शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डः वर्ष पुरुष र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक

आइतबार, २१ माघ २०८०, १७ : ३७
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणका लागि आइतबार पुरुष वर्ष खेलाडी र महिला वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डको २०औँ संस्करण माघ २८ गते काठमाडौँमा हुँदैछ । उक्त स्पोर्टस अवार्डका लागि मञ्चले विगतमा चार विधामा उत्कृष्ट पाँच–पाँचजनाको मनोनयन सार्वजनिक गर्दै आएको थियो ।

यसपटक भने मञ्चले चारै विधामा पहिलो चरणमा आठ–आठजनाको मनोनयन सार्वजनिक गरेको छ । यसपटकदेखि नयाँ प्रयोग थालिएको मञ्चले जनाएको छ । वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीलाई स्पोर्टस अवार्डमा समेट्ने उद्देश्यले यस्तो प्रयोग गरिएको मञ्चको दाबी छ ।

उत्कृष्ट आठको मनोनयन गरिने चार विधामा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक रहेका छन् । मनोनयनमा परेका आठजनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा पत्रकार सम्मेलनमार्फत गरिने जानकारी पनि मञ्चले दिएको छ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिने छ ।

मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको उत्कृष्ट आठको मनोनयन आइतबार सार्वजनिक गरेको हो । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई मनोनयनमा पारिएको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका खेलाडीमा क्रिकेटका आसिफ शेख, एथलेटिक्सका दीपक अधिकारी, एथलेटिक्सका मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, क्रिकेटका रोहित पौडेल, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ रहेका छन् ।

यसैगरी महिला वर्ष खेलाडीतर्फ फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथलेटिक्सकी जयरानी थारु, जुडोकी पुनम श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी, एथलेटिक्सकै राजपुरा पछाई र ट्रायथलनकी श्रेवी महर्जन मनोनयनमा परेका छन् ।

क्रिकेटका आसिफ शेख २०७९ सालमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल एक हजार ९३ रन बनाउन सफल खेलाडी हुन् । उनले विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सातवटा अर्धशतक बनाउन सफल खेलाडी पनि हुन् ।

एथलेटिक्सका दीपक अधिकारी एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । उनले १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमीमा स्वर्ण र सोही प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमीमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । उनले दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण पदक जितेका थिए । उनले कान्तिपुर हाफ म्याराथनमा रजत पदक पनि हात पारेका थिए ।

यसैगरी एथलेटिक्सका मुकेश पालले १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण र सोही प्रतियोगिताको पुरुष १० किमी दौडमा कांस्य पदक जितेका थिए । उनले राष्ट्रिय एथलेटिक्समा पुरुष १५ सय मिटरमा स्वर्ण र तीन हजार मिटरमा रजत पदक हात पारेका थिए । उनले नवौं राष्ट्रिय खेलकुदमा पुरुष १५०० मिटर दौडमा स्वर्ण पनि चुमेका थिए । उनले कान्तिपुर हाफ म्याराथनमा कांस्य र जेसिज हाफ म्याराथनमा स्वर्ण हात पारेका थिए ।

यसैगरी भलिबलका मानबहादुरले बंगलादेशको ढाकामा सम्पन्न काभा मेन्स बिच भलिबलमा दिल सुनारसँग मिलेर रजत पदक चुमेका थिए । उनी टोलीका कप्तान पनि थिए । उनी राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान पनि हुन् ।

यसैगरी पौडीका नासिर याहा हुसेनले नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक सात स्वर्ण दुई रजत र एक कांस्य पदक जित्न सफल भएका थिए । उनले पुरुष एक सय मिटर बटरफ्लाई, १५ सय मिटर फ्रिस्टायल, दुई सय मिटर फ्रिस्टायल, चार सय मिटर फ्रिस्टायल, दुई सय मिटर मिड्ले, चार गुणा एक मिटर मिक्स रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेका थिए । उनले एक सय मिटर ब्रेस्ट स्ट्रोक र एक सय मिटर फ्रिस्टायलमा रजत तथा चार गुणा दुई सय मिटर फ्रिस्टायल रिलेमा कांस्य हात पारेका थिए ।

क्रिकेटका रोहित पौडेल नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने टोलीका कप्तान हुन् । उनले २०७९ सालमा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै चार अर्धशतकसहित ६ सय ७९ रन बनाएका थिए । उनले आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान गरेका थिए ।

यसैगरी बुद्धिचालका रुपेश जैसवाल छत्तीसगढ चिफ मिनिस्टर ट्रफी अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेसमा विदेशी इभेन्टमा रजत पदक जित्ने खेलाडी हुन् । उनले भारतको चेन्नईमा भएको ४४औँ फिडे चेस ओलम्पियाडमा नेपालको तर्फबाट उच्चतम अंक हासिल गरेका थिए । उनी भारतको नयाँ दिल्लीमा भएको एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको ब्लिट्जमा ९३ खेलाडीमध्ये ११ औँ स्थानमा रहन सफल भएका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा ¥यापिड र ब्लिट्जतर्फ दोहोरो स्वर्ण र क्लासिकलमा रजत पदक हात पारेका थिए । यस अवधिमा उनले आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल भए ।

यसैगरी गल्फका सुवास तामाङ नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम च्याम्पियन बनाउन सफल खेलाडी हुन् । उनले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगततर्फ रजत पनि जितेका थिए । उनी नवौँ राष्ट्रिय खेलकुदको व्यक्तिगत स्पर्धामा स्वर्ण पनि जित्न सफल भएका थिए । टिम स्पर्धामा भने उनले आर्मी क्लबको तर्फबाट कांस्य पदक जितेका थिए ।

महिलातर्फ फुटबलकी अमिशा साफ महिला च्याम्पियनसिपमा रजत पदक जित्ने टोलीकी सदस्य हुन् । उनले प्रतियोगितामा दुई गोल पनि गरेकी थिइन् । उनी साफ यू–२० महिला फुटबलको उपविजेता टोलीको सदस्य पनि हुन् । उक्त प्रतियोगितामा उनी चार गोल गर्दै संयुक्त रूपमा सर्वाधिक गोलकर्ता ट्रफी जित्न सफल भएकी थिइन् । उनी नवौँ राष्ट्रिय खेलकुदमा आर्मी क्लबबाट कांस्य पदक जित्ने टोलीकी प्रभावशाली खेलाडी पनि हुन् ।

यसैगरी बास्केटबलकी अनुशा माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत पदक जित्ने टोलीकी सदस्य हुन् । त्यो प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट रजत पदक जित्ने टोलीकी प्रभावशाली खेलाडी पनि हुन् ।

यसैगरी पौडीकी डुवानाले नवौँ राष्ट्रिय खेलकुदमा नौ स्वर्ण र एक रजत जित्न सफल भएकी थिइन् । उनले त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा पाँचवटा राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । उनले दुई सय मिटर इन्डिभिजुअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल, चार सय मिटर फ्रिस्टाइल रिले, दुई सय मिटर ब्रेस्टस्ट्रोक, आठ सय मिटर फ्रिस्टाइल रिले, चार सय मिटर फ्रिस्टाइल, एक सय मिटर ब्रेस्टस्ट्रोक र मिक्स चार सय मिटर रिलेमा स्वर्ण तथा ५० मिटर बटरफ्लाइमा रजत जितेकी थिइन् ।

यसैगरी एथलेटिक्सकी जयरानीले नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पाँच स्वर्ण जितेकी थिइन् । उनले आफू सहभागी भएको सबै स्पर्धामा स्वर्ण चुमेकी थिइन् । उनले एक सय मिटर हर्डल्स, चार सय मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले ४४औँ राष्ट्रिय एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत जितेकी थिइन् । उनी त्यो प्रतियोगितामा उत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् ।

यसैगरी जुडोकी पुनम बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य विजेता खेलाडी हुन् । उनले महिला ७० केजीमुनि तौल समूहमा किर्गिस्तानकी गुल्नुरलाई रिपिचेजमा हराएर कांस्य जितेकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा पनि महिला ७० केजी तौल समूहमा स्वर्ण पदक चुमेकी थिइन् ।

यसैगरी एथलेटिक्सकी पुष्पा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण पदक जित्ने खेलाडी हुन् । उनले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ), नवौँ राष्ट्रिय खेलकुदको महिला १० हजार मिटरमा कांस्य, सहारा हाफ म्याराथनमा स्वर्ण, कान्तिपुर हाफ म्याराथनमा रजत, वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत तथा मदन भण्डारी स्मृति पाँच किमि रोड रेसमा रजत हात पारेकी थिइन् ।

यसैगरी एथलेटिक्सकी राजपुराले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमीमा रजत पदक जितेकी थिइन् । उनले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) पनि हात पारेकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुदको महिला पाँच हजार मिटरमा रजत, वीर गणेशमान सिंहमा स्वर्ण र धरान १० किमी रोड रेसमा स्वर्ण हात पारेकी थिइन् । उनले कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माइपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा पनि स्वर्ण चुमेकी थिइन् । उनले नेपालगन्ज म्याराथनको पाँच किमी दौडमा स्वर्ण र राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा रजत जितेकी थिइन् ।

यसैगरी ट्रायथलकी श्रेवीले एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलनमा दक्षिण एसियालीतर्फ रजत पदक हात पारेकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला स्प्रिन्टतर्फ पनि रजत पदक जितेकी थिइन् ।

यसअघि मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चले जनाएको छ । पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप