आम निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार देशव्यापी आमनिर्वाचन र ४ राज्यमा विधानसभा निर्वाचन भएको थियो । चुनावी परिणामले खण्डित जनादेश देखाएको छ ।

डनका अनुसार ५७ सिटमा पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) समर्थित उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधानसभामा भारी बहुमत पाएका छन् ।

पन्जाब विधानसभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज शरीफको मुस्लिम लिगसँग प्रतिस्पर्धा गर्दा ५७ सिट पीटीआई समर्थित उम्मेदवारको पोल्टामा गएको छ । रोचक कुराचाहिँ के भयो भने इमरान खान जेलभित्र छन् ।

निर्वाचन आयोगले पीटीआईको चुनाव चिह्न क्रिकेट ब्याट खोसेको थियो । जसका कारण पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रूपमा चुनावमा उठेका थिए । त्यसो हुँदाहुँदै पनि निर्वाचन परिणाम सो दलको पक्षमा गएको छ ।

तीन पटकका प्रधानमन्त्री नवाज शरिफको पार्टीले ४३ सिटमा जितेको छ भने बिलवाल भुट्टोको पार्टीले २८ सिटमा जित हात पारेको छ । खानको पार्टीको चुनाव चिह्न खोसिएपछि पीटीआई समर्थित उम्मेदवारहरू स्वतन्त्र उम्मेदवार बने ।  त्यसैले शरिफले आफ्नो पीएमएल–एन एक्लो ठुलो दल बनेको दाबी गरेका थिए ।

pak

पाकिस्तानले अहिले झै झगडा बेहोर्न सक्ने स्थिति नभएकोले आफूहरूले त्यो नचाहेको उनको भनाई थियो । पाकिस्तानको अहिलेको अवस्था हेर्दा कम्तीमा पनि १० वर्षसम्म कुनै पनि दलसँग सरकार गठनको लागि आवश्यक स्पष्ट बहुमत छैन ।

यसैबिच शरिफले पाकिस्तानलाई अहिलेको अप्ठ्यारो स्थितिबाट बाहिर निकाल्न सबै राजनीतिक दलहरु एक ठाउँमा बसेर छलफल गरी नयाँ सरकार गठन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरुसँग के छ विकल्प ?

स्वतन्त्र उम्मेदवारलाई राजनीतिक दलमा आबद्ध हुन कानुनी रूपमा आवश्यक नरहेको निर्वाचन ऐनलाई उद्धृत गर्दै विश्लेषकहरू बताउँछन् । यसको अर्थ उनीहरू राष्ट्रिय वा प्रदेशसभामा स्वतन्त्र रूपमा रहन सक्छन् । तर, विभिन्न कारणले उनीहरु राजनीतिक दलमा आबद्ध हुने अपेक्षा गरिँदैछ ।

राजनीतिक विश्लेषक रफिउल्लाह कक्कडकाअनुसार स्वतन्त्र उम्मेदवारको राजनीतिक दलमा प्रवेश गर्नुको उद्देश्य आफ्नो राजनीतिक करियर निर्माण गर्ने, आफूलाई राजनीतिक विचारधारासँग जोड्ने वा संसदमा बढी सक्रिय भूमिका खेल्ने हुनसक्छ ।

विजयी उम्मेदवारहरूसँग राजनीतिक दलमा प्रवेश गर्ने तीन दिनको समय हुनेछ । निर्वाचन आयोगको नियमअनुसार मतपत्रमा निर्वाचन चिन्ह दिइएको दलमा स्वतन्त्र उम्मेदवारले मात्रै प्रवेश गर्न पाउने उनी बताउँछन् ।

रफिउल्लाह काकर भन्छन्- ‘पाकिस्तान तहरीक–ए–इन्साफ अब सक्रिय छैन, त्यसैले यी स्वतन्त्र उम्मेदवारहरूका लागि कुन पार्टीमा प्रवेश गर्ने भन्ने निर्णय गर्नु ठुलो चुनौती हुनेछ ।’ चुनावअघि तहरीक–ए–इन्साफका नेताहरूले भने कुनै पनि राजनीतिक दलमा प्रवेश गर्न सक्ने संकेत गरेका थिए ।

केही विश्लेषकहरूले स्वतन्त्र उम्मेदवारहरूलाई पीटीआईमा सामेल हुने अनुमति दिनुपर्ने बताइरहेका छन् । उनीहरुले चाहे पिपुल्स पार्टी र अर्को सानो दलसँग मिलेर सरकारी गठबन्धन बनाउन सक्ने सम्भावना पनि उतिक्कै छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप