बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पहिलो टेस्ट क्रिकेट : न्युजिल्यान्डले २८१ रनले हरायो दक्षिण अफ्रिकालाई

बुधबार, २४ माघ २०८०, १३ : ३०
बुधबार, २४ माघ २०८०

काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकालाई दुई सय ८१ रनको विशाल अन्तरले हराएको छ । न्युजिल्यान्डले भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई चौथो दिन बुधबार नै पराजयको नमिठो स्वाद चखाएको हो । जितसँगै न्युजिल्यान्डले दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।

न्युजिल्यान्डले दिएको दिएको पाँच सय २९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिका आफ्नो दोस्रो पालीमा केवल दुई सय ४७ रन बनाउँदै अलआउट भयो । दोस्रो पालीमा दक्षिण अफ्रिकाका लागि डेभिड बेडिङ्घमले सर्वाधिक ८७ रन बनाए । उनले ९६ बलको सामना गरी तीन छक्का र १३ चौका पनि हिर्काए ।

दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् । दोस्रो पालीमा न्युजिल्यान्डका बलर केइले जामिसनले चार विकेट लिए । मिचेल सान्टनरले पनि तीन विकेट हात पारे । टिम साउथी, म्याट हेनरी र ग्लेन फिलिप्सले एक–एक विकेट लिए ।

त्यसअघि न्युजिल्यान्डले चार विकेटको नोक्सानीमा एक सय ७९ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । तेस्रो दिनको खेल सकिँदा नै किविज टोलीले त्यो रन बनाएको थियो । तेस्रो दिनको खेल सकिँदा घरेलु टोली न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग पाँच सय २८ रनको अग्रता हासिल गरिसकेको थियो ।

न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान केन विलियम्सनले दोस्रो पालीमा पनि शतक प्रहार गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले एक सय नौ रन बनाए । उनले एक सय ३२ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३१ औँ शतक हो । विलियम्सनले यसअघि पहिलो पालीमा पनि एक सय १८ रन बनाएका थिए ।

दोस्रो पालीमा ओपनर डेभोन कनवे २९ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर टम लाथम भने तीन रनमै पेभेलियन फर्किएका थिए । पहिलो पालीमा दोहोरो शतक बनाएका युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

रचिनले पहिलो पालीमा दुई सय ४० रन बनाएका थिए । तेस्रो दिनको खेल सकिँदा ड्यारल मिचेल अविजित ११ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल अविजित पाँच रन बनाउँदै क्रिजमा थिए । दोस्रो पालीमा दक्षिण अफ्रिकी बलर निल ब्रान्डले दुई तथा डेन प्याटर्सन र रुन डे स्वार्टले एक–एक विकेट लिएका थिए ।

त्यसअघि भ्रमणकारी टोली दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल एक सय ६२ रन बनाउँदै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । किगन पिटर्सनले सर्वाधिक ४५ रन बनाए ।

डेभिड बेडिङ्घम ३२ र ओपनर एडवार्ड मुरे २३ रन बनाउँदै पेभेलियन फर्किए । जुबेर हमजाले २२ रन बटुले । दोस्रो पालीमा किविज टोलीका बलर मिचेल सान्टनर र म्याट हेनरीले तीन–तीन विकेट लिए । कायले जामिसन र रचिन रविन्द्रले पनि दुई–दुई विकेट हात पारे ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा पाँच सय ११ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डले पहिलो पालीमा एक सय ४४ ओभर ब्याटिङ गरेको थियो ।

न्युजिल्यान्डका लागि युवा ब्याट्सम्यान रचिन रविन्द्रले दोहोरो अर्धशतक प्रहार गरेका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रनमात्र थियो ।

न्युजिल्यान्डका लागि अर्का ओपनर केन विलियम्सनले पनि शतकीय पाली खेलेका थिए । केवल ३९ रनमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले दुई सय ७१ रनको बलियो स्थितिसम्म पु¥याएका थिए ।

पहिलो पालीमा दक्षिण अफ्रिकाका बलर निल ब्रान्ड एक्लैले ६ विकेट लिएका थिए । उनले २६ ओभरमा एक मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । पहिलो टेस्टमा न्युजिल्यान्डका रचिन रविन्द्र प्लेयर अफ दी म्याच घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप