बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पीडामाथि पीडा

हिमपात र वर्षाले थप पीडा : सकसमा भूकम्प पीडित

पुनर्निर्माणको छैन ठेगान
शुक्रबार, १९ माघ २०८०, १५ : ५९
शुक्रबार, १९ माघ २०८०

सुर्खेत । बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यहीबिचमा जाजरकोट भूकम्पका पीडितहरूलाई हिमपात र वर्षाले थप पीडा दिइरहेको छ । 

माघको चिसो, त्यसैमा वर्षा र हिमपातले भूकम्प पीडितहरू सकसमा परेका छन् । ‘पानीले गर्दा हाम्रो अवस्था निकै अस्तव्यस्त भयो, चिसोले समस्या थियो नै त्यसैमा पानी परेपछि अस्थायी छानोले पानी छेक्न सक्ने अवस्था रहेन,’ नलगाड नगरपालिका–१, चिउरीका भूकम्प पीडित प्रकाश विकले भने, ‘चिसोले बुढाबुढी र बालबालिकालाई समस्या दियो ।’ उनका अनुसार बिहीबारको पानीले छानोभित्र सिधै पानी पस्दा निकै समस्या भइरहेको छ । भूकम्प पीडितको जनजीविका अस्तव्यस्त भइरहेको उनले बताए ।

‘हिजो (बिहीबार) बिहान तीन बजेबाट पानी आएको हो, बसाई निकै अस्तव्यस्त छ,’ उनले भने, ‘हाम्रो गाउँका घाइतेहरूलाई अझ समस्या छ । दीर्घ रोगी, घाइते, गर्भवती महिलालाई टहरामा चिसो हुन्छ ।’ उनका अनुसार पशु चौपायालाई समेत समस्या भएको छ । घरहरू भत्कँदा पशु चौपायाहरुलाई बाहिरै बाँध्ने काम भएको छ । ‘हामी त चिसोमा लुटुपुटु भए पनि बच्ने प्रयास गरेका हुन्छौँ,’ उनले भने, ‘तर गाई गोरु मर्ने भए हजुर, के गर्ने समस्या नै समस्या भयो,’ अस्थायी आवासले चिसो छेक्न नसक्ने उनले बताए ।

चिउरी भूकम्पबाट पुरै तहसनहस भएको गाउँ हो, त्यहाँका १३ जनाको भूकम्पमा परी मृत्यु भएको थियो भने चिसोबाट एक जनाको मृत्यु भएको छ । जतिसक्दो राज्यले पुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । जाजरकोट सदरमुकाम खलङ्गाकी भूकम्प पीडित ललिता पुन मगरले भनिन्, ‘भूकम्प र त्यसबाट हुने असरले बाँचेकाहरूलाई थप पीडा भइरहेको छ । बाँचेकाहरूका सपनाहरू मर्न थालिसकेका छन् ।’ बाँचेकाहरूमा समेत मनोवैज्ञानिक असर परिरहेको उनको भनाइ छ । जाजरकोटमा भूकम्पपछि चिसोले ३० भन्दा बढीको ज्यान गइसकेको छ । वर्षा र हिमपातपछि त्यो सङ्ख्या अझ बढ्ने चिन्ता देखिन्छ । चिउरीका स्थानीय युवा हात्तीराम महर दीर्घ रोगी, बालबालिका, सुत्केरी, गर्भवतीलाई कसरी जोगाउने चिन्ताको विषय रहेको बताउँछन् । उनका अनुसार केही दिनअघि मात्रै शीतलहरकै कारण बिते । ‘चिसोले बच्चाबच्चीमा खोक्ने, ज्वरो आउने लगायतका स्वास्थ्यमा समस्याहरू देखिरहेको अवस्था छ,’उनले रातोपाटीसँग भने, ‘हाम्रो अवस्था विडम्बना नै छ ।’ उनीहरू मात्र मात्र होइन जाजरकोट र रुकुम पश्चिमका अधिकांश भूकम्प पीडितहरूको समस्या यही हो । जाजरकोटका उत्तरी र रुकुम पश्चिमका उच्च तथा लेकाली भू–भागहरूमा हिमपात हुन्छ । ती क्षेत्रका भूकम्प पीडितहरूलाई झन् समस्या भइरहेको ती क्षेत्रका जनप्रतिनिधिहरू बताउँछन् । 

जाजरकोटको कुशे गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात हुन्छ । हिमपातले पीडितहरूलाई निकै पीडा दिइरहेको गाउँपालिकाका उपाध्यक्ष देवीका कुमारी सिंहले बताइन् । उनका अनुसार घर कुनै पनि बस्न लायक छैनन् । टहराको बसाइपनि सहज नभएको उनको भनाइ छ । उनले भनिन्, ‘हिउँ परेपछि जम्दो रहेछ, टिनमा पानी जमेको अहिले त भित्र ओछ्यानहरू पुरै भिज्न थालेका छन् । कुशेमा पाँच हजार दुई सय ८७ घरमा क्षति पुगेको थियो ।’ सिंहका अनुसार लगभग अधिकांश व्यक्तिको अस्थायी टहरा बनिसकेको छ । 

जाजरकेाट

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही टिनमुनि भूकम्प पीडितलाई सहजता प्रदान गर्न सम्भव नहुने बताउँछिन् । ‘टिन चुहिने, टहराको माथितिर कम्बल राखेर नागरिकहरू बसिरहनुभएको छ, तैपनि चिसो भयो भनिरहनु हुन्छ,’ उनले भनिन्, ‘के गर्नु हजुर, सुरक्षितसँग बस्नुहोला भनेर भन्छौँ, त्यस बाहेक अरू गर्न सकिने अवस्था पनि केही छैन । चाँडो पुन निर्माणमा जोडिन पाए पनि हुन्थ्यो ।’ 

सरकारले अहिलेसम्म पुन निर्माणसँग सम्बन्धित कार्यविधि ल्याउन सकिरहेको छैन । कतिपय पैसा हुनेहरूले पालिकासँग सम्झौता गरी वडाका प्राविधिकहरूको डिजाइनमा बनाउन थालेका छन् । तर, धन सम्पत्ति नहुनेहरूका लागि सरकारले बनाइदिनुपर्ने हुन्छ । तर, सरकारले ढिलाइ गरिरहेको उनको भनाइ छ ।

पुन निर्माण त त्यस्तै हो, अहिलेसम्म सरकारले अस्थायी आवासको लागि दिनुपर्ने दोस्रो किस्ता समेत दिन सकिरहेको छैन । पहिलो किस्ता बापतको रकम पनि सबै लाभग्राहीले पाउन सकेका छैनन् । अस्थायी आवासका लागि प्रति परिवार ५० हजार दिने सरकारले निर्णय गरेको थियो । त्यसमा पहिलो किस्ता २५ हजार र दोस्रो २५ हजार गरी दिइने प्रावधान बनेको थियो । 

Capture

जाजरकोट प्रशासनका अनुसार जिल्लाभर अहिलेसम्म लाभग्राहीको सङ्ख्या ४२ हजार ४२४ कायम भएको छ । अस्थायी आवासका लागि २९ हजार ९५३ जनाले सम्झौता गरेका छन् भने २९ हजार ६ जनाले मात्रै पहिलो किस्ता पाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत रकम पालिकाहरूमा पठाउने गरिएको छ । प्रशासनका अनुसार अहिलेसम्म १ अर्ब ३ करोड ४१ लाख ७५ हजार रुपैयाँ पालिकाहरूलाई निकासा गरिएको छ । पालिकाहरूले भने जम्मा ७२ करोड ५१ लाख ५० हजार रकम मात्रै भूकम्प पीडितलाई वितरण गरेका छन् । अहिलेसम्म सबै पीडितहरूको अस्थायी आवास निर्माण पनि भएको छैन । जाजरकोटका सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार ४२ हजार ४२४ मध्ये माघ १६ गतेसम्म १६ हजार २८४ वटा मात्रै अस्थायी आवास बनेका छन् । 

रुकुम पश्चिममा माघ १२ गतेसम्म १८ हजार ८६६ वटा अस्थायी आवास निर्माण भएका थिए भने ६ हजार ९७५ वटा निर्माणको क्रममा रहेको तथ्याङ्क प्रशासनले सार्वजनिक गरेको छ । यहाँ लाभग्राहीको सङ्ख्या २९ हजार ४०६ रहेको छ । यहाँ २७ हजार ३६ जनाले अस्थायी आवासको पहिलो किस्ता पाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप