बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पश्चिम एशियामा बदलिँदो शक्ति समीकरणप्रति अध्यक्ष ओलीको चासो

आइतबार, २१ माघ २०८०, १८ : ५५
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एशियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गरेका छन् । आज एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘पश्चिम एशियामा बदलिँदो शक्ति समीकरण र विश्व भूराजनीतिमा त्यसको प्रभाव’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै ओलीले यस्तो चासो व्यक्त गरेका हुन् । 

पछिल्लो समय पश्चिम एशियाको राजनीतिमा विभिन्न खाले उतार–चढाव भइरहेको अवस्थाप्रति संकेत गर्दै ओलीले अरु देशका बारेमा छलफल र विश्लेषण गर्दा नेपालले अपनाउनु पर्ने कूटनीति र रणनीतिका बारेमा पनि सन्तुलित हुनुपर्नेमा जोड दिए । 

‘मुख्य गरेर पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि १२ लाख भन्दा नेपाली पुगेका छन्,’ ओलीले भने, ‘त्यहाँ युद्ध भयो भने उनीहरुको रोजगारी मात्रै खोसिँदैन । उनीहरुको सुरक्षाको कुरा पनि महत्त्वपूर्ण हुन्छ । यी विषयमा नेपाल सबैभन्दा चनाखो रहनुपर्छ र त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ ।’

उनले पश्चिम एशियाली क्षेत्रमा युद्ध सुरु भयो भने भने त्यति धेरै नेपालीलाई तुरुन्त नेपाल फर्काउने स्रोत–साधनको समेत अभाव हुने भन्दै त्यसका लागि पनि सोच्नुपर्ने बताए । उनले त्यसका लागि सरकारले तयारी थाल्नुपर्नेमा जोड दिए ।  

अध्यक्ष ओलीले पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि गएका युवाहरुको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै त्यहाँको पछिल्लो अस्थिर अवस्थाले नकारात्मक प्रभाव पारेको अवस्थामा नेपालको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उल्लेख गरे ।  ‘त्यस्तो चुनौतीपूर्ण अवस्थाको आँकलन गर्दै नेपालले कम्तीमा पनि  आफ्नो देशका जनताका लागि पर्याप्त खाद्यान्न उत्पादन गरी उपयोग गर्ने अवस्था बनाउने गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ । कुनै पनि बेला हाम्रो देशका नागरिकलाई फिर्ता ल्याउनु पर्ने अवस्था आउनसक्छ । त्यसका लागि हामी सबैले कृषि उत्पादनमा जोड दिनुको विकल्प छैन ।’ 

ओलीले गलतलाई गलत र राम्रोलाई राम्रो भन्ने कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा पूर्वराजदूत डाक्टर नारद भारद्वाजले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गर्दै पश्चिम एशियाको पछिल्लो राजनीतिमा विभिन्न खाले उतारचढाव भइरहेको स्मरण गराए । उनले हमासले इजरायलमा आक्रमण गरेयता सुरु भएको युद्धले समग्र मध्यपूर्व क्षेत्रमा एकपछि अर्को गर्दै विभिन्न खालका नयाँनयाँ परिवर्तनहरु देखा पर्न थालेको उल्लेख गरे । 

कार्यक्रममा नेकपा (एमाले) महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, सचिव डाक्टर अञ्जान शाक्यलगायतले पनि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप