भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

भोजपुर । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।
रामबहादुरले भने, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याएको हो । विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ ।
मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए । उनले भने, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको क्रम चलिरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । उनले भने,“जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पुर्याउन प्राधिकरणले काम गरिरहेको छ ।”
स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब एक हजार चार सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा विसं २०६७ कात्तिक महिनाबाट विद्युत् प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै विद्युतीकरणको काम सुरु भएको थियो । भोजपुरमा हाल निजीस्तरका दुई वटा हाइड्रोपावर सञ्चालनमा रहेका छन् ।
भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार अहिलेसम्म २४ हजारभन्दा बढी घरधुरीमा विद्युत्को पहुँच पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी