बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दोस्रो टेस्ट : इङ्ल्यान्डलाई १०६ रनले हराउँदै भारतले शृङ्खला बराबरीमा ल्यायो

सोमबार, २२ माघ २०८०, १४ : ३९
सोमबार, २२ माघ २०८०

काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली भारतले इङ्ल्यान्डलाई एक सय ६ रनले पराजित गरेको छ । भारतको जितसँगै पाँच टेस्टको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । यसअघि खेलिएको पहिलो टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई २८ रनले हराएको थियो ।

दोस्रो टेस्टमा घरेलु टोली भारतले दिएको तीन सय ९९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्ड चौथो दिन सोमबार आफ्नो दोस्रो पालीमा केवल दुई सय ९२ रन बनाउँदै अलआउट भएको हो ।

दोस्रो पालीमा इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान ज्याक क्रावलीले मात्र अर्धशतक बनाउन सके । अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । क्रावलीले ७३ रन बनाए । उनले एक सय ३२ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।

अर्का ओपनर बेन डुकेट २८ रन बनाउँदै आउट भएका थिए । रेहन अहमद पनि २३ रनभन्दा अगाडि बढ्न सकेनन् । ओली पपले पनि २३ रनमात्र बनाउन सके । जो रुट पनि १६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनको औंलामा चोट लागेकाले पनि उनले स्वाभाविक प्रदर्शन गर्न सकेनन् ।

जोनी बेयरस्टले टोलीको खातामा २६ रन थपे । कप्तान बेन स्टोक्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । तल्लो क्रमका ब्याट्सम्यान बेन फोक्सले ३६ र टम हर्टलीले पनि ३६ रन बनाए । इङ्ल्यान्डले दोस्रो पालीमा अतिरिक्त रूपमा १५ रन पायो ।

दोस्रो पालीमा भारतीय टोलीका बलर जसप्रित बुमराह र रविचन्द्रन आश्विनले तीन–तीन विकेट लिए । कुलदिप यादब, अक्सर पटेल र मुकेश कुमारले पनि एक–एक विकेट हात पारे । इङ्ल्यान्डले एक विकेटको नोक्सानीमा ६७ रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएको थियो ।

त्यसअघि घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा भारतका लागि युवा ब्याट्सम्यान शुभमन गिलले शतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका गिलले एक सय चार रन बनाएका थिए । उनले एक सय ४७ बलको सामना गरी दुई छक्का र ११ वटा चौका पनि हिर्काएका थिए ।

अक्सर पटेलले पनि टोलीको खातामा ४५ रन थपेका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान पटेलले ८४ बलमा ६ चौका पनि प्रहार गरेका थिए । रविचन्द्रन आश्विनले २९ रन बनाएका थिए । श्रेयस ऐयर पनि २९ रनमै पेभेलियन फर्किएका थिए ।

ओपनर यशस्वी जैसवाल १७ र कप्तान रोहित शर्मा १३ रनमा आउट भएका थिए । दोस्रो पालीमा भारतका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । इङ्ल्यान्डका बलर टम हर्टलीले चार विकेट लिएका थिए । रेहन अहमदले पनि तीन विकेट हात पारेका थिए । जेम्स एन्डर्सनले दुई र सोएब बसिरले एक विकेट लिएका थिए ।

दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा तीन सय ९६ रन बनाएको थियो । पहिलो पालीमा भारतका लागि यशस्वी जैसवालले दुई सय नौ रन बनाएका थिए । पहिलो पालीमा इङ्ल्यान्डका बलर जेम्स एन्डर्सन, सोएब बसिर र रेहन अहमदले तीन–तीन विकेट लिएका थिए ।

इङ्ल्यान्डका सोएब बसिरले यही खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । २० वर्षीय अफ–स्पिनर बसिरले यसअघि कुनै पनि अन्तर्राष्ट्रि प्रतियोगिता खेलेका थिएनन् । उनलाई ज्याक लिचको स्थानमा टोलीमा स्थान दिइएको हो । ज्याक लिच घाइते भएपछि सोएब बसिरले टोलीमा स्थान पाएका हुन् ।

इङ्ल्यान्ड भने आफ्नो पहिलो पालीमा दुई सय ५३ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि ओपनर ज्याक क्रावलीले ७६ रन बनाएका थिए । कप्तान बेन स्टोक्सले पनि ४७ रन जोडेका थिए । जोनी बेयरस्टले २५ रन बटुलेका थिए ।

पहिलो पालीमा भारतीय बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिएका थिए । उनले १५.५ ओभरमा पाँच मेडन राख्दै ४५ रन खर्चिएका थिए । कुलदिप यादबले पनि तीन विकेट हात पारेका थिए । अक्सर पटेलले पनि एक विकेट लिए । भारत र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट विषाखापट्नमा खेलिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप