शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

मङ्गलबार, २३ माघ २०८०, २१ : ५७
मङ्गलबार, २३ माघ २०८०

झापा ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए । 

“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उनले भने । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे। 

अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताए । 

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए । 

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप