एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद, बाबुरामलाई बहुमतको चेतावनी
काठमाडौँ । नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको पहिलो साता नेसपाको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा अर्का अध्यक्ष महिन्द्र राय यादवको चर्को दबाबपछि भट्टराई एकता समायोजन समिति गठन गर्न तयार भएका थिए । अन्ततः माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा समायोजन समिति बनेको थियो । जसमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेका छन् ।
तर पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् । भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेका छन् । एकता महाधिवेशनमा जान नमाने बहुमतले निर्णय गर्ने एक नेताले रातोपाटीलाई बताए ।
‘बाबुरामजी एकता महाधिवेशनमा जान चाहरिनुभएको छैन । नेता तथा कार्यकर्ताहरू पार्टीबाट पलायन भइसके । उहाँ पार्टीको महाधिवेशन गर्ने अडानमा हुनुहुन्न’, ती नेताले भने, ‘आजको केन्द्रीय कार्यकारिणी बैठकमा क्लियर हुन्छ । जे हुन्छ त्यो हुन्छ । बाबुरामजी मान्नुभएन भने हामी छुट्टै बैठक बसेर जान्छौँ । सधैँ ल्याङल्याङ पाराले चल्दैन ।’
माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरू रहेका छन् । गत वर्ष निर्वाचनअघि दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । तर बाबुरामलाई थाहै नदिई माओवादीसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । असोजको अन्तिम साता नेसपाका अध्यक्ष महिन्द्रलाई माओवादीले गरेको पत्राचारबाट भट्टराई प्रचण्डसँग थप सशङ्कित देखिएका छन् । यसै विषयको हल खोज्न नेसपाले शुक्रबार केन्द्रीय कार्यकारिणी बैठक र शनिबार केन्द्रीय समिति बैठक बोलाएको हो । यता माओवादीले पार्टी एकताका लागि नेसपामाथि लगातार दबाब बढाएका छन् । गत वर्ष माओवादीको चुनाव चिन्हबाट महिन्द्र प्रतिनिधिसभा सदस्य निर्वाचित छन् । गङ्गा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । महिन्द्र अहिले प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने गङ्गा बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री छन् ।
त्यस्तै पुस २८ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता समिति गठन गर्ने निर्णय गरिसकेको छ । आवश्यकता अनुसार समितिमा अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्ने गरी पुरानै वार्ता समितिलाई यथावत् राखिएको छ । जसमा उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म