मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

शुक्रबार, २६ माघ २०८०, १८ : २२
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेपाली युवा टोलीका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीलाई अवसर हुने बताएका छन् ।  

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबिच शनिवार मैत्रीपूर्ण खेल हुँदैछ । सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन् । यसको तयारी पोखरामा पनि गरेको प्रशिक्षकले उल्लेख गरे । उनले अधिकांश यु–२० उमेर समूहका खेलाडी र एक जना यु–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताए । नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ ।

खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ । अधिकांश खेलाडी बिदेसिएका समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने उनले बताए । साथै प्रशिक्षक एनेसले नेपालबाट खेलाडी मात्र नभई धेरै जना विदेश जाने गरेको र जुन निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको उनको भनाइ छ । नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एशियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको बताए । 

युवा खेलाडीले यो मैत्रीपूर्ण खेललाई अवसरका रूपमा लिने उनको भनाइ छ । नेपालले गत वर्ष एशियन गेम्समा यु–२३ पुरुष फुटबल खेल्न नपाएकाले यो मैत्रीपूर्ण खेल युवा टोलीका लागि अवसर हुने विश्वास व्यक्त गरे ।  

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ । कप्तान मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भएपनि तयारी राम्रो भएको बताए । आफ्नो कप्तानी जिम्मेवारीमा उत्साहितभन्दा पनि खेलमा मात्र केन्द्रित भएको मनिषको भनाइ छ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । पहिलो हाफको अन्तरालपछि पनि केही प्रश्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएका हुन् । उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन् । चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदनप्रदान गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे ।  

चिनियाँ टोलीले यो खेलबाट दुई देशको सम्बन्धलाई राम्रो बनाउने विश्वास लिएको छ । लगभग एक महिनाको तयारी गरेर नेपाल आएको टोलीका नेताले जानकारी दिए । साथै सो चिनियाँ टोलीले यो अवसरमा सांस्कृतिक आदनप्रदानका लागि यो खेल निक्कै महत्त्वपूर्ण हुने विश्वास राखेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँदेखि ल्हसा र ल्हसादेखि काठमाडौँको हवाई टिकटसमेत प्रदान गरिने जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप