शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रचिनको दोहोरो शतकपछि दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्ड बलियो स्थितिमा

सोमबार, २२ माघ २०८०, १२ : ५६
सोमबार, २२ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन सोमबार घरेलु टोली न्युजिल्यान्ड बलियो स्थितिमा देखिएको छ । पहिलो पालीमा न्युजिल्यान्डले तयार पारेको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली दक्षिण अफ्रिकाले केवल ८० रनमा चार विकेट गुमाइसकेको छ ।

न्युजिल्यान्डले पहिलो पालीमा बनाएको रनभन्दा दक्षिण अफ्रिका अझै चार सय ३१ रनले पछाडि छ । दोस्रो दिनको खेल समाप्त हुँदासम्म पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि डेविड वेडिङ्घम अविजित २९ र किगन पिटर्सन अविजित दुई रन बनाउँदै क्रिजमा छन् ।

ओपनर एडवार्ड मुरे २३ र जुबेर हमजा २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान निल ब्रान्ड चार र रेनर्ड भान टन्डर शून्य रनमा आउट भएका थिए । न्युजिल्यान्डका बलर काइली जामिसनले दुई तथा म्याट हेनरी र मिचेल सान्टनरले एक–एक विकेट लिएका छन् ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा पाँच सय ११ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डले पहिलो पालीमा एक सय ४४ ओभर ब्याटिङ गरेको थियो । न्युजिल्यान्डका लागि युवा ब्याट्सम्यान रचिन रविन्द्रले दोहोरो अर्धशतक प्रहार गरेका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका रचिनले पेभेलियन फर्किनुअघि दुई सय ४० रन बनाएका थिए । उनले तीन सय ६६ बलको सामना गरी तीन छक्का र २६ चौका पनि हिर्काएका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रन थियो ।

न्युजिल्यान्डका लागि अर्का ओपनर केन विलियम्सनले पनि शतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १८ रन बनाएका थिए । उनले दुई सय ८९ बलको सामना गरी १६ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो ।

केवल ३९ रनमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले दुई सय ७१ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । न्युजिल्यान्डका ओपनर टम लाथम २० र डेभोन कनवे एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

दक्षिण अफ्रिकाका बलर निल ब्रान्ड एक्लैले ६ विकेट लिएका थिए । उनले २६ ओभरमा एक मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्ने कार्यक्रम छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप