बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सेन्सर बोर्डले ल्याउन लागेको नयाँ कार्यविधिमा यस्ता छन् फिल्म माथिका अंकुश

बिहीबार, २५ माघ २०८०, १० : ३९
बिहीबार, २५ माघ २०८०

काठमाडौंँ । चलचित्र सेन्सर बोर्डले फिल्मको सिर्जनात्मक स्वन्त्रतामा अंकुश लगाउने गरी कार्यविधि तयार गरेको बिषयमा फिल्मीकर्मीहरुबाट विरोध भैरहेको छ । विभिन्न फिल्मकर्मीले सामाजिक सञ्जालमा पोष्ट गर्दै कार्यविधि जस्ताको तस्तै पारित भए फिल्म निर्माणमै डरलाग्दो अवस्था निम्तिने भन्दै विरोध गरिरहेका छन् ।

सरकारले ल्याउन लागेको कार्यविधि संसदको नयाँ सत्रबाट पास गर्ने तयारीसहित सेन्सर बोर्ड अहिले सरोकारवालाहरुसँग छलफलमा समेत सुरु गरेको छ । अहिलेसम्मको कार्यविधिमा चलचित्र जाँच पास समितिले फिल्मलाई ‘यू, पिजी, एडल्ट’ गरी ३ वटा सर्टिफिकेट प्रदान गर्दै आएको छ । तर, यी तीन प्रमाणपत्र दिएर पनि नयाँ कार्यविधिले २० बुँदामा अंकुश लगाउने तयारी गरेको छ ।

ती बुँदा यस्ता छन्-

१. नेपालको शान्ति, सुरक्षा र व्यवस्थामा खलल पुर्याएमा । 
२. मित्रराष्ट्रसँगको सुसम्बन्धमा नकारात्मक असर परेमा । 
३. कानुनको गलत व्याख्या गरी वा अदालतको अपहेलना र मानमर्दन गरेमा ।
४. जाति, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय, सम्प्रदायबिच नकारात्मक असर पारेमा, धार्मिक, सांस्कृतिक, सामाजिक विचलन ल्याएमा । 
५. राष्ट्रिय हितविपरित दृश्य र संवाद भएमा ।
६. अपराध गर्न दुरुत्साहन गरेमा । 
७. व्यक्ति विशेष, पेसा, व्यवसायी, संस्थाप्रति मानमर्दन भएमा ।
८. बाल हिंसा, जघन्य अपराध, निर्दयी व्यवहार झल्केमा । 
९. पशुपन्छीमाथि निर्दयीपूर्ण जघन्य हिंसा गरिएको दृश्य भएमा । 
१०. शारीरिक, मानसिक अशक्तता भएकालाई होच्याउने, खिसी गर्ने, हिंसा गरिएको निर्दयीपूर्ण व्यवहार झल्काएमा । ११. लागू पदार्थ तथा मद्यपानको लागि उत्साहित वा प्रेरित गरेमा । 
१२. मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरी प्रस्तुत गरेमा । 
१३. लैङ्गिक भेदभाव, महिलालाई होच्याइएका, आलोचना गरिएका दृश्य, संवाद भएमा । 
१४. द्धिअर्थी शब्द, दृश्य तथा संवाद भएमा । 
१५. खोज आविष्कारलाई हतोत्साही गर्ने, अवैज्ञानिक विषयवस्तुलाई प्रोत्साहित गर्ने, राष्ट्रिय स्वार्थ विपरीतको सोच, व्यवहार प्रोत्साहित गरेमा । 
१६. शान्ति, सुव्यवस्था र अमनचैनमा नकारात्मक असर परेमा । 
१७. मौलिक परम्परा, रीतिरिवाज, चालचलन, मूल्य मान्यता ह्रास आउने तथा सोको दुरुपयोग गरिएका दृश्य तथा संवाद समावेश भएमा ।
१८. यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवम् व्यवहार तथा पुरुष वा स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा । 
१९.मानवअधिकार उल्लंघन हुने गरी असह्य यातना देखाइएको पाइएमा । 
२०.राष्ट्रिय गान, चिन्ह, अलंकारको दुरुपयोग तथा इतिहास, भूगोल, राष्ट्रिय विभूति, सहिदहरुप्रति गलत व्याख्या गरिएमा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप