आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

चैते धानखेती गर्ने किसानलाई अनुदान

सोमबार, २२ माघ २०८०, १५ : ४७
सोमबार, २२ माघ २०८०

कञ्चनपुर । चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । 

किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए । “धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उनले भने, “चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।” 

किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ । पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताए । 

उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए । 

गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए । बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए ।

“चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन”, धामीले भने । फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् । रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले बर्खे धानखेती गर्दै आएका छन् । 

चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप