शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

भिजिट भिसामार्फत् मानव तस्करीमा तहगत संरचना, यस्तो छ ग्राहक खोज्नेदेखि सेटिङ गर्नेसम्मको लिङ्क चार्ट

शुक्रबार, १९ माघ २०८०, १३ : ४६
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । भिजिट भिसामार्फत मानव तस्करी सेटिङ प्रकरणमा जोडिएका २२ जनाविरुद्ध बिहीबार काठमाडौँ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको छ । भिजिट भिसामार्फत् नेपाली युवा–युवतीलाई खाडी मुलुकमा पठाएर त्यहाँबाट अन्यत्र पठाउने गरेको पाइएपछि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत किर्ते र संगठित अपराधमा मुद्दा दायर गरेको हो ।

बिहीबार दर्ता भएको मुद्दामा भिजिट भिसा प्रकरणमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता थियो भनेर 'लिङ्क चार्ट'समेत तयार पारिएको छ । यसमा तीन वटा चार्ट तयार पारी पहिलो लिङ्क अर्थात् यसको अनुसन्धान कोबाट कसरी सुरु भयो भन्ने उल्लेख गरिएको छ ।

पहिलो लिङ्कमा त्रिभुवन विमानस्थलबाट प्रहरीले फिर्ता पठाइ कागजात नियन्त्रणमा लिएर अनुसन्धानमा तानिएका कौशिला मगर र लक्ष्मी राई छिन् । उनीहरुकै बयानका आधारमा गीता शाह, अरुण दाहाल पक्राउ परेपछि गीता र अरुणको बयानका आधारमा ट्राभल एजेन्सीका सञ्चालक सरोजकुमार यादव पक्राउ परेका छन् । सरोजकुमार यादवकै बयानका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेका छन् ।

दोस्रो लिङ्कमा सुरुमा रिता दमाई देखिन्छिन् । रिता दमाई पनि कौशिला मगर र लक्ष्मी राईजस्तै विमानस्थलबाट फर्काइएकी पात्र हुन् । रिता दमाईको पुलिस रिपोर्ट लगायतका कागजात नक्कली पाइएपछि उनको कागजात नियन्त्रणमा लिइएको थियो ।

रिता दमाईमाथि अनुसन्धान सुरु भएपछि उनकै बयानका आधारमा प्रहरीले सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक बिनोद कार्कीलाई पक्राउ गर्‍यो । बिनोदले बयानका क्रममा नक्कली कागजात बनाएको कुरा अस्वीकार गरे पनि उनी यसअघि लिखत किर्ते कसुरमा कारबाही भइसकेको र रिता दमाईले बयान गर्दा बिनोद कार्कीले नै बनाइदिएको भनी पोल गरेको र होटल बाल्टिक इनका सञ्चालकसँग पटकपटक कुरा भएको, नरवीर खड्कासँग समेत कुराकानी भएको पाइएको थियो ।

बाल्टिक इनका सञ्चालक केदार कार्कीसँग समेत मिलेर मनोज तामाङसँग समेत भेटघाट भएको देखिएको छ । प्रहरीले तयार पारेको लिङ्क चार्टमा पनि बिनोद कार्कीपछि मनोज तामाङ र बाल्टिक होटलका सञ्चालक केदार कार्की र त्यसपछि पदम लामा हुँदै नरवीर खड्कासम्म पुगेको देखिन्छ ।

तेस्रो चार्टमा पनि यसको अन्तिम कनेक्सन नरवीर खड्कासँगै जोडिएको छ । मनोज तामाङलाई चाहिने कागजात दिनेश ज्ञवाली र रविन अर्यालले तयार पारी रामप्रसाद भण्डारीमार्फत् मनोज तामाङलाई पठाउने गरेको पाइएको छ । यसमा दिनेश ज्ञवालीले एजेण्ट वा नामावाली सङ्कलन गर्ने र रविन अर्यालले अनलाइनबाट कागजात तयार पार्ने काम गरेको देखिएको छ । तयार भएको कागजात रामप्रसाद भण्डारीलाई दिइ त्यहाँबाट मनोज तामाङ, बिनोद कार्की, केदार बहादुर कार्की हुँदै अन्तिममा नरवीर खड्कासम्म पुगेर सेटिङ हुने गरेको पाइएको छ ।

रिता दमाईको नक्कली कागजातको अनुसन्धान गर्दा रिता दमाईलाई कागजात उपलब्ध गराइदिने व्यक्ति बिनोद कार्की रहेको, बिनोद कार्कीलाई केदार कार्कीले दिएको, केदार कार्कीलाई मनोज तामाङले दिएको, मनोज तामाङलाई रामप्रसाद भण्डारीले दिएको र रामप्रसाद भण्डारीलाई दिनेश ज्ञवालीले दिएको तथा दिनेश ज्ञवालीलाई रविन अर्यालले नक्कली कागजात तयार पारी दिएको पाइएको छ ।

यसरी भिजिट भिसामार्फत् मानव तस्करी प्रकरणको केन्द्रमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का देखिएका छन् । उनलाई अध्यागमन कार्यालयका अन्य ८ जना अध्यागमन अधिकृतले सहयोग पुर्‍याएको पनि लिङ्क चार्टमा देख्न सकिन्छ । नरवीर खड्कालाई सहयोग गर्ने अध्यागमन अधिकृतहरुमा तारा बहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्वर रिमाल, सुजन फागो लिम्बु रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । तर अध्यागमन अधिकृतहरुमध्ये नरवीर खड्काबाहेक अन्य व्यक्तिहरु पक्राउ परेका छैनन् । यस विषयमा अनुसन्धान सुरु भएलगत्तै उनीहरु फरार भएका हुन् ।

प्रहरीले अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु भनी मुद्दा दायर गरे पनि अन्य अधिकांश अध्यागमन अधिकृत पहिले नै सरुवा भइसकेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालले बताए । हमालले रातोपाटीसँग भने, ‘अध्यागमन अधिकृत भनेर मुद्दा चलेको भए पनि नरवीरबाहेक अन्य सबै कर्मचारी पहिले नै सरुवा भइ गइसकेका कर्मचारी हुन् । भिजिट भिसाको लफडा सुरु हुँदा उनीहरुको सरुवा भइसकेको थियो ।’

लिंक चार्ट हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप