इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतीय ब्याट्सम्यान जैसवाल दोहोरो शतक नजिक
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार घरेलु टोली भारतले ६ विकेट गुमाएर तीनसय ३६ रन बनाएको छ । पहिलो दिन ९३ ओभर खेल भएको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले उत्कृष्ट शतकीय पाली खेले ।
२२ वर्षीय बायाँ हाते ब्याट्सम्यान जैसवाल दोहोरो शतकको नजिक छन् । पहिलोदिन शुक्रबारको खेल सकिँदासम्म उनी एकसय ७९ रन बनाउँदै क्रिजमा छन् । लामो समय क्रिजमा संघर्ष गरेका उनले दुईसय ५७ बलको सामना गरी पाँच छक्का र १७ चौका पनि हिर्काएका छन् ।
टेस्ट क्रिकेटमा यो उनको सर्वोत्कृष्ट प्रर्दशन पनि हो । यसअघि टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ७१ रन हो । उनले भारतका लागि छैटौँ टेस्ट खेलिरहेका हुन् । उनले यसअघि भारतका लागि पाँच टेस्ट खेल्दै कुल चार सय ११ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेका छैनन् ।
दोस्रो टेस्टको पहिलो दिन भारतका कप्तान रोहित शर्मा १४ रन बनाउँदै आउट भएका थिए । अर्का युवा ब्याट्सम्यान शुभमन गिल पनि ३४ रनभन्दा अगाडि बढ्न सकेनन् । श्रेयस ऐयर २७ रन बनाउँदै पेभेलियन फर्किए भने रजत पाटिदार ३२ रनमा आउट भए ।
अक्सर पटेल पनि २७ रनभन्दा अगाडि बढ्न सकेनन् । श्रीकर भरत १७ रनमा आउट भए । पहिलो दिनको खेल सकिँदा रविचन्द्रन आश्विन अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । इङ्ल्यान्डका बलर रेहन अहमद र सोएब बसिरले दुई–दुई विकेट लिए । जेम्स एन्डर्सन र टम हर्टलीले पनि एक–एक विकेट हात पारे । रमाइलो पक्ष, ९३ ओभर बलिङ गर्दा इङ्ल्यान्डका बलरले केवल एक रन अतिरिक्त रुपमा दिएका छन् ।
इङ्ल्यान्डका सोएब बसिरको यो ‘डेब्यू’ टेस्ट हो । २० वर्षीय अफ–स्पिनर बसिरले हालसम्म कुनै पनि अन्तर्राष्ट्रि प्रतियोगिता खेलेका छैनन् । उनलाई ज्याक लिचको स्थानमा टोलीमा समेटिएको हो । ज्याक लिच घाइते भएपछि सोएब बसिरले टोलीमा स्थान पाएका हुन् ।
बसिरलाई टोलीमा समावेश गर्नुमा बेन इङ्ल्यान्डका कप्तान स्टोक्सको महत्वपूर्ण योगदान रहेको छ । ‘उनी क्षमतावान खेलाडी हुन् । मैले उनको प्रदर्शन नजिकबाट नियालेको छु । उनले भविष्यमा टोलीका लागि महत्वपूर्ण योगदान गर्न सक्छन्,’ स्टोक्सले भनेका छन् ।
भारत र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट विषाखापट्नममा भइरहेको छ । यसअघि खेलिएको पहिलो टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्ड विजयी भएको थियो । उक्त टेस्टमा इङ्ल्यान्डले भारतलाई २८ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई