निजगढमा खोलाको ठेक्का लाग्नु अगावै भयावह चोरी तस्करी, १० देखि १५ फिटसम्म गहिरो खाडल
बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाहरूको कानुन सम्बद्ध ढङ्गले ठेक्का लगाउनु अगावै अवैध ढङ्गले चोरी तस्करी भएको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति, स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले निजगढको लाल बकैया र बकैया खोला खोलाको मङ्गलवार साँझ अनुगमन गरेका हुन् ।
टोली अनुगमनमा जाने पूर्व सूचना चुहाएपछि खोलामा ठुला ठुला खाल्टा खुल्टी भए पनि ट्याक्टर, टिपर र एक्स्काभेटर भने नभेटिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन् ।
‘सायद हामी खोला अनुगमनमा जाँदै छौ भन्ने सूचना पहिल्यै पुगेछ खोलामा चरामुसा केही थिएन तर खोलाको अवस्था हेर्दा डरलाग्दो थियो, एक्साभेटरले खनेजस्तै ठुला खुला खाल्टाहरू छन्’ प्रजिअ घिमिरेले भने ‘नगरपालिकाले हामी ठेक्काको प्रक्रियामा छौ भने पनि खोलामा हेर्दा सबै माल अवैध ढङ्गले चोरी तस्करी भईसके जस्तो देखिन्छ, अव हामी सबै सरोकारवाला निकायले दोहन कडाइका साथ नियन्त्रण गर्छौ ।’
प्रजिअ घिमिरेले अबैधरुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरीलाई आग्रह गरेका छन् ।
उनले ठेक्का नलागेको खोलामा अनुगमनको क्रममा १० देखि १५ फिटसम्म गहिरो खाडल भेटिएको बताएका छन् ।
जिल्ला अनुगमन समितिले लाल बकैया र बकैया खोलाको अनुगमन गरेको थियो । निजगढ नगरपालिकाले खोला ठेक्का लगाउनु अगावै क्रसरहरूले अवैध ढङ्गले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई घाट गद्दी प्रमाणित गरेर वैद्य बनाउँदै आएको छ ।
जसका कारण सङ्घीय र प्रदेश सरकारको राजस्व मरेको छ भने पालिकाले प्रतिघनफिट ९ रुपैयाँ ४० पैसाको दरले अवैध ढङ्गले राजस्व उठाएको छ ।
टोलीले अनुगमनको क्रममा नेपाल क्रसरले खोला र वस्तिबिच लगाइएको ड्याम अवैध ढङ्गले खनेको भेटिएपछि तत्काल कारबाही गर्न नगरपालिकालाई दबाब दिएको छ । खोलाको अनुगमन गरेको टोलीले भने खोला छेउमा अवैध ढङ्गले सञ्चालन भएका क्रसरहरूलाई भने बेवास्ता गरेको छ । डिभिजन वन कार्यालय बाराका अधिकृत जहवरलाल कुर्मीले अनुगमन टोलीले सरसरर्ती खोला मात्रै हेरेको तर क्रसर अनुगमन नगरेको बताएका छन् ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपसभापति, निजगढ नगरपालिकाका नगरप्रमुख, सुरक्षा निकायका प्रमुखहरू, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालय बाराका अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
अनुगमनको क्रममा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने खोलामा स्थानीयहरूको रोजीरोटी गाँसिएकोले उत्खनन गर्न दिनुपर्ने भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
-
यी हुन् प्रधानमन्त्रीको नेतृत्वमा चीन जाने सरकारी टोलीका सदस्य (सूचीसहित)
-
भैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन