शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व क्यान्सरविरुद्धको दिवस

क्यान्सरका कारण बुबाको मृत्यु, छोरालाई पनि क्यान्सर

आइतबार, २१ माघ २०८०, १० : ३३
आइतबार, २१ माघ २०८०

विराटनगर । विराटनगर–५ निवासी ६१ वर्षीय उद्धवबहादुर केसी क्यान्सरविरुद्ध सचेतना अभियान लिएर दौडिरहेका भेटिन्छन् । उनी सर्वसाधारणलाई चुरोट, खैनी र गुट्खा नखान सुझाउँछन् भने यस्ता वस्तुको बिक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउनु पर्ने तर्क गर्दछन् ।

२०७६ साल फागुन, जतिबेला कोरोना महामारीको पहिलो लकडाउनभित्र समाज सीमित भएको थियो । घरबाहिर कोही पनि निस्कन सक्दैन थिए । सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । अस्पतालमा अक्सिजन, डाक्टरको अभाव उत्तिकै थियो भने कतिपयले उपचार नपाइ मृत्युवरण गर्नुपरेको थियो ।

त्यस्तै कष्टपूर्ण समयमा उद्धवबहादुर केसीलाई मुखको क्यान्सर भयो । त्यो पनि चौथो स्टेजको । कोशी प्रदेशमा उपचार सम्भव नभएपछि उनी कि दिल्ली जानुपर्ने, कि त चितवनको भरतपुर क्यान्सर अस्पताल जानुपर्ने अवस्था आयो ।

तर, कोभिडको समयमा जाने कसरी ? धेरै कष्टका साथ उनी भरतपुर अस्पताल भर्ना हुन पुगे र उनलाई चौथो स्टेजको क्यान्सरविरुद्ध रेडिएसन दिन सुरु गरियो ।

उनका आँखै अगाडि रेडिएसन दिँदादिँदै कतिपयले प्राणत्याग गरे । पहिलो, दोस्रो र तेस्रो स्टेज होइन, उनलाई चौथो स्टेजको क्यान्सर थियो । तर, उनले आत्मविश्वास जागृत गराए, हिम्मत गरे । रेडिएसनको असरलाई पचाए । अहिले विराटनगरको बजारमा ठमठम हिँडेर सरसफाइका कुरा गर्छन्, क्यान्सरविरुद्ध सचेतना जगाउँछन् ।

  • कसरी भयो क्यान्सर ?

केसी पेसाले वकालत गर्दथे । हाल विभिन्न कारणले पेसा अवरुद्ध भएको उनी बताउँछन् । उनी सानैदेखि विद्रोही स्वभावका थिए । सरसफाइ भनेपछि हुरुक्कै हुन्थे ।

‘म सानैदेखि विद्रोही थिएँ, सफाइ भनेपछि हुरुक्कै हुने मान्छे हुँ । गाईको गोठमा मट्टितेल र डिटोल छर्किन्थेँ । कुकुरलाई लक्स साबुनले नुहाइदिन्थेँ,’ केसी त्यसबेलाको अनुभव सुनाउँछन्, ‘कुकुरलाई लक्स साबुनले नुहाइदिएको देखेर मेरो घरमा काम गर्ने मुसहर समुदायका मजदुरहरू मलाई गिज्याउँथे र भन्थे– हामीलाई घरमा खान छैन, कुकुरलाई लक्सले नुहाउँछ ।’

सरसफाइप्रति उनी यति धेरै लगनशील हुनुमा उनका गुरु चन्द्रनन्दन बरालको प्रेरणा हो । उनी पढ्ने स्कुलका गुरु चन्द्रनन्दन आफैँ विद्यार्थीले गरेको फोहोर सफा गर्दै हिँड्ने गरेको केसी सुनाउँछन् । तर, सरसफाइ र स्वास्थ्यमा त्यति धेरै ख्याल गर्ने मान्छे केसीलाई नै लाग्यो प्राणघातक रोग ‘क्यान्सर’ ।

उनलाई गिँजाको समस्या (पाइरिया) थियो । त्यस्तो मान्छेले खैनी खानु भनेको झनै जोखिम निम्त्याउनु हो । स्वस्थ मानिसले पनि खैनी खानु नराम्रो कुरा हो । त्यति खराब चिजको लत उनलाई साथी संगतबाट ३० वर्षको उमेरतिर लाग्यो । ‘जतिबेला मलाई कुनै कुराको प्रभाव थिएन । म आफैँ उन्मुक्त थिएँ । स्वच्छन्द थिएँ । त्यही समयमा मैले खैनी खान सुरु गरेको हुँ,’ उनले विगतका कुरा सुनाए ।

वकालत पेसा सुरु गर्दासम्म उनी कुलतमा फसेका थिएनन् । तर, वकालत पेसा सुरु गरेपछि खैनी खान सुरु गरे । उनी २०५३ सालमा अमेरिका गए । अमेरिकामै मजदुरी गर्ने क्रममा अत्यधिक खैनी सेवन गरेको उनी आफैँ स्वीकार गर्छन् ।

उनी मुखमा खैनी हालेर राति सुत्थे । बिहान उठ्दा खोस्टा जस्तो हुन्थ्यो । त्यसबेला उनलाई धेरैपटक खैनी छोड्न मन लागेको थियो । ‘खैनी छोड्न कयौँ पटक किरिया पनि खाएँ । तर, खैनी छुटाउन सकिनँ । किनकि मलाई नशा लागेको थियो । शरीर कुतकुत्याउँथ्यो । औडाहा हुन्थ्यो,’ उनले भने, ‘मुखभित्र रहेको गालाभित्रको केस भन्दा सानो नसालाई खैनीमा मिसाएको चुनले च्यातिदिन्छ र चहर्‍याउँदा लाग्ने नशा नै खतरनाक हुन्छ । मुख गन्हाउने समस्या खतरनाक हुन्छ । यसले श्रीमान्–श्रीमतीको सम्बन्धमा समेत समस्या निम्त्याउँछ ।’

उनको बुबा विष्णुप्रसाद खत्री क्षेत्रीको पनि आहार नलीको क्यान्सरबाट मृत्यु भएको हो । विष्णुप्रसादलाई पनि क्यान्सर लाग्नुको कारण खैनी नै हो । ‘बुबालाई उपचारको लागि भरतपुर क्यान्सर अस्पताल लगेर राखेपछि त्यस्तै हुने डरले मैले खैनी खान छोडेको थिएँ । तर, पछि अरू मरे पनि म मर्दिनँ भन्ने भावना जागृत भयो र कालले कुतकुत्यायो,’ उनी आफैँप्रति आक्रामक ढङ्गले प्रस्तुत हुँदै भन्छन् ।

त्यसबेला नै उनले क्यान्सरबारे जानकारी दिने पुस्तक किनेका थिए र पढे पनि । क्यान्सर कसरी लाग्छ, त्यसका लक्षण के के हुन् भन्ने पनि त्यही किताबमा लेखिएको थियो । गिजामा सेतो दागजस्तो जब देखिन्छ, त्यो क्यान्सरको लक्षण हो । उनलाई पनि त्यस्तो भएको थियो । त्यसबेलै खानलाई असहज हुने, निल्न असहज हुने भएको थियो । तर, उनले त्यसबेला थाहा पाएर पनि औषधि प्रयोग गरेर खाना खान्थे र त्यो लक्षणप्रति अनदेखा गर्थे ।

‘पछि धेरै अप्ठ्यारो पर्न थालेपछि ऐना हेर्दा मलाई डर लाग्यो । त्यसपछि कोशी अस्पतालमा गएर जचाएँ । उहाँहरुको कुराले पनि शंकाको घेरामा राखेर बायोप्सी गर्नका लागि सुझाव दिनुभयो । कोभिडको समयमा कुनै पनि अस्पतालले गर्न मानेका थिएनन्,’ उनले भने, ‘तर, न्यूरो अस्पताल विराटनगरले बोयोप्सी गराइदियो । पछि थाहा भयो क्यान्सर नै हो भनेर । मेरो क्यान्सर चौथो स्टेपमा पुगिसकेको थियो ।’

त्यसपछि भरतपुर अस्पतालको बसाइ उनलाई कम चुनौतीपूर्ण थिएन । एकातिर कोरोना र लकडाउनको अवस्था, अर्कोतिर क्यान्सरसँग संघर्ष गर्नुपर्ने चुनौती थियो । तर, उनले क्यान्सरलाई जितेरै छाडे ।

‘चौथो स्टेजको क्यान्सरलाई जित्नु भनेको कोशीमा हाम्फालेर बच्नुजस्तै थियो । तर, म बाँचेँ । अहिले पनि म पाकेको केरासम्म खान सक्दिनँ । म बाँचेकै हिम्मत र आत्मविश्वासले हो,’ उनले सुनाए ।

अझै पनि उनी ६–६ महिनामा फलोअपका लागि नयाँ दिल्ली गइरहेका छन् । पेटसिटी परीक्षण भरतपुर अस्पतालमा पनि छैन । त्यही भएर उनले दिल्ली जानु परेको हो । ‘एक पटक क्यान्सर लागेपछि पाँच वर्षसम्मको परीक्षणमा पनि देखिएन भनेमात्रै क्यान्सर मुक्त भइन्छ,’ उनले सुनाए, ‘दुई पटकको जाँचमा त मलाई देखिएको छैन ।’

अहिले उनकोे मुखबाट थुक आउँदैन । थुक नबन्नुको कारण भनेको सलिभा ग्लेण्ड (र्‍याल ग्रन्थी) नै फालिएर हो । त्यस ठाउँमा छातीको मासु झिकेर गालामा हालिदिएको उनी सुनाउँछन् । ‘अहिले पनि त्यो मासु टालेको ठाउँमा अत्यधिक दुख्छ । त्यही भएर म पाकेको केरासम्म खान नसक्ने अवस्थामा छु,’ उनले भने ।

अहिले उनी सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउनु पर्ने वकालत गर्दै आएका छन् । ‘खैनी, चुरोट, गुट्खाबाट करोडौँ कर संकलन गरेर राज्यका मानिसहरु मोजमस्ती गर्ने, गाडी चढ्ने, देशविदेश जाने तर, त्यो चिजलाई बिक्री वितरण गर्न रोक लगाउँदा पनि न्यायाधीशले व्यापारी उद्योगीको पक्षमा फैसला गर्छ । त्यो गलत हो,’ उनी भन्छन्, ‘विश्वमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जीवन हो । त्यो जीवन समाप्त गर्नका लागि, अस्तित्व समाप्त गर्ने खैनी, गुट्खा र चुरोट बिक्री गरेर सरकारले प्रतिबन्ध गर्न किन सक्दैन ?’

क्यान्सरबाट मुक्ति पाउन उनले १२ लाख जति खर्च गरे । त्योभन्दा कयौं धेरै दुःख र कष्ट बेहोरे । तर, अहिले उनी क्यान्सर मुक्त भएका छन् र सरसफाइ अभियानमा पुनः जोडिएका छन् ।

उनले ०६३ सालयता निरन्तर सरसफाइ अभियान चलाइरहेका छन् । नेपालमा शान्ति प्रक्रिया सुरु हुने बित्तिकैदेखि उनले नाला सफाइ गरौँ, घर, पेटी सफा गरौँ भन्दै मोटरसाइकलमा हर्न लगाएर बजार घुमाउँथे । अहिले पनि उक्त अभियान जारी रहेको उनी सुनाउँछन् ।

यस्तै उनी विश्व क्यान्सर विरुद्धको दिवसको दिन आइतबार विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी हुने सुनाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप