मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलका लागि तयार रहेको नेपाली र चिनियाँ टोलीका प्रशिक्षकको दाबी

फुटबल प्रशिक्षक एनेस भन्छन्, ‘खेलाडी विदेशीएको भन्दा पनि मेरो ध्यान खेलमा केन्द्रित छ’
शुक्रबार, २६ माघ २०८०, १७ : ०१
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेलालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजकमा नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक र कप्तानले आफूहरु खेलका लागि तयार रहेको बताएका छन् । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मैत्रीपूर्ण खेल युवा खेलाडीका लागि क्षमता देखाउने गतिलो अवसर रहेको बताए ।

एनेस नेपालको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक हुन् । चिनियाँ युवा टोलीविरुद्धको खेलको जिम्मा पनि उनैलाई दिइएको छ । प्रशिक्षक एनेसले मैत्रीपूर्ण खेलका लागि आफूहरुले पोखरामा आठ दिन प्रशिक्षण गरेको बताए ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रशिक्षक एनेले भने, ‘खेलाडी विदेशीएको सम्बन्धित निकायले सोच्ने कुरा हो । मेरो सम्पूर्ण ध्यान प्रशिक्षणमा केन्द्रित रहन्छ । अहिले पनि शनिबार हुने मैत्रीपूर्ण खेलको बारेमा सोचिरहेको छु ।’

उनले कुनै पनि देशका लागि प्रतिभा पलायन दुःखको विषय भएको धारणा ब्यक्त गरे । ‘नेपालबाट फुटबलरमात्र होइन, अवसर पाए भने डाक्टर, इन्जिनियर, पत्रकार पनि विदेश जान्छन् । पक्कै पनि यो दुःखको कुरा हो । तर, यतिबेला हाम्रो सम्पूर्ण ध्यान खेलमा केन्द्रित हुनुपर्छ,’ उनले भनेका छन् ।

चिनियाँ क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानको जिम्मेबारी पाएका मनिष डांगीले पनि आफूहरुले मैत्रीपूर्ण खेलका लागि आठ दिनको प्रशिक्षण गरेको बताए । उनले टोलीमा युवासँगै अनुभवी खेलाडीको पनि उपस्थिति रहेकाले मैत्रीपूर्ण खेलमा गतिलो प्रदर्शन गर्ने दाबी गरे ।

यसैगरी चिनियाँ क्लबका प्रशिक्षक बादेङ चेङ लिनले आफ्ना खेलाडी पहिलो पटक ठूलो प्रतियोगिताको अनुभव बटुल्न नेपाल आएको बताए । ‘हाम्रा खेलाडी यो मैत्रीपूर्ण खेलका लागि निकै उत्साही छन् । हामीले यो खेलका लागि एक महिना तयारी गरेका छौँ । मेरो विचारमा भोलीको खेल रोमाञ्चक हुनेछ,’ उनले भने ।

यसैगरी चिनिया टोलीका पदाधिकारी दो जी दाङ झुले नेपाल र चीनबिच खेलकुदको माध्यमले नयाँ सम्बध गाँस्न पाएकोमा खुशी लागेको बताए । ‘नदि र हिमशृंखलाहरुले नेपाल र चीनबिचको सम्बन्धलाई परिभाषित गर्दै आएको छ । सांस्कृतिक रुपमा पनि हामी निकै नजिक छौँ । खेलकुदको माध्यमले यो सम्बन्धलाई थप उचाईमा पु¥याउन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने ।

उनले नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय भएको आफूले जानकारी पाएको पनि बताए । ‘नेपाली फुटबलको विषयमा हामीले धेरै कुरा सुनेका छौँ । नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय छ । हाम्रा खेलाडीले पनि नयाँ अनुभव बटुल्ने अवसर पाउने छन्,’ उनले भने ।

मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुती दिनेछन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो । उक्त खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप