प्रदेश सरकार भूमि बैंक निर्माणको अन्तिम चरण छः मन्त्री चित्रकार
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेश सरकारले भूमि बैंक स्थापनाको तयारी गरेको बताएका छन् । बिहीबार मकवानपुरको बकैया गाउँपालिकामा रहेको कृषि उद्योग ग्रामको स्थलगत अनुगम गर्दै मन्त्री चित्रकारले प्रदेश सरकारले भूमि बैंक निर्माणको अन्तिम चरणमा रहेको बताए ।
उनका अनुसार संघ सरकार र केही स्थानीय तहले सो काम गर्ने योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएनन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सो कार्यलाई तीव्रता दिने गरी काम अघि बढाएको मन्त्री चित्रकारले बताए ।
‘औद्योगिक वातावरण निर्माणका लागि भूमि बैंक महत्त्वपूर्ण हुनेछ । उत्पादन लागतलाई न्यूनीकरण गर्न र भूमि बैंकले उद्योग स्थापनाका लागि सहुलियतमा उपलब्ध गराउने छ ।’ उनले भने, ‘अलपत्र सरकारी निजी जग्गालाई प्रयोग गरेर उत्पादनमूलक काम गर्ने योजना प्रदेश सरकारको रहेको छ । उपयोगविहीन जग्गालाई प्रयोग गरेर सरकारको राजश्व र उत्पादकत्व वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ ।’
प्रदेश सरकारसंग रहेको सीमित स्रोत साधनको प्रयोग गरेर सेवा प्रवाह उत्पादन वृद्धि रोजगारी सृजना र सुशासन कायम गर्ने प्रयास भइरहेको उनको भनाई छ । प्राकृतिक स्रोतको प्रयोग गर्न सबै तह र सरोकारवाला निकाय डराएको उनले टिप्पणी गरे । मुलुक समृद्धि प्राकृतिक स्रोतको प्रयोगबाट नै सम्भव रहेकाले प्रदेश सरकार त्यस तर्फ अग्रसर रहेको उने बताए ।
देशमा प्रदेश सरकार रहेकाले नै संघीयताको अनुभूति भइरहेको उनले बताए । संघीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारलाई थुप्रै जिम्मेवारीहरू रहेको उनको भनाई छ । तीन तहको सहकार्यमा नै विकासको काम अघि बढाउन जरुरी रहेको उनले बताए । प्रदेश सरकारको बजेट पनि पूर्वाधार विकासमा नै केन्द्रित भएकाले औद्योगिक विकासमा बागमतीको अवस्था कमजोर रहेको उनले बताए ।
‘कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यको जिम्मेवारी सबै सरकारको हो । विगतमा केन्द्रीकृत मानसिकताका आधारमा सरकारले पूर्वाधार विकासमा केन्द्रित भएका थिए । सो विषय विकासको ट्रेन्डको रूपमा रहेको छ । विकास र समृद्धिको जग नागरिकलाई सक्षम बनाउने हो । त्यसका लागि रोजगारी सृजना र जीविकोपार्जनको वातावरण गर्नुपर्छ । हाम्रो प्राथमिकता उद्योग विकासमा छैन । विगतको सरकारले उद्योग वाणिज्य क्षेत्रलाई ध्यान दिन सकेन । प्रत्येक नागरिकलाई रोजगारी दिन सके मात्र समृद्धि सम्भव रहेकाले सरकारका काम त्यस तर्फ अग्रसर गर्नुपर्छ ।’ उनले भने ।
दिगो विकासको मुख्य आधार रोजगारी सृजना भएकाले उद्यमशीलताबाट मात्र उक्त कार्य सम्भव रहेको उनले बताए । बकैया गाउँपालिका उद्यमशीलता तर्फ अग्रसर रहेकाले आफू उत्साहित भएको उनको भनाई छ । थोरै पालिकाले मात्र उद्यमशीलताका काममा अघि बढेको र प्रदेश सरकार उद्यमशीलताका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
मन्त्रालयमा उद्योग, भूमि, वाणिज्य लगायतका नीति अभावका कारण समस्या भइरहेकाले उक्त नीति निर्माणमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा