आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

कसको स्वार्थका लागि सरकारले स्वदेशमा स्वास्थ्य शिक्षा रोक्न खोज्दै छ :  एमाले प्रमुख सचेतक गिरी

बुधबार, २४ माघ २०८०, १२ : ४३
बुधबार, २४ माघ २०८०

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले नेपालका शैक्षिक संस्था कसको स्वार्थ पूरा गर्न बन्द गराउन खोजेको भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले देशभित्रका शैक्षिक संस्था बन्द गराइएका कारण युवा विद्यार्थीहरू बाध्य भएर विदेशमा पढ्न जानुपर्ने अवस्था रहेको बताए । 

उनले भने–‘देशका सारा नर्सिङ कलेजहरू, मेडिकल कलेजहरू बन्द गर्ने, राज्यले अरबौँ लगानी गरेका गेटा मेडिकल कलेज जस्ता कलेजलाई सञ्चालन गर्न नदिने, त्यसपछि नेपाली विद्यार्थी पढ्नका लागि बाहिर जानुपर्ने ? यो भन्दा दुर्भाग्य अरू के हुन्छ ? कसको स्वार्थ पूरा गर्नका लागि सरकार यो काममा लागिरहेको छ । सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?’

व्यापारहरू बन्द भएर, बैंकको ऋण तिर्न नसकेर, बाध्य भएर विमानस्थलबाट रुँदै रुँदै नेपालीहरू विदेश गइरहेको अवस्था रहेको बताउँदै पाउनुपर्ने पारिश्रमिक नपाई अत्यन्तै सस्तो मूल्यमा श्रम बेच्न बाध्य भइरहेको उल्लेख गरे । सत्तापक्ष देशमा युवाहरू थिए र न विदेश जान पाए भन्ने ढङ्गले प्रस्तुत हुन नहुनेमा गिरीले जोड दिए । परिवार पाल्न नसकेर, पेट पाल्नका लागि विदेश पुगेका नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गरेर स्वदेशमा फर्काउने सङ्कल्प गर्न आवश्यक रहेको बताए । अहिलेको सरकारले यस्ता कुराहरू, जनताका पीडाहरुमा सरकारले ध्यान दिन नसकेको र सिङ्गो व्यवस्था नै असफलतातिर गइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप