आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

अभिनेत्री उपासनालाई प्रश्न : ‘हात्तीछाप’ भित्र दयाहाङ कस्ता प्रेमी ?

शुक्रबार, १९ माघ २०८०, १४ : ३५
शुक्रबार, १९ माघ २०८०

काठमाडौंँ । अभिनेत्री उपासनासिंह ठकुरी पछिल्लो समय फिल्म ‘हात्तीछाप’ को कारणले चर्चामा छिन् । फिल्मभित्र उनलाई दयाहाङको प्रेमिकाको रुपमा देख्न सकिन्छ । बिहिबार साँझ ‘हात्तीछाप’ ले आयोजना गरेको एक कार्यक्रममा भेटिएकी उनले यहि कुरो दोहोर्याएकी थिइन् ।

कार्यक्रममा फिल्मको कथावस्तु शक्तिशाली भएकोले आफूले अभिनय गरेको बताइन् । फिल्म आफ्ना लागि निकै महत्वपूर्ण रहेको समेत उनको धारणा थियो । कार्यक्रममा उनलाई पत्रकारको प्रश्न थियो– ‘फिल्मभित्र दयाहाङ कस्ता प्रेमी हुन् ? जवाफमा उनले भनिन्– ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश छ । यो फिल्मले भूकम्पको कथा नै भन्न खोजेको हो कि भन्ने धेरेको अनुमान छ । उपासनाले भने फिल्मले भूकम्पको कथाभन्दा पनि नेपाली दर्शकलाई भावनामा जोड्ने बताइन् । ‘यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नुहुँदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ’ उनले थपिन् ।

सिमोस सुनुवारद्वारा निर्देशित फिल्म किरण नेपालीले बनाएका हुन् । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । फिल्म २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप