दोस्रो पालीमा पनि विलियम्सनको शतक, दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको विशाल अग्रता
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिन मंगलबार न्युजिल्यान्डले विशाल अग्रता हासिल गरेको छ । तेस्रो दिनको खेल सकिँदासम्म किविज टोलीले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर एक सय ७९ रन बनाएको छ ।
तेस्रो दिनको खेल सकिँदा घरेलु टोली न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग पाँच सय २८ रनको अग्रता हासिल गरिसकेको छ । न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान केन विलियम्सनले दोस्रो पालीमा पनि शतक प्रहार गरे ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले एक सय नौ रन बनाए । उनले एक सय ३२ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३१औँ शतक हो । विलियम्सनले यसअघि पहिलो पालीमा पनि एक सय १८ रन बनाएका थिए ।
दोस्रो पालीमा ओपनर डेभोन कनवे २९ रन बनाउँदै आउट भए । अर्का ओपनर टम लाथम भने तीन रनमै पेभेलियन फर्किएका थिए । पहिलो पालीमा दोहोरो शतक बनाएका युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
रचिनले पहिलो पालीमा दुई सय ४० रन बनाएका थिए । तेस्रो दिनको खेल सकिँदा ड्यारल मिचेल अविजित ११ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । दोस्रो पालीमा दक्षिण अफ्रिकी बलर निल ब्रान्डले दुई तथा डेन प्याटर्सन र रुन डे स्वार्टले एक–एक विकेट लिएका छन् ।
त्यसअघि भ्रमणकारी टोली दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल एक सय ६२ रन बनाउँदै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । किगन पिटर्सनले सर्वाधिक ४५ रन बनाए ।
डेभिड बेडिङ्घम ३२ र ओपनर एडवार्ड मुरे २३ रन बनाउँदै पेभेलियन फर्किए । जुबेर हमजाले २२ रन बटुले । दोस्रो पालीमा किविज टोलीका बलर मिचेल सान्टनर र म्याट हेनरीले तीन–तीन विकेट लिए । कायले जामिसन र रचिन रवीन्द्रले पनि दुई–दुई विकेट हात पारे ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा पाँच सय ११ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डले पहिलो पालीमा एक सय ४४ ओभर ब्याटिङ गरेको थियो । न्युजिल्यान्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्रले दोहोरो अर्धशतक प्रहार गरेका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रनमात्र थियो ।
न्युजिल्यान्डका लागि अर्का ओपनर केन विलियम्सनले पनि शतकीय पाली खेलेका थिए । केवल ३९ रनमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले दुई सय ७१ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।
पहिलो पालीमा दक्षिण अफ्रिकाका बलर निल ब्रान्ड एक्लैले ६ विकेट लिएका थिए । उनले २६ ओभरमा एक मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास