बाँके राष्ट्रिय निकुञ्जद्वारा राप्ती नदीमा गोही छाडियो

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० गोही छाडिएको हो ।
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छाड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अति नै महत्वपूर्ण हुने बताए । उनले नदीमा छाडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिए । राप्ती नदी आसपासका बस्ती त्यहाँँको संस्कृति र त्यसको वरिपरिको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन सबैको पहल आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।
सोही अवसरमा तराई भूपरिधि कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौडेलले आहाराविना वन्यजन्तुको संरक्षण सम्भव नहुने बताए । घडियाल गोहीका कारण स्थानीयलाई कुनै जोखिम छैन । गोही र घडियाल घट्दै गएकाले वातावरणमा समस्या पर्ने हुँदा समस्या नहोस् भन्नका लागि नै घडियाल नदीमा छाडिएको हो । उनले भने, “उसको आहारा ठूलो वन्यजन्तु होइन, फ्रेस माछा नै हुन् र पानीभित्र पाइने खानेकुरा मात्र हुन्, घाम लागेका बेला बालुवामा फुल पार्छन्, त्योबेला अलि सजगता अपनाउन जरुरी छ ।”
होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीले समुदायलाई संरक्षणमा जागरुक बनाएर संरक्षणमा सहभागी बनाउन आवश्यक भएको बताए । मानवबस्तीका बीचको नदीमा घडीयाल छाडिँदा हुनसक्ने जोखिमलाई ख्याल गरिनुपर्ने उनको भनाइ थियो । “नदीमा आश्रित समुदायको रोजीरोटीको पनि ख्याल गर्न जरुरी छ”, उनले भने, “संरक्षणसँगै नदीमा निर्भर समुदायको बाँच्ने अधिकार खोसिनु हुँदैन ।”
यस क्षेत्रमा बालुवा छानेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकाले सो क्षेत्रलाई घरबाससहितको पर्यटकीय क्षेत्र बनाउन पहल थालिनुपर्ने महासचिव चौधरीले बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षणसँगै नदीमा निर्भर समुदायलाई बाँच्ने आधारको विकल्प दिनमा जोड दिए ।
मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न चुनौती रहेको उनको भनाइ थियो । “मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न सबैको नियमन आवश्यक छ”, उनले भने, “समुदायलाई नदीमाथिको निर्भरताको विकल्प दिन आवश्यक छ र त्यसो गर्न सकेमात्र त्यो सम्भव छ ।” घडियाल गोहीमा सबैभन्दा ठूलो प्रजातिको गोही हो । त्यसको भालेको लम्बाइ चारदेखि छ मिटरसम्मको हुने गर्दछ ।
सन् १९७० भन्दा पहिले नेपाल, पाकिस्तान, म्यान्मा, भारत र भूटानका नदीमा पाइने उक्त गोही हाल नेपाल र भारतमा मात्र पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार हाल नेपालको नारायणी नदीमा ८४, राप्ती नदीमा ८२, बबई नदीमा ३१ र कर्णाली नदीमा एक गरी जम्मा एक सय ९८ घडियाल गोही छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी