बारामा सामुदायिक वनको जग्गा अतिक्रमण गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता
बारा । वनदेवी सामुदायिक वनको जग्गा अतिक्रमण गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित ३५ जनाविरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेतको संलग्नतामा वनको २० हेक्टर वनको जग्गा अतिक्रमण भएको आरोपमा २०७३ साल असार २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
आयोगमा उजुरी परेको ४ वर्षपछि २०७७ साल असार ११ गते अख्तियारले र २०७९ साल पुस २१ गते राष्ट्रिय सतर्कता केन्द्रले डिभिजन वन कार्यालय बारालाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।
सोही क्रममा गत पुस २८ गते डिभिजन वन कार्यालयले वनदेवी सामुदायिक वनका बहालवाला अध्यक्ष थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धानका क्रममा अध्यक्ष थापाले झन्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरी गुम्बा, मन्दिर, विद्यालयजस्ता सङ्घ–संस्थालाई वितरण गरेको, एक बिगाहा एक कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बेचबिखन समेत गरेको खुलेको हो ।
आज बारा जिल्ला अदालतले अध्यक्ष थापासहित निवर्तमान वडाध्यक्ष तथा लोकप्रिय प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव ढोडारी, निजगढ २ बस्ने झलकबहादुर राई, मन्दिर निर्माण समितिका अध्यक्ष राधाकृष्ण पुडासैनी, नेत्रबहादुर पाख्रिन, टासी छोइलिङ्ग गुम्बाका अध्यक्ष गणेशबहादुर लोप्चन, नोभान भोलान, ओमसाङ्ग लामा, कृष्ण प्रणामी मन्दिर निजगढ ३ का अध्यक्ष रघुनाथ बझगाई लगायत ३५ जना रहेका छन् ।
अतिक्रमण भएको वनको जग्गा भागबन्डा लगाएर ९ वटा सङ्घ–संस्थाले ठेक्कामा केराखेती गरेर सो बापत भएको लाखौँको आम्दानी समेत हिनामिना गरेको आरोप छ ।
सामुदायिक र राष्ट्रिय वनको जग्गामा टासी छ्योलिङ्ग गुम्बाले २ बिगाहा, शिव मन्दिरले १४ कट्ठा, नेपाल राष्ट्रिय उमाविले ७ बिगाहा, कृष्ण प्रणामी मन्दिरले २४ कट्टा, सरस्वती निमावि ले ३ बिगाहा, नेपाल राष्ट्रिय प्राविले साढे २ बिगाहा, लोकप्रिय प्रावि ले ५ बिगाहा, बौद्ध गुम्बाले ३ बिगाहामा केरा खेती गर्न ठेक्का दिएका छन् भने डेढ बिगाहामा सार्वजनिक पोखरी समेत रहेको छ ।
सो वनको जग्गामा हाल ११ घरधुरीले करिब १२ कट्ठा जग्गा भोग चलन गर्दै आएका छन् । साथै लोकप्रिय आधारभूत विद्यालयको नाममा राखेर अध्यक्ष सिद्धबहादुर थापाले विभिन्न व्यक्तिहरूलाई किनबेच समेत गरेको भेटिएको वन कार्यालयले जनाएको छ ।
जग्गा अतिक्रमणमा संलग्न ५२ जनाविरुद्ध आज डिभिजन वन कार्यालयले जिल्ला अदालत बारामा मुद्दा पेश गरेकोमा २ जनाको मृत्यु भइसकेको र केहीको हकमा अभियोग पुष्टि हुने प्रमाण नदेखिएपछि अध्यक्ष थापा समेत ३५ जनाविरुद्ध अदालतले मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन कार्यालयको इतिहासमा एकैपटक ३५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको यो पहिलो घटना भएको बताएका छन् । ‘वन कार्यालयका लागि यो ऐतिहासिक सफलता हो’ डिभिजन वन अधिकृत सिंहले भने । सो मुद्दामा जिल्ला अदालत बारामा भोलिदेखि थुनछेक बहस हुने वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट