थोरै जग्गाका बाबजुद तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्दै अगस्ती
बारा । युवाहरु वैदेशिक रोजगारीमा गएका कारण जग्गा–जमिन बाँझै रहेको समाचार प्रशस्त आउन थालेका छन् । तर थोरै जग्गामा पनि व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै जीतपुरसिमरा उपमहानगर–४, औराहाका शरणप्रसाद अगस्तीले आफूलाई नमुना कृषकका रुपमा उभ्याएका छन् ।
घर वरपर खाली रहेको करिब ३ कट्ठा जग्गामा लगाएको तरकारी खेतीबाट उनले घरखर्च र परिवारको आवश्यकता पूर्ति गर्दै आएका छन् । घर र गाइगोठ सहितको ३ कट्ठा जग्गा उनी सधैँ हराभरा पार्छन् । ६ दशक उमेर नाघेका उनी ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
‘अरु चोक चौतारामा गफ लडाएर बसेका हुन्छन्, राजनीतिक कुरा गरेर समय बिताउँछन्,’ अगस्तीले भने, ‘मलाई हिँड्ने फुर्सद छैन, गाईको सेवा गर्छु, तरकारी खेती स्याहार्छु, यसमै मेरो दैनिकी बित्छ ।’
राम्रोसँग मेहनत गर्ने हो भने धेरै जग्गा पनि नचाहिने उनले बताए । तरकारी खेतीबाट मात्रै आफूले घरखर्च कटाएर वार्षिक २ लाखभन्दा बढी बचत गर्दै आएको उनको भनाइ छ ।
यसपटक उनले बारीमा करिब २ कट्ठामा बन्दा, १ कट्ठा जग्गामा गोलभेंडा, मुला, चुकन्दर लगायतको खेती गरेका छन् । उनी विषादीरहित अर्गानिक तरकारी उत्पादन गर्दछन् । तरकारीमा लाग्ने किरा नियन्त्रण गर्न गाईको गहुँत, घरेलु जडीबुटी बनाएर छर्ने गरेको उनले बताए ।
बालवच्चालाई पढाइ लेखाइमा असुविधा भएपछि २०५२ सालमा पर्सा जिल्ला साविक मधुवन मथोल गाविसबाट अगस्ती जीतपुरसिमरा बसाइ सरेर आएका हुन् । ‘खर्च चलेको छ म सन्तुष्ट छु,’ अगस्तीले भने ।
गत वर्ष काँक्रो, घिउ सिमीबाट राम्रो आम्दानी भएको उनले सुनाए । यस वर्ष पनि राम्रै आम्दानी भइरहेको उनको भनाइ छ । पछिल्लो समय बढेको चिसोको कारण गोलभेंडा जोगाउन धेरै मेहनत गर्नुपरेको उनले बताए ।
तरकारी कृषकहरुका लागि केही सुविधा पाइने आसले उनले २ वर्षअघि जीतपुरसिमरा उपमहानगरमा अगस्ती कृषि फर्मसमेत दर्ता गरेका छन् । वार्षिक रुपमा नगरपालिकालाई १६÷१७ हजार कर बुझाए पनि अहिलेसम्म कुनै सुविधा नपाएको उनको गुनासो छ ।
‘थोरै जग्गामा तरकारी खेती गरिरहेकाले मलाई हाते ट्याक्टर र हाते ट्याङ्की एकदमै आवश्यक छ, गोठसुधार कार्यक्रम र गोलभेंडा खेतीको लागि टनेलको माग गर्दै १० वर्षदेखि फारम बुझाउँदै आएको छु, हुन्छ–हुन्छ भन्छन् तर कहिल्यै दिँदैनन्,’ उनले भने, ‘मेरो मुख्य उद्देश्य नर्सरी बनाएर बिरुवा उत्पादन गरेर बिक्री गर्ने छ, यसका लागि एउटा टनेल आवश्यक छ ।’
तरकारी खेतीका लागि आफूले वडा कार्यालय, कृषि कार्यालय र नगरपालिकाबाट कुनै हौसला नपाएको उनको भनाइ छ । उनले साँघुरो गोठमा खचाखच गरेर ५ वटा गाई पालेका छन् । खाल्टोमा घरगोठ भएकाले बर्खामा बाढी पस्ने जोखिम भएकाले गोठ सुधारका लागि कतैबाट सहयोग पाए सजिलो हुने उनको भनाइ छ ।
‘वडा कार्यालयबाट यो सही किसान हो भनेर पहिचान गरेर केही सरकारी सुविधा पाउनु प¥यो भन्ने मेरो माग हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय