सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
यू–१९ विश्वकप

नेपाललाई १३२ रनले हराउँदै भारत सेमिफाइनलमा

शुक्रबार, १९ माघ २०८०, २२ : १४
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग एक सय ३२ रनले पराजित भएको हो । त्यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

शुक्रबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर दीपक बोहरा र अर्जुन कुमालले ४८ रनको साझेदारी गरे । दीपक २२ रन बनाउँदै आउट भए । अर्जुनले पेभेलियन फर्किनुअघि २६ रन बनाएका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल ३३ रन बनाउँदै आउट भए । उत्तम रंगु थापामगर आठ रनमा पेभेलियन फर्किए । विशालबिक्रम केसी एक रन बनाउँदै आउट भए । दीपक डुम्रेले खातासम्म खोल्न सकेनन् ।

गुल्सन झा पनि एक रनमै आउट भए । दिपेश कँडेलले पनि खाता खोल्न सकेनन् । सुवाष भण्डारी पाँच रनमा पेभेलियन फर्किए । आकाश चन्दले अविजित १८ रन बनाए । दुर्गेस गुप्ताले अविजित २९ रन जोडे ।

नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो । भारतीय टोलीका बलर सौमी पाण्डेले चार विकेट लिएका थिए । आर्शिन कुलकर्णीले पनि दुई विकेट हात पारे । राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले एक–एक विकेट लिए ।

त्यसअघि चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको थियो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले एक सय १६ रन बनाएका थिए । उनले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए ।

सचिनको विकेट गुल्सन झाले लिएका हुन् । ४७.४ ओभरमा गुल्सनले सचिनलाई दिपक बोहराद्वारा क्याच गराएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको खातामा एक सय रन थपे ।

उदयले एक सय सात बलको सामना गरी नौ चौका पनि हिर्काए । उनी पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । उदयको विकेट पनि गुल्सनले नै लिएका हुन् । उनलाई ४९.४ ओभरमा गुल्सनले सुवाष भण्डारीद्वारा क्याच गराएका थिए ।  

भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो । त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । मुसिर खान नौ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा पनि १४ रन पायो । नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए ।  

भारतको पहिलो विकेट नेपाली बलर गुल्सनले लिएका थिए । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।

भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।

‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो तथा अन्तिम खेल हो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट यसअघि नै बाहिरिइसकेको छ । नेपाललाई हराएसँगै भारत भने जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

उक्त समूहबाट अब पाकिस्तान र बंगलादेशमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । ‘सुपर सिक्स’ चरणको अर्को समूहबाट भने दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप