चैतेधानको खेती कसरी गर्ने ?
हामीकहाँ धानलाई मुख्य अन्न बालीका रूपमा लिइन्छ । नेपालको कुल खेतीयोग्य जग्गाको १५.६ लाख हेक्टरमा धानखेती गरिन्छ । हामीकहाँ धानको राष्ट्रिय औसत उत्पादन ३.८ टन प्रतिहेक्टर रहेको छ ।
नेपालमा लगभग ५० अर्ब रुपैयाँ जतिको चामल भारतबाट बर्सेनि आयात गरिन्छ । साना तथा सीमान्त कृषकहरू खेतीलाई परापूर्वकाल आफ्नो मुख्य पेसाको गर्दै आइरहेका छन् । आफ्नो ज्ञान र सीपका आधारमा हावापानी तथा माटो सुहाउँदो धानका जातहरूलाई खेती गर्दै आएका छन् ।
- माटोको किसिम
धानखेतीका लागि खासगरी चिम्टाइलो र दोमट माटो उत्तम मानिन्छ । धान बालीलाई चारदेखि ७.५ पीएचसम्म भएको माटोमा लगाउन सकिन्छ ।
- जग्गाको तयारी
साधारणतया एकपटक माटो पल्टाउने हलोले र दुई–तीनपटक देशी हलोले वा ट्र्याक्टरको सहायताबाट खेत जोती जग्गा तयार गर्न सकिन्छ ।
- बिउको मात्रा
४५ केजी प्रतिहेक्टर ।
- ब्याड व्यवस्थापन
चैतेधानको ब्याड धुले वा हिले दुवै किसिमले राख्न सकिन्छ । ब्याडलाई रोगकिरा र झारपातरहित गर्न ३०० गेजको प्लास्टिकले एक हप्तासम्म बिउ राख्नुभन्दा अगाडि छोप्दा रोगकिरा र झारपातहरूलाई नियन्त्रण गर्न सकिन्छ । ब्याड माघको अन्तिम वा फाल्गुनको दोस्रो हप्तासम्म राख्दा उपयुक्त हुन्छ ।
- चैते धानका प्रमुख जातहरू
चैत–२, चैते–६, चैते–४, चैते–५, घैया–१, हर्दिनाथ–१, हर्दिनाथ–५, सिएच–४५ ।
- बेर्नाको उमेर र दूरी
यसलाई २० दिनको बेर्ना रोप्दा उपयुक्त हुन्छ तर केही कारणवश रोप्न सकिएन भने २५ दिनसम्मको बेर्ना रोप्दा पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ । बोटदेखि बोटको दूरी १५ सेन्टिमिटर र हारदेखि हारको दूरी २० सेन्टिमिटरमा रोप्दा उपयुक्त हुन्छ ।
मलखादको मात्रा : माटोको उर्वरा शक्तिलाई ध्यानमा राखी कम्तीमा १० टन प्रतिहेक्टर कम्पोस्ट मल र ८० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र ३० केजी पोटासप्रतिहेक्टरको दरले प्रयोग गर्नुपर्दछ ।
सिँचाइ : सिँचाइ गर्दा अन्तरालमा दिने र सकाउने गर्नु उपयुक्त हुन्छ । यसरी ४० प्रतिशत सिँचाइमा बचत गर्न सकिन्छ ।
झारपात नियन्त्रण : धान रोपेको २–३ दिनभित्र दुई मिलि बुटाक्लोर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्ने र रोपेको ३० दिनपछि एकपटक हातले गोडमेल गर्दा झारपात नियन्त्रण राम्रो हुन्छ ।
यदि रोपेको २–३ दिनभित्र बुटाक्लोर छर्न सकिएन भने नुमनिगोल्ड १–२ लिटर प्रतिहेक्टरका दरले रोपेको २५ दिनपछि छर्दा पनि झारपात नियन्त्रण गर्न सकिन्छ ।
- रोगकिरा नियन्त्रण कसरी गर्ने ?
रोगकिरा अवरोधक जातहरू लगाउने । रोगकिरा लागेमा एकीकृत रोगकिरा व्यवस्थापन गर्नुपर्दछ ।
फट्याङ्गाका लागि मालाथियान धुलो २० किलोग्रामका दरले धानको पातमा एकनाशले पर्नेगरी छर्ने ।
पतेरोका लागि बिहान मालाथियान धुलो २० केजीका दरले धानको पातमा एकनाशले पर्ने गरी छर्ने । मेटासिस्टाक्स १.५ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
खैरो फड्केका लागि बिपभिन बिसादी १.५–२ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
पात बेरुवाका लागि मेटासिस्टाक्स १.५ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने वा अरु कुनै सिस्टेमिक विषादीको प्रयोग गर्ने ।
- डढुवा रोगमा के गर्ने ?
नाइट्रोजनयुक्त मलखादको कम प्रयोग गर्ने ।
रोग लागेको खेतबाट सिँचाइ नगर्ने ।
२० ग्राम गोबबर मल प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
एग्रिमाइसिन विषादी एकदेखि दुई ग्रामप्रति लिटर पानीमा मिसाएर छर्ने ।
- मरुवारोगमा के गर्ने ?
हिले ब्याड राख्न लगाउने ।
बिउ बेभिस्टिन नामक विषादीले उपचार गर्ने ।
रोग देखापरेमा हिनोसान १ मिलि प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
- बाली काट्ने
धानको दानाको चिस्यान १८–२० प्रतिशत भएपछि बाली काट्नुपर्छ ।
- भण्डारण
तीन–चार दिन घाममा सुकाएर दानाको चिस्यान १३ प्रतिशतमा भण्डारण गर्दा चामल राम्रो पर्नुको साथै रोगकिराबाट पनि बचाउन सकिन्छ ।
(लेखक वरिष्ठ वैज्ञानिक, जो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथमा कार्यरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत