फरक समुदायमा विवाह गर्दैमा रोग निर्मूल हुन सक्दैन
काठमाडौँ । पछिल्लो समय थारु समुदायमा ‘सिकलसेल एनिमिया’ रोग पहिचान बढ्दो छ । हालसम्म पाँच हजार जनामा सो रोग पहिचान भइसकेको सरकारी तथ्यांक छ । यो रोग वंशाणुगत भएकाले यसको न्यूनीकरण र निर्मूल पार्न विवाहपूर्वको सावधानी नै उत्तम उपाय भएको चिकित्सकले सुझाएका छन् । तर कतिपयमा ‘थारु समुदायका युवायुवतीले अन्य समुदायमा विवाह गर्नुपर्छ’ भन्ने मानसिकता समेत रहेको पाइन्छ । जसको परिणामस्वरुप कतिपयले फरक समुदायमा विवाह गरेको पनि चर्चा हुने गर्छ ।
तर भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डे थारु समुदायका युवायुवातीले अन्य समुदायका युवायुवातीसँग विवाह गर्दैमा सिकलसेल एनिमिया निर्मूल हुन्छ भन्ने सोच गलत रहेको बताउँछन् । ‘थारु युवती वा युवाले अरू समुदायसँग विवाह गर्दैमा यो रोग निर्मूल हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘शतप्रतिशत थारु समुदायमा यो रोग छैन, रोगको जाँच गराएर सिकलसेल नभएको जुन समुदायको व्यक्तिसँग विवाह गरे पनि सन्तानमा यो रोग सर्दैन ।’
चिकित्सकहरूको अहिलेसम्मको अध्ययनले दम्पती मध्ये कुनै एकको शरीरमा मात्रै सिकलसेलको कीटाणु भए सन्तानमा नसर्ने देखाएको छ । तर, दम्पतीकै शरीरमा सिकलसेलको कीटाणु भए मात्रै सन्तानमा सर्ने चिकित्सकको भनाइ छ ।
पाण्डेका अनुसार सिकलसेल एनिमियाका बिरामी सन् २०११ सालयता देशभर करिब ५ हजार जनाको पहिचान भइसकेको छ । ‘विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायमा यो रोग देखा परेको छ,’ उनले भने, ‘यी बिरामीमध्ये ९९.९९ थारु छन्, यसबाहेक अधिकारी, बुढाथोकी, बिक र रैदाश थरका एकाधमा पनि देखिएको छ ।’
सन् २०१७ मा नेपाल हेल्थ रिसर्च काउन्सिलले समुदायमा आधारित सिकलसेल एनिमिया स्क्रिनिङ गरेको डा. पाण्डेले बताए । बर्दियाको बारबर्दिया नगरपालिकामा १०.८ प्रतिशतमा सिकलसेल बाहक लुकेको पाइएको उनको भनाइ छ । सिकलसेल एनिमिया पहिचान गरिएका मध्ये करिब १ प्रतिशत सङ्ख्यामा देखिएकोलाई आधार मान्दा देशभर राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १८ लाख ७१ हजार २४ थारु समुदायको सङ्ख्या छ । सो अनुसार थारु समुदायका १८ हजार जनामा सिकलसेल एनिमिया रोग हुन सक्ने अनुमान लगाउन सकिने डा. पाण्डेले बताए ।
के हो सिकलसेल एनेमिया ?
मानिसको रगतमा पाइने रातो गोलाकार रक्त कोसीकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा रूपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनेर बुझिन्छ । सिकलसेल रोग वंशाणुगत हो । यो रोग खासगरी थारु समुदायका मानिस देखिएको डा. पाण्डेले बताए । यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग लागेका बिरामीहरूको रक्त कोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ ।
कस्ताले कस्तासँग विवाह गर्ने ?
थारु समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगत जाँच गरेर विवाह कुण्डली मिलाउन उनले सुझाव दिएका छन् । डा पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको छ । उनले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबिच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ ।
पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बिचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बिचमा पनि विवाह गर्न मिल्ने उनको भनाइ छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन र उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।
सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ , तर थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको डा.पाण्डेले बताए । सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगत जाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?