शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रुसी सेनामा नेपाली

रूसी सेनाको जागिर छाडेर भागेका सुमन भन्छन्–लाइफमा पैसामात्र सबैथोक होइन रहेछ

शुक्रबार, १९ माघ २०८०, १६ : ५८
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । खोटाङका ३१ वर्षीय सुमन राई वैदेशिक रोजगारीका लागि मलेसिया जाने सोचमा थिए । सुकेधारामा एउटा मेनपावरको अफिस देखेपछि उनी त्यतै पसे । मलेसियाका लागि काम खोज्न गएका उनलाई मेनपावर व्यवसायीले ‘रूसी आर्मीमा जाने ?’ भनेर सोधे ।

रुसमा जान ८ लाख रूपैयाँ खर्च लाग्ने र मासिक २ लाख ६५ हजार रूपैयाँ तलब हुने बताएपछि राई रूसी सेनामा जान तयार भए । त्यो बेलासम्म उनलाई रूसमा युद्ध भइरहेकोबारे केही जानकारी थिएन ।

‘ठिक छ, म जान्छु भनेर निर्णय गरेँ । त्यसपछि मलाई भिजिट भिसामा जानुपर्छ भनेर ३० दिनको भिसा लगाइदिनुभयो,’ उनले भने ।

उनलाई नेपालबाट सुरुमा दुबई लगियो । त्यहाँबाट उनी मस्कट पुगे । ‘मस्कटमा ८ घण्टा विमानस्थलभित्रै राखियो । ८ घण्टापछि रिसिभ गर्ने मान्छे आयो । विमानस्थलमा सबै सेटिङ मिलाएर आएको त्यो एजेन्टले होटलमा लग्यो,’ उनले भने ।

होटलबाट भोलिपल्टै आफूलाई रूसी सेनामा भर्ना गराउन लगिएको राईको भनाइ छ । ‘होटलमा राखेको भोलिपल्ट नै भर्तीमा लग्यो । त्यसपछि फस्ट क्याम्पमा गएँ । त्यहाँ युद्ध तथा लडाइँबारे केही थाहा भएन । त्यहाँबाट केही समय तालिम दियो । तालिममा हतियार कसरी चलाउने लगायतका विषयमा जानकारी दिन्थे,’ उनले भने ।

Capture

तालिम सकिने बेला आउन थालेपछि आफूहरूलाई अब ड्युटीमा जानुपर्छ भनेर जानकारी गराइएको राई बताउँछन् । अनि बल्ल युक्रेनी सीमा क्षेत्रमा लडाइँका लागि जानुपर्ने रहेछ भन्ने बुझेको उनको भनाइ छ ।

राईका अनुसार सेनामा भर्ती भएपछि आफूसँगै आएको इलामका विजय तामाङ युद्धको क्रममा मारिएको भन्ने खबर आयो । ‘ऊ र मसँगै भर्ती भएका थियौँ । एउटै क्याम्पमा थियौँ । सँगैको साथी बित्यो भन्दा मलाई साह्रै डर लाग्यो,’ उनले भने, ‘नरमाइलो लाग्यो । त्यसपछि मैले सोचेँ कि लाइफमा पैसामात्र ठुलो कुरा होइन । आफू सकुशल छ भने पैसा त पछि पनि कमाइन्छ भन्ने लाग्यो ।’

त्यसपछि आफूसहित तीन जना नेपालीले युक्रेनी युद्धभूमिमा नगइ नेपाल फर्किने योजना बनाएको उनले सुनाए । त्यसका लागि उनीहरूले सेटिङ मिलाएर दलाललाई तीन लाख रूपैयाँ दिए । यसरी रातारात भागेर आफू नेपाल आउन सफल भएको उनको भनाइ छ ।

रुसी सेनामा नेपाली युवा उल्लेख्य भर्ना भएको राई बताउँछन् । उनले भने, ‘कुनै नेपालीले युद्धमा जादिनँ, नेपाल फर्किन चाहन्छु भनेको खण्डमा उनीहरूको पासपोर्ट राखिदिने र युक्रेनतिर पठाउने रहेछन् । तर, नेपाल पठाउँदैनन् ।’

रूसी सेनामा भर्ना भएका धेरै नेपालीको मृत्यु भइसकेको हुन सक्ने उनको अनुमान छ । तर, मृत्युको तथ्याङ्क बाहिर नआउने उनको भनाइ छ ।

‘हामी धेरै थियौँ । ठ्याक्कै यति नै भन्न सकिँदैन । त्यस्तै ७/८ सय जना जति थियौँ होला । सामान्य तालिम दिएर युद्धमा पठाउँछ । मरेपछि कसैलाई पनि जानकारी दिँदैन,’ उनले भने ।

युद्धमा खटाउँदा कसैलाई फोन सुविधा नदिइने राईले बताए । आफ्नै साथीभाइ भए पनि उनीहरूलाई फरक फरक टोलीसँग पठाउने गरेको उनको भनाइ छ । ‘हामी त त्यहाँको लागि फ्रन्टलाइन आर्मी रहेछौँ । रूसी आर्मी त अन्तिममा हुन्छन् । अगाडि हामीलाई पठाउने, अनि फ्रन्टलाइनमा भएकाहरु मरेको वा घाइते भएको खण्डमा रुसी सेनाहरु गाडी लिएर रूस फर्किन्छन्,’ उनले भने ।

Capture

त्यस्तो अवस्थामा न मृत्यु भएका नेपालीको शव पाइन्छ, न घाइतेले समयमै उपचार पाउने उनको भनाइ छ । रूसी सेनामा नेपालीसँगै भारतीय, चाइनिज, मंगोलियन नागरिक समेत रहेको उनले बताए । अन्य देशका नागरिक थोरै संख्यामा रहे पनि नेपालीहरू भने धेरै रहेको उनको दाबी छ ।

राईले तालिम तथा ड्युटीको क्रममा समेत कमाण्डरले साह्रै दुःख दिने गरेको बताए । ‘कमाण्डरले कतिपयको त कानको जाली फुट्ने गरी हान्दो रहेछ । तालिममा पेलाउने, खाना नदिने, सजाय दिने जस्ता काम धेरै गर्छन् । कमाण्डरले भनेको मानेन भने कडा सजाय दिन्छन्,’ उनले भने ।

नेपालीहरू सिधै नेपालबाट भन्दा पनि दुबई, कतारबाट बढी जाने गरेको उनको अनुमान छ । दुबई, कतारमा राम्रै जागिर पाइरहेका नेपालीहरू पीआर पाउने तथा बढी तलब पाउने आशमा रुस जाने गरेको उनको भनाइ छ ।

‘दुबईमा रोयल गार्डको जागिर गरिरहेको एक जना दाइलाई पनि रुसमा भेटेको थिएँ, किन आउनु भएको भनेर सोध्दा रूसको पीआर पाइन्छ भनेर आएको भन्ने जवाफ दिनुभयो,’ राईले भने ।

रुस जानुअघि राईले नेपालमै तन्दुरी कुकको रूपमा सात वर्ष काम गरेका थिए । त्यसपछि उनले ललितपुरमा कपडा पसल खोले । तर, लकडाउनका कारण पसलको भाडासमेत तिर्न समस्या भएपछि उनले पसल छाडेका थिए । नेपालमा जे जति गर्दा पनि आम्दानी हुन नसकेपछि उनी वैदेशिक रोजगारीमा जाने सोचमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप