ट्याङ्कर पार्किङ्गमा समस्या, जग्गा खोज्न उपमहानगरलाई आयल निगमको आग्रह
बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार्किङ्गमा समस्या देखिएको छ । इन्धन लिन देशभरबाट दैनिक सयौँको संख्यामा आउने ट्याङ्करहरुको पार्किङ्गमा समस्या भएको हो ।
२०७६ भदौ २४ गतेदेखि पाइपलाइनबाट डिजल आयात हुन थालेपछि निगमको अम्लेखगञ्ज डिपोबाट हुने बिक्री बाहेक पनि विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौँसम्मका कार्यालयहरुका लागि आवश्यक डिजल अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । हाल डिजल बोकेका ३ सय ट्याङ्कर दैनिक निगमको अम्लेखगञ्ज डिपोबाट छुट्ने गर्दछन् ।
पछिल्लो समय मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम धमाधम भइरहेकाले केही महिनाभित्र पाइपलाईनबाट पेट्रोल र मट्टीतेलसमेत आउँछ । जसका कारण ट्याङ्कर पार्किङ्गमा झनै ठुलो समस्या हुने देखिन्छ ।
आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख इन्जिनियर विनितमणी उपाध्यायले निकट भविष्यमै डिजल र पेट्रोल लिन दैनिक ठुलो संख्यामा ट्याङ्करहरु अम्लेखगञ्ज आउने भएकाले अहिलेकै ठाउँमा पार्किङ्ग सम्भव नहुने बताए । ‘हामीलाई पेट्रोलियम ट्याङ्कर पार्किङ्गमा अहिले नै धेरै समस्या भएको छ, अब केही महिनापछि पाइपलाइनबाट पेट्रोल आउन थालेपछि झनै गाह्रो हुन्छ,’ उपाध्यायले भने, ‘जग्गाको व्यवस्थापन गरिदिन हामीले जीतपुरसिमरा महानगरसँग लिखित र मौखिक रुपमा पटक पटक अनुरोध पनि गरेका छौँ, यो विषयमा एक पटक छलफल पनि भएको हो तर केही टुङ्गो लाग्न सकेन ।’
निगमले गत साता उपमहानगरलाई पत्र पठाएर अम्लेखगञ्जमा ३ देखि ४ बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । ‘हाल आयल निगम अम्लेखगञ्ज डिपोको दक्षिणपट्टी रहेको करिडोरमा पार्किङ्ग गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्याङ्कर पार्किङ्गका लागि समस्या हुनसक्ने निगमको जिकिर छ ।
निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौँ, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जीतपुरसिमरा वडा नं २१ र २२ मा पनि पठाएको छ ।
हाल पेट्रोलियम पदार्थ लोड भएका वा खाली ट्याङ्करहरु अम्लेखगञ्ज आसपासका स्थानीयहरुको घरआँगन, सडक, पेटीमा पार्किङ्ग हुँदै आएको छ । अति प्रज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरु यसरी जथाभावी पार्किङ्ग गर्दा जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने स्थानीयको गुनासो छ ।
हाल दैनिक २५० देखि ३ सय वटा ट्याङ्कर अम्लेखगञ्जमा आवतजावत गर्दछन् । जीतपुर सिमरा उपमहानगर वडा नं २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको ट्याङ्कर पार्किङ्गका लागि जग्गा खोजी भइरहे पनि खाली सरकारी जग्गा कतै नभेटिएको बताए ।
‘पर्सा राष्ट्रिय निकुञ्जको दुधौरा खोला छेउको केही जग्गा खाली छ तर त्यसमा ट्याङ्कर पार्किङ्ग गर्न मिल्ने÷नमिल्ने विषयमा छलफल भएको छैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो