आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
बेथिति

गुणस्तरीय सामान कर्मचारीको घरमा, ‘डमी सेट’ कार्यालयमा !

तत्कालीन निमित्त प्रशासकीय अधिकृतलाई पत्र काटियो
बिहीबार, २५ माघ २०८०, २३ : ४३
बिहीबार, २५ माघ २०८०

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको नाममा किनिएको सरकारी सम्पत्ति एक कर्मचारीले व्यक्तिगतरुपमा प्रयोग गरिरहेको आरोप लागेको छ । तीन वर्ष अगाडि बहुदरमाई नगरपालिकाको नाममा खरिद गरिएका विभिन्न सामग्रीहरू खोजविन गर्दा तत्कालीन निमित्त प्रमुखले व्यक्तिगतरुपमा प्रयोग गरिरहेको खुलासा भएको हो ।

०७७ सालमा नगरपालिकाका लागि खरिद गरिएका सामाग्रीहरू तत्कालीन निमित्त प्रमुख विदुर प्रसाद उप्रेतीले व्यक्तिगतरुपमा प्रयोग गरिरहेको पाइएको भन्दै नगरपालिकाले सामान बरबुझारथको लागि पत्र नै काटेको छ । तत्कालीन अवस्थामा उप्रेतीले वास्तविक सामान नबुझाएर डमी सामान बुझाएको आरोप लागेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा १६ पुसमा पत्र नै काटेर खरिद सामग्रीको ल्याउन भनिएको छ । तर अहिलेसम्म तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले भने पत्रमा भनिएका कुनै पनि सामग्री नबुझाएको जिन्सी शाखा प्रमुख रामबाबु पटेलले जानकारी दिए । 

‘हामी उहाँको प्रतीक्षामा छौँ, सरकारी सम्पत्ति नआएको खण्डमा त्यसपछिको प्रक्रिया अगाडि बढाइन्छ’, उनले भने ।  तत्कालीन निमित्त प्रशासकीय अधिकृतले त्यतिबेला वास्तविक सामानको साटो साटो डमी सेट पठाएकोले खरिद गरिएका सामानहरू फिर्ता लिन पुनः पत्र काटिएको जिन्सी शाखा प्रमुख पटेलले बताए ।

‘यस बहुदरमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको बेला तपाइले यस नपाबाट बुझेको सामग्रीहरू हालसम्म बरबुझारथ नगरेको तथा तपाई यस कार्यालयको निमित्त कार्यालय प्रमुख हुँदा कार्यालय बाट पलङ, सोफासेट, स्टिल दराज, स्टेपलाइजर, पानासोनिक एसी, बुझी निजी घरमा प्रयोग गरेको र सो सामग्रीको डमी सेट (जुन कार्यालय बाट बुझेको सामग्री सँग मेल खाँदैन) फर्काएको देखिएकोले पत्र प्राप्त भएको मितिले १५ दिन भित्र यस न.पा. कार्यालयमा सम्पर्क गरी बरबुझारथ गरी दिनु हुन यसै पत्र साथ जनकारी गराइन्छ’, पत्रमा भनिएको छ । 

नगरपालिकाको नाममा किनिएको विभिन्न १५ प्रकारका सामग्रीहरू तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले आफ्नो घरमा लगेर निजी प्रयोग गरिरहेको बताइएको छ। 

पत्रमार्फत भिभो मोबाइल एक थान, बक्स पलङ एक थान, सोफा सेट २ थान, स्टिल दराज एक थान, स्टेपलाइजर एक थान, पानासोनिक कम्पनीको एसी एक थान, एसी स्टेण्ड एक थान र भिभो भिटु स्मार्ट फोन एक थानको माग गरिएको छ । यसैगरी कोरोनाकालमा कोरोना अस्पताल सञ्चालन भएको समयको खरिद गरिएका सामग्रीहरू पनि बरबुझारथ गर्न भनिएको छ ।

कोरोनाकालमा खरिद गरेका कम्पलिट हस्पिटल बेड २ थान, दराज एक थान, अक्सिजन सिलिन्डर ५ थान, डेस्कटप एक थान, ब्रदर प्रिन्टर एक थान, विभिन्न किसिमका औषधीहरू र कम्बल ३५ थानसहितका खरिद गरिएका सामानहरू बरबुझारथ गर्न जानकारी गराइएको नगरपालिकाको कार्यालयले बतायो । यी सामानहरू करिब ५ लाख बराबरमा खरिद गरिएको नगरपालिकाले काटेको पत्रमै उल्लेख गरेको छ । 

44

ऐनले के भन्छ ?

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा सरकारी धनमाल वा  सम्पतिको संरक्षण तथा तोकिएको काममा प्रयोग गर्नुपर्ने भनिएको छ ।

यो ऐनको दफा (५५) मा प्रष्टरुपमा भनिएको छ,‘कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण नगदी तथा जिन्सीको संरक्षणको प्रबन्ध मिलाउनु जिम्मेवार व्यक्तिको हुनेछ, त्यसकारण कार्यालयमा प्राप्त हुन आएको नगदी वा जिन्सी तोकिएको कामबाहेक अन्य काममा प्रयोग वा खर्च गर्नु हुँदैन ।कुनै कर्मचारीले अधिकार प्राप्त अधिकारीको स्वीकृतिबिना सरकारी सम्पति प्रयोग  गरेको देखिएमा जिम्मेवार व्यक्तिले यस्तो जिन्सी फिर्ता लिई वा खर्च गरेको रकम असुल उपर गरी विभागीय कारबाहीका लागि विभाग प्रमुख समक्ष लेखि पठाउनुपर्ने छ ।’

नगरपालिकाका प्रशासकीय अधिकृत शेरे मुस्तुफाले ऐनले जे अधिकार दिएको छ, त्यही अनुसार अगाडि बढिने बताए ।  उनका अनुसार केही समय प्रतीक्षा गरेर त्यसपछि बाँकी प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । 

यता तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले आफूले घरको लागि नगरपालिकाको कुनै सामान प्रयोग नगरेको दाबी गरे । उनले भने,‘जे सामान मैले बुझेको थिएँ, त्यहीबेला सबै बुझाइसकेको छु । अब कुनै सामान मसँग छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप