बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्झौता

शुक्रबार, २६ माघ २०८०, ११ : ०३
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच  उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाली समकक्षी  पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबिचको सम्बन्ध जनस्तरसम्म  नै पुगेको बताए।

'अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ।  हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ', सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन्।

वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए। उक्त कुरा पनि उनले स्मरण गरेका छन्। उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्‍याउने अवसरका र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।

त्यस बेला परराष्ट्र मन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्‍याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका थिए।

'त्यो छलफलपछि दुवै देशबिचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीहरूले औपचारिक सम्झौताका लागि पटक पटक छलफल गरेका थिए,' उनको भनाइ छ, 'पर्थमा (यसपालि) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ। यो सम्झौताले हामीबिचको बलियो सम्बन्धलाई देखाएको छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप