आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

छाउपडी

बिहीबार, २५ माघ २०८०, १२ : ०८
बिहीबार, २५ माघ २०८०

अछाम जिल्लास्थित एक गाउँको छाउगोठमा एक किशोरीको निसासिएर मृत्यु भएको खबर सर्वत्र छायो । योसहित यो वर्ष छाउगोठमा मृत्यु हुने किशोरीको संख्या तीन पुगेको छ । यस घटनालाई लिएर समाज र सरकारको आलोचना भएपछि संघीयमन्त्री स्थलगत भ्रमणका निम्ति काठमाडौँबाट अछाम पुगे । 

भ्रमणका क्रममा मन्त्रीले अछाम, बझाङ र बाजुराका गाउँ पुगे र छाउगोठहरूको वस्तुस्थिति नियाले । उनी जहाँ पुग्थे त्यहाँ उनलाई फूलमालाले स्वागत गरियो । मानिसहरु भेला भएका कतिपय ठाउँमा उनले भाषण पनि गरे— आजको २१औँ शताब्दीमा कुसंस्कारलाई मान्यता दिइनु न्यायोचित होइन । यस्तो बेला हामीले छोरीचेलीलाई झनै सुरक्षित किसिमले राख्नुपर्छ । महिनावारी हुँदा अपवित्र हुने होइन । अब हामीले जनचेतना जगाउने कार्यक्रम छिटै सञ्चालन गर्नेछौँ ।

उनको भाषणलाई जनताले तालीले समर्थन गरे । कार्यक्रमको सफलतापछि मन्त्री सोही दिन हेलिकप्टरमा काठमाडौँ फर्किए । 

दिनभरिको गर्दा थकान मेट्न उनी मन्त्री क्वार्टरको आरामदायी सोफामा यसो ढल्केका थिए । टीभीमा उनकै समाचार आयो । ‘शीतल, ए शीतल ! यता आऊ त छोरी । बाबाको कार्यक्रमको समाचार हेर्न,’ उनले आफ्नी छोरीलाई बोलाए । 

उनकी धर्मपत्नी अर्थात् मन्त्राणी हातमा पानीको गिलास लिएर आइन् । 

‘छोरी खै ?’ मन्त्रीले सोधे । 

‘आज बिहान छोरी पहिलोपटक नछुनी भई । मैले उसलाई एउटा खाली कोठामा सुत्ने व्यवस्था गरेकी छु । अब १० दिनसम्म त्यहीँ सुत्छे । उसलाई नबोलाइबक्स्योस्,’ मन्त्राणीले भनिन् । 

‘ओढ्ने–ओछ्याउनेको राम्रो व्यवस्था गरेकी छौ नि, कि म हेर्न जानुपर्छ ?’ मन्त्रीले सोधे । 

‘ह्या पर्दैन । गाउँ हो र ? गोठमा सुताको हो र ? सधैँ सुत्ने कोठामा चैँ पहिलोचोटि भएकाले सुत्न नदिएको त हो ! सबै ठिक छ । हजुरले झन् हेर्नै मिल्दैन । कहाँ यस्तो बेला बुवा र दाजुभाइले अनुहार देखाउँछन् ? हजुर चिन्ता नलिबक्स्योस्, सबै व्यवस्था छ ।’

मन्त्राणीको कुरो सुनेर मन्त्रीले मुन्टो हल्लाए र पुनः टीभी हेर्न थाले  ।

(हाल अस्ट्रेलिया)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रज्ञा पनेरु
प्रज्ञा पनेरु
लेखकबाट थप