सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा दोहोरिँदै १९७० को चुनाव, सेनाले के गर्ला ?

शुक्रबार, २६ माघ २०८०, १९ : ५०
शुक्रबार, २६ माघ २०८०

कराँची । पाकिस्तानमा आम निर्वाचन सकिएर मतगणना सुरु भएको पनि २०/२१ घण्टा भइसकेको छ ।  

शुरुआती मतपरिणामका अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई)ले समर्थन गरेका निर्दलीय उमेदवारहरु अगाडि देखिएका छन् । जेलमा रहेका इमरान खानले नवाज शरिफ र बिलवाल भुट्टोको पार्टीलाई कडा टक्कर दिइरहेका छन् । यतिबेला त्यहाँ स्थिति सन्  १९७० को चुनावको बेलाको जस्तै देखिएको छ ।

सेनाको समर्थनबिना पाकिस्तानमा कोही पनि सत्तामा आउन असम्भव हुने गरेको छ । चुनाव जिते पनि सेनाले धेरै दिन टिक्न दिँदैन । सेनामाथि यसअघि पनि चुनावमा धाँधली गरेको आरोप लागेको थियो । तर यसपटक इमरान खानले जेलमै बसेर सेनालाई उसको हैसियत देखाइरहेका छन् ।

पाकिस्तानको निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार राष्ट्रिय सभाको नतिजा इमरान खानको पक्षमा आउने देखिन्छ । उनका समर्थक निर्दलीयले ५५ सिट जितेका छन् भने पीएमएल–एनले ४३, पीपीपीले ३५, पीएमएल १, एमक्यूएम–पी ४ र जयुआई–पीले १ सिट पाएका छन् । धेरैले सेनाले चुनावी नतिजा ढिलो गरी धाँधली गरेको आरोप लगाएका छन् । मत परिणाममा जेलमा रहेका इमरान खानको पार्टीको दबदबालाई हेर्दा उनलाई निर्वाचनमा सहभागी हुन नदिने षडयन्त्र प्रभावहीन भएको स्पष्ट देखिएको छ ।

पाकिस्तानमा विभाजनको कारण बनेको थियो सन् १९७० को निर्वाचन

इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेताहरूले यतिबेला गोप्य बैठकहरू गरिरहेका छन् । निर्वाचनमा आफूहरुले अचम्मित हुने खालको परिणाम आउने आशा नेताहरुको छ । कयौँ उम्मेदवारहरूले चुनावमा ठूलो धाँधलीको आरोप लगाइरहेका छन् । निर्वाचनको नतिजाबारे अदालती मुद्दामामिला हुने अनुमान गरिएको छ । अहिलेको परिणाम ठ्याक्कै सन् १९७० को चुनावको जस्तै छ । 

पाकिस्तानमा १९७० को डिसेम्बर ७ मा नेशनल एसेम्बलीका सदस्य चयनका लागि आम चुनाव भएको थियो । त्यसबेला तीन सय सिटका लागि मतदान भएको थियो । जसमध्ये १६२ पूर्वी पाकिस्तानमा र १३८ पश्चिम पाकिस्तानमा थिए । महिलाका लागि १३ सिट आरक्षित गरिएको थियो । जसमध्ये सात पूर्वी पाकिस्तानमा र छ जना पश्चिम पाकिस्तानमा थिए, जसलाई राष्ट्रिय सभाका सदस्यहरूले चुन्नुपर्ने थियो ।

सैन्य तानाशाहीका कारण विभाजित भएको थियो पाकिस्तान

यस निर्वाचनमा शेख मुजिबुर रहमानको अवामी लिग विजयी भएको थियो । जसले पूर्वी पाकिस्तानका १६२ सामान्य सिटमध्ये १६० र सबै सात महिला सिट जितेर पूर्ण बहुमत हासिल गरेको थियो । पीपीपीले भने ८१ सामान्य सिट र पाँच महिला सिट जित्यो, ती सबै पश्चिम पाकिस्तानमा थिए । तर शेख मुजिबले प्रधानमन्त्रीको शपथ ग्रहण गर्न पाएनन् । 

सैन्य तानाशाह तथा राष्ट्रपति याह्या खान र पीपीपीका अध्यक्ष जुल्फिकार अली भुट्टो बंगलादेशका शेख मुजीबलाई प्रधानमन्त्रीको कुर्सीमा बसेको हेर्न चाहँदैनथे । यसका कारण पहिले पूर्वी पाकिस्तानमा गृहयुद्ध भयो र पाकिस्तानको विभाजन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप