आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थ संवाद

‘जलविद्युत आयोजनामा ग्लोबल वार्मिङको असर देखिन थालेको छ’

शुक्रबार, २६ माघ २०८०

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग धान्न यतिबेला भारतबाट साढे ५०० मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । राष्ट्रिय प्रसारणलाइनमा ३ हजार मेगावाट बिजुली जोडिए खपनि सुक्खायाममा त्यसको १५ देखि २० प्रतिशतमात्रै उत्पादन हुन्छ ।

यसअनुसार हाल सरदर ८०० मेगावाट मात्रै उत्पादन भइरहेको छ । जबकि, आन्तरिक माग बढेर ‘पिक आवर’मा २ हजार मेगावाटसम्म पुगेको छ । सरकारको नीतिअनुसार निजी क्षेत्रका उत्पादकहरुले नदी प्रवाहमा आधारित आयोजनामा अत्यधिक लगानी गर्दा अर्धजलाशय र जलाशययुक्त आयोजना बन्न सकेको छैन । वर्षायाममा बिजुली बढी भएर भारत निर्यात गर्नुपर्ने स्थिति रहँदै गर्दा सुक्खायाममा भारतबाटै ल्याउनुपर्छ । यही विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का महासचिव बलराम खतिवडासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः–

  • यतिबेला भारतबाट साढे ५०० मेगावाट बिजुली आयात भइरहेको छ । राष्ट्रिय ग्रीडमा ३ हजार मेगावाट बिजुली जोडिए पनि सुक्खायामको समयमा ८०० मेगावाट मात्रै उत्पादन हुँदै आइरहेको छ । यसले नेपाल ऊर्जा संकटबाट माथि अझै उठ्न नसकेको देखिन्छ नि ?

हाल सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । सोही कारण, सुक्खायाममा यसै पनि नदी प्रवाहबाट विद्युत उत्पादन हुने आयोजना घट्छन् । यसबाहेक, यतिबेला सुरुमा गरेको जस्तो प्रक्षेपण समेत मिल्न छाडेको छ । यो हाइड्रोलोजीको तथ्याङ्क र हामी निजी क्षेत्रले नै गरेको अध्ययनको तथ्याङ्क समेत नमिलेर हुन सक्छ । ‘ग्लोबल वार्मिङ’को कारणले पनि हुन सक्छ, यतिबेला आयोजनाबाट उत्पादन घटेको छ ।

अघिल्ला वर्षहरुमा पूर्ण क्षमताको २०÷२२ प्रतिशत उत्पादन पनि वर्षा याममा भएमा राम्रो आयोजना हो भनिन्थ्यो । तर निजी क्षेत्रको मात्रै नभएर सरकारी आयोजनाको समेत क्षमताअनुसार उत्पादन भएको छैन । सुक्खायाममा माथिल्लो तामाकोसीको उत्पादन क्षमता ९० मेगावाट हो । यतिबेला घटेर ६५ मेगावाटमा आइपुगेको छ ।

  • निजी क्षेत्रले अध्ययन गर्दै र आयोजनाबाट बिजुली उत्पादन सुरु गर्नुभन्दा पहिला ?

निजी क्षेत्रले राम्रैसँग आयोजनाहरुको अध्ययन गरेको हुन्छ । तर, पछिल्ला केही वर्षयता हिउँदमा राम्रोसँग पानी परेकै छैन । यसको असर पनि देखिन्छ । यसबाहेक, हिमाली क्षेत्रमा समेत हिउँ कम परेको र पानी पनि कम परेको छ । यसकारण, विगतका वर्षहरुको तुलनामा सुक्खायाममा बिजुली उत्पादन घटेको स्थिति छ ।

  • हामीसँग वर्षायाममा बिजुली फालाफाल हुन्छ । तर, सुक्खायाममा सामान्य मागसमेत धान्न नसक्ने गरेर उत्पादन घट्छ । यो स्थिति त आगामी कयौँ वर्षसम्म जाने भयो नि ?

बिजुली उत्पादनमा अग्रसर रहेको निजी क्षेत्रले नदी प्रवाहमा आधारित आयोजनामा मात्रै लगानी गर्दैै आइरहेको छ । सरकारसँग पटक–पटक अर्धजलाशय आयोजनाको अनुमति मागे पनि बिजुलीको मूल्यमा कुरा नमिल्दा अघि बढेको छैन । अहिलेको हिउँदको बिजुली अभाव हटाउनका लागि अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउनपर्छ । सरकारले वातावरण बनाउँछ भने निजी क्षेत्र ठुला र अर्धजलाशय तथा जलाशययुक्त आयोजनामा लगानी बढाउनका लागि तयार छ । हाम्रो नीति नियम र निजी क्षेत्र पनि नदी प्रवाहमा मात्रै केन्द्रित बन्दै गयौँ । यसकारण, अलिकति नमिलेको पनि हो ।

  • निजी क्षेत्रले किन ठुला आयोजनामा लगानी केन्द्रित गर्न नसकेको हो ? नदी प्रवाहमा मात्रै झुम्मिनुको कारण के हो ?

नेपालको निजी क्षेत्र बल्ल जलविद्युतमा ठुलो लगानी गर्न सक्षम बनेको छ । सुरुमा नेपालको निजी क्षेत्रले ५÷१० मेगावाटमा लगानी गर्ने गर्थ्यो । त्यो लगानी बढ्दै जाँदा यतिबेला ३०० मेगावाटसम्मका आयोजनामा नेपालकै निजी क्षेत्रले लगानी सुरु गरिसकेको छ । मुख्य विषयचाहिँ जलाशययुक्त आयोजना निर्माणमा ठुलो लगानी लाग्छ र सोअनुसारको प्रतिफल आउँदैन । सरकारले नदी प्रवाहमा जस्तै आकर्षक मूल्य तय गर्ने हो भने निजी क्षेत्रले ठुलो मात्रामा जलाशययुक्त आयोजनामा लगानी बढाउँछ । अन्यथा, अहिलेकै अवस्थामा लगानी बढ्न समस्या छ । अर्धजलाशययुक्त आयोजनाको हकमा भने फरक व्यवस्था छ ।

416580382_1071820400749475_321591914688075565_n

  • तपाईंहरुले अर्धजलाशययुक्त आयोजनामा कत्तिको लगानी गर्दै हुनुहुन्छ ? केही सूची पाउन सकिन्छ ?

निजी क्षेत्रले पछिल्लो समय अर्धजलाशययुक्त आयोजनमा लगानी बढाउँदै छ । र, विद्युत प्राधिकरणले पनि निजी क्षेत्रलाई कोटा छुट्याएको थियो । तर, कोटाअनुसारको विद्युत खरिद सम्झौता भने हुन नसकेकाले उत्पादन सोअनुसार बढ्न सकेको छैन । अर्धजलाशययुक्त आयोजना सञ्चालनमा रहेको खोलाको तल्लो तटीय क्षेत्रमा रहेका आयोजनामा समस्या पनि आउँदै छ । यसलाई व्यवस्थापन लगेर जाँदा निजी क्षेत्र यस्ता आयोजनामा लगानी गर्न तयार छ । तर, हाल निजी क्षेत्रले ठ्याक्कै कति क्षमताका आयोजनामा लगानी अघि बढाएको छ भन्ने जानकारी छैन ।

भावी दिनमा नेपालको माग धान्नका लागि १०औँ हजार मेगावाट बिजुली उत्पादन गर्नुपर्छ । किनकि, सुक्खायाममा आयोजनाको कुल क्षमताको २० प्रतिशतमात्रै उत्पादन हुन्छ । अहिलेको माग धान्न २ हजार मेगावाट चाहिने भएकाले १० हजार मेगावाट क्षमता पुगेमा बल्ल धान्छ । यसलाई ब्यालेन्स गर्नचाहिँ सोलारलाई प्राथमिकतामा राख्नुपर्छ । दिउँसोको समयमा सोलारलाई अघि बढाउन सकेमा थोरै भए पनि ‘इनर्जी ब्यालेन्स’ गर्न सहज हुन्छ ।

  • सुक्खायामको नेपालको माग र आपूर्तिको अन्तर पूर्ति गर्नका लागि उत्तम उपाय के हुन्छ ?

सुक्खायामको असन्तुलनलाई सही दिशामा ल्याउनका लागि सोलार नै उत्तम विकल्प हो । तर, सोलार पनि आजको मितिमा पीपीए खुलाएर प्रक्रिया अघि बढाउँदा पनि कम्तीमा २ वर्ष लाग्छ । सोलार आयोजना अघि बढाउनका लागि पनि धेरै समस्या छ । जमिन छान्नै समस्या छ । छानेको जमिनको नजिक ट्रान्समिसन लाइन पाइँदैन । कृषियोग्य जमिनमा सोलार राख्नै नमिल्ने सरकारको नीति छ । यस्तै, सोलारमा प्रतिस्पर्धाका लागि तय गरिएको मूल्यमा उत्पादन सम्भव नहुने विषय पनि आइरहेका छन् । सोहीकारण, तत्कालको माग धान्नका लागि आयातमा भर पर्नैपर्ने हुन्छ ।

  • यतिबेला सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य तय गर्दै छ । यो लक्ष्यअनुसारको बिजुली उत्पादन सम्भव छ ?

आजको नीति नियममै टेकेर सो लक्ष्य पूरा गर्न सम्भव देखिँदैन । किनकि, क्लियरेन्स लिनै कम्तीमा ४ वर्ष लाग्छ । वनको प्रक्रिया अति झन्झटिलो छ । राष्ट्रिय निकुञ्जमा आयोजना बनाउन समस्या छ । यी समस्या समाधान गरेमा सरकारले तय गर्ने लक्ष्य भेट्टाउन सहज हुन्छ । सरकारले लक्ष्य तयसँगसँगै अव्यावहारिक र झन्झटिला ऐन, कानुन पनि संशोधनको प्रक्रिया अघि बढाएको छ । हाल ३ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । ३५ सय मेगावाट हाराहारी आयोजना निर्माणको चरणमा छन् र थप ८ हजार मेगावाट आयोजना पीपीएको पखाईमा छन् ।

यसबाहेक अन्य धेरै आयोजनाको पीपीए समेत सरकारले तत्काल खुलाउनपर्छ । सरकारले वन ऐन, वातावरण ऐन, भूमि सुधार ऐन लगायतलाई सुधारका लागि भनेर प्रक्रिया अघि बढाएको छ ।

  • यी कानुनी झन्झट संशोधन भएर नयाँ ऐन बन्यो भने निजी क्षेत्रको साथ कस्तो हुनेछ ?

सरकारले तय गरेको यो योजना निजी क्षेत्रबिना सम्भव नै छैन । यतिबेला धेरै आयोजना नै निजी क्षेत्रसँग छ । यसलाई अघि बढाउनका लागि सरकारले वातावरण बनाउनुपर्छ । यो भनेको लगानीको बाटो खोलिदिनुपर्छ । हाल बैंकहरुले आफ्नो डिपोजिटको १० प्रतिशत लगानी जलविद्युतमा गर्नुपर्छ भनिएको छ । यसलाई बढाएर १५ वा २० प्रतिशत पुर्‍याउनुपर्छ । १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्न ४६ खर्ब चाहिन्छ भनिएको छ । अहिले बैंकहरुमा तरलता नै ५६ खर्ब हाराहारी छ भनिन्छ । यसको १० प्रतिशत भनेको आगामी १२ वर्षसम्ममा ५÷६ खर्ब हुन आउँछ । सबै निकाय लागि परेमा यो योजना पूरा गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया