शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
माघ १९ विशेष

कानको छेउबाट गोली गएको थियो, संयोगले बाँचे

शुक्रबार, १९ माघ २०८०, ११ : ४३
शुक्रबार, १९ माघ २०८०

२०६१ माघ १८ गते राति ११ बजे, मलाई कसैले फोन गर्‍यो, ‘हामी बालाजुमा छौँ, तिमी यहाँ जसरी पनि आउनुपर्‍यो ।’ सुतिसकेकाले आउन सक्दिनँ भन्दा पनि कर गरेपछि म ट्याक्सी चढेर बालाजु पुगेँ । त्यहाँ मलाई भनियो, ‘भोलि राजाले संक्रमणकालको घोषणा गर्दै छन् । तिमीहरू सबै धरपकडमा पर्दै छौ, जे पनि हुन सक्छ । शुभेच्छुकको हैसियतमा समयमै खबर गरेका हौँ ।’

त्यो रात म त्यहीँ नजिकै एकजना साथीको घरमा बसेँ । भोलि के होला, कसो होला भन्ने चासो र चिन्ताले सताइरहेकै थियो । साथीहरूले फोन गर्न थाले । सबैले आशंकाको मात्रै कुरा गर्थे । अधिकांश साथीहरू घर छाडेर बाहिर बसेकै अवस्था थियो । 

माघ १९ गते बिहानै हामी महाराजगन्जस्थित गिरिजाबाबुको निवासतिर लाग्यौँ । अहिलेको भाटभटेनी छेउमा पुगेर मोडिन खोज्दा गिरिजाबाबुको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी आएर भने, ‘तपाईंहरू यहाँ नआउनुस्, अहिले नै पक्रन सक्छ ।’

संयोगले गगन (थापा)जी त्यहीँ आइपुग्नुभयो । परिस्थिति बुझेपछि हामी त्यहाँबाट निस्कन खोज्दै थियौँ, धरपकड गर्न खोजेजस्तो अनुभव भयो । कसोकसो हामी मोटरसाइकलमा भाग्न सफल भयौँ । त्यसपछि हाम्रो ध्यान प्रहरी प्रशासनलाई छल्नमै केन्द्रित रह्यो । त्यसको केहीबेरमा शाही घोषणामार्फत संक्रमणकालको घोषणा गरियो । मोबाइल, टेलिफोन सबै काटियो । नरहरि आचार्यसहितका केही नेताहरूलाई धरपकड गरियो भन्ने पनि सुन्यौँ । बिहानै प्रहरी गएर मेरो घर घेरा हाल्दै मेरो बारेमा सोधखोज गरेछ । सोह्रखुट्टेको प्रहरीले घरभित्रै पसेर मेरा व्यक्तिगत डकुमेन्ट लगेछ । सामाखुसीमा आमा मात्रै हुनुहुन्थ्यो । उहाँ आतंकित भएर आफूले चिनेका मेरा हरेक साथीको डेरामा समेत पुग्नुभएछ, मेरो खबर बुझ्न । तर आमालाई यहाँ छु भनेर खबर गर्ने अवस्थामा म थिइनँ । हामीलाई केही शुभचिन्तकले सूचना दिए– चोकचोकमा प्रहरीले तिमीहरूको फोटो लिएर पक्रन बसेको छ, सावधान रहनू । 

कहाँ लुक्ने भन्ने चिन्ता बढ्यो । गोप्य राखिदिने र संरक्षण गरिदिने ठाउँको खोजीमा लाग्यौँ । गगनजी र म चार दिनसम्म एउटा कोठामा लुकेर बस्यौँ । चौथो दिन हामीले नै सूचनाका लागि बोलाएका विद्यार्थी साथीहरू आएका थिए, हामीलाई खोज्दै प्रहरी आउने शंका भएपछि ठाउँ बदल्यौँ । 

विभिन्न ठाउँमा बस्दै दश दिनजति बित्यो । कतिपयले सुरक्षित रहन भारततिर जान सुझाएका थिए, हामीले काठमाडौँ बाहिरका जिल्ला जान मन गरेका थियौँ । तर प्रशासनको निगरानीका कारण सम्भव भएन । त्यहीबेला नेपाली कांग्रेसको अधिवेशन थियो । म महाधिवेशन प्रतिनिधि हुन चाहेको थिएँ । त्यसका लागि तनहुँ जानुपर्ने थियो । मोटरसाइकलमा कलंकी, मातातीर्थ, थानकोट, चन्द्रागिरी हँुदै दमौली पुगेँ । दमौलीमा नि प्रहरी निगरानी भएकाले बाहिर निस्कने अवस्था रहेन र म महाधिवेशन प्रतिनिधि बन्न सकिनँ । त्यसको केही दिनमा मलाई प्रहरीले दमौलीबाट पक्राउ गर्‍यो । काठमाडाँैको प्रहरीले हामीलाई जसरी हेथ्र्यो, त्यहाँको प्रहरीले त्यो ढंगले बुझिसकेको रहेनछ, तीन दिनपछि छाड्यो । लुकिछिपी काठमाडाँै आएर प्रशासनलाई छल्दै सानोतिनो जुलुस, भाषण गर्दै थियौँ । करिब एक महिनापछि म पक्राउ परेँ । कमलपोखरी चौकीमा १२–१३ दिन राखेर मलाई भक्तपुरको बोडे लगियो । बोडेमा एक महिना राखेपछि सँगै पक्रेका धेरै साथी छुटे, तर म लगायत चार–पाँच जनालाई मंगलबजारको चौकीमा राखियो, असाध्यै अँध्यारो कस्टडीमा । मेरो बुवाले एक प्रहरी अधिृकतलाई भनेर मंगलबजारबाट जिल्ला प्रहरी राख्ने व्यवस्था मिलाउनुभयो । त्यहाँ जेपी गुप्ता, चिरञ्जीवीनिधि तिवारी, अर्जुननरसिंंह केसी लगायत हुनुहुन्थ्यो । पूर्वमन्त्री भएकाले केसीलाई छुट्टै राखिएको थियो भने हामीलाई छुट्टै । त्यहाँ एक महिनाजति बसेपछि मैले बन्दी प्रत्यक्षीकरणको रिट हालेँ । ललितपुर अदालतले रिहाइको आदेश दियो । अदालत परिसरबाट बाहिर निस्कनेबित्तिकै फेरि प्रहरीले समातेर लेलेमा लगेर राख्यो ।

Pradeep Poudel  (3)

यसरी कस्टडीमा बस्ने र बाहिर निस्कने क्रम चलिरह्यो । बाहिर निस्केका बेला आन्दोलन गथ्र्यौं, बाहिर विद्यार्थीहरू आन्दोलनरत थिए । असोज १८ को कदमदेखि नै हामी आन्दोलनरत थियौँ नै । 

विद्यार्थी संघको अधिवेशनमा हामीले गणतन्त्रलाई प्रस्टसँग उठाएका थियौँ । पछि हाम्रो नेतृत्व पनि गणतन्त्रसम्म आइपुग्यो । पहिले हाम्रो नेतृत्व कुनै न कुनै ढंगले राजतन्त्रको स्पेस क्रियट गर्न सकिन्छ कि भन्नेमा थियो । नेतृत्वले भन्दा पहिले नै कांग्रेसभित्रको पछिल्लो पुस्ताले गणतन्त्रलाई अँगालेर अगाडि बढ्यो ।

हामीले राजाको सान्दर्भिकताका बारेमा बहस चलायौँ । पाठ्यपुस्तकमा भएको राजपरिवारको फोटो च्यात्नेसम्मका गतिविधि गर्दा हामी भद्रगोल जेलमा पनि पुग्यौँ । यो देखेर कतिले भन्थे, अब तिमीहरूको जिन्दगी जेलमै सड्छ । सञ्चार माध्यममाथि प्रशासनको नियन्त्रण र निगरानी थियो । राष्ट्रिय दैनिकले आन्दोलनको पक्षमा समाचार लेख्छन् भनेर कार्यालयमै पुगेर खानतलासी गर्ने र तर्साउने गरिएको थियो ।

पछि टेलिफोन खुल्यो, तर हामीले पहिलेको नम्बर पाएनौँ । समाज निषेधित र नियन्त्रित बाटोतिर जान खोजेजस्तो देखिन्थ्यो । राजाले बनाएको सरकार, त्यो बेलाका मन्त्री, उनीहरूका अभिव्यक्तिले समाज त्रसित थियो । राजाले शाही आयोग बनाएर सबै नेतालाई विभिन्न ढंगले आरोपित गरेर जेल हाल्न खोजेका थिए । यी सबै क्रियाकलापले राजाले तानाशाही चरित्र देखाउँदै अघि बढ्न खोजेको आभास हुन्थ्यो ।

एकातिर माओवादीको ‘मुभमेन्ट’ थियो भने अर्कातिर राज्य आक्रामक हुँदै गएको थियो । राज्यका विरुद्ध सडकमा उत्रिन सामान्य थिएन । जबर्जस्त हामीले सडकमा सानोतिनो प्रदर्शन गर्दै गयौँ । त्यहीबेला राजाले स्थानीय चुनावको घोषणा गरे, दलहरूले त्यसलाई बहिष्कार गरेका थिए । त्यस चुनावमा हामी ठँहिटीको बुथमा छिर्‍यौँ र मतदान गर्न लाइनमा बसेका नागरिकलाई मतदान नगर्न आग्रह गर्‍यौँ । प्रहरीले हामीलाई लक्ष्य गरेर गोली चलायो । मेरो कानको छेउबाट गोली गएको थियो, म संयोगले बाँचे । 

आज कतिपयलाई लाग्छ– अहिलेको परिवर्तन त्यत्तिकै आएको हो । आजको व्यवस्थामा कमी–कमजोरी छन् । यद्यपि आज नागरिकलाई बोल्ने वातावरण छ । आम मानिसलाई राजनीतिमा आएर आफ्ना कुरा राख्ने परिस्थिति बनेको छ । यो खुलापन र स्वतन्त्रताको स्थिति बनाउन धेरै ठुलो कुर्बानी र बलिदानी छ । कतिपयले त्यो आन्दोलनलाई बिर्सिसके । त्यसपछि जन्मिएको नयाँ पुस्ता, जो आन्दोलनमा खासै सक्रिय हुँदैन र राजनीतिक इतिहासमा चासो राख्दैन, उसले सम्झने कुरै भएन । 

गणतन्त्रको आवाज

कांग्रेसभित्र नेविसंघको नेतृत्व गरिरहँदा हामीले नयाँ मुद्दाहरू ल्याउने कोसिस गथ्र्यौं । राजा वीरेन्द्रको अवसान र ज्ञानेन्द्रको उदयपछि उत्पन्न घटनाक्रमलाई ख्याल गरेर हामीले विभिन्न फोरममा गणतन्त्रको बहस सुरु गरेका थियौँ । हामीले गणतन्त्रको कुरा गर्दा कांग्रेसभित्रकै कतिपय मानिस जिब्रो काढ्थे । कतिपयले अचम्भित हुँदै भन्थे, कांग्रेस भएर यस्तो कुरा गर्ने ! 

Pradeep Poudel  (2)

बिस्तारै राजाले माघ १९ को कदम चाले । उनले निरंकुशताका आधार निर्माण गर्दै गए । उनले एक व्यक्तिको शासन स्थापित र नागरिकको स्वतन्त्रता हडप्न खोजेकोे पुष्टि गर्ने आधार एकपछि अर्को बन्दै गयो । त्यसपछि हामीले पार्टीमै खुला ढंगले गणतन्त्रको बहस थाल्यौँ । 

नेता नरहरि आचार्यले महाधिवेशनमै गणतन्त्रको मुद्दासहितको दस्तावेज अघि सारेर सभापतिमा प्रतिस्पर्धा गर्नुभयो । जसले कांग्रेसभित्र गणतन्त्रको जग बसाउन धेरै मद्दत गर्‍यो । पछि हामीले खुलेआम आफ्ना अभिव्यक्ति गणतन्त्रको पक्षमा प्रकट गर्न सक्यौँ । जसले हाम्रा समर्थक पनि बढ्दै गए । त्यसपछि गणतन्त्रकै कुरा बोकेर हिँड्ने सहयात्री साथीहरू पनि बनायाँै । देशभरका क्याम्पसमा राजतन्त्रको सान्दर्भिकता सकिएको बहस खुलेआम गर्न सहज थिएन । त्यो बेला माओवादीले उठाएको मुद्दा तिमीहरूले किन उठाएको पनि भनेर भनियो । हामीले भन्यौँ— माओवादीले उठाएको कुरा हामी स्विकार्छौं तर अहिले हामीले पनि उठाएका छौँ । हाम्रो लक्ष्य जे छ, वा जसरी हामीले नागरिकलाई स्वतन्त्र बनाउन चाहेको हो, त्यो अवस्था राजतन्त्रमा सम्भव छैन । गणतन्त्रमा मात्रै त्यो सम्भव हुन सक्छ र त्यो प्राप्तिको बाटो शान्तिपूर्ण हुनुपर्छ भन्ने हाम्रो ठम्म्याइ हो । 

विद्यार्थी संघको अधिवेशनमा हामीले गणतन्त्रलाई प्रस्टसँग उठाएका थियौँ । पछि हाम्रो नेतृत्व पनि गणतन्त्रसम्म आइपुग्यो । पहिले हाम्रो नेतृत्व कुनै न कुनै ढंगले राजतन्त्रको स्पेस क्रियट गर्न सकिन्छ कि भन्नेमा थियो । नेतृत्वले भन्दा पहिले नै कांग्रेसभित्रको पछिल्लो पुस्ताले गणतन्त्रलाई अँगालेर अगाडि बढ्यो ।

हिजो राणाले कौशीमा बसेर तँ सुब्बा भइस्, तँ खरदार भइस् भन्थे । आज त्यसरी भनिँदैन तर हुकुमले अवसर दिने स्थिति कायमै छ । त्यसकारण प्रवृत्तिगत पक्षबाट परिवर्तन भएको देखाउन सकिएन ।

आज कसैले गणतान्त्रिक शासन पद्धतिलाई भन्दा अरु कुनै शासन पद्धतिलाई उपयुक्त मान्छ र त्यस ढंगले वकालत गर्छ भने उसले नागरिक स्वतन्त्रताको उपयोग गर्न चाहन्न भनेर बुझ्नुपर्छ । अर्थात् उसले यो भनिरहेको छ— मलाई प्राप्त अधिकार म उपयोग गर्न सक्दिनँ, मैले मेरा प्रतिनिधि आफैँ छनोट गर्न सक्दिनँ । 

नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा त्रुटि भयो, सही प्रतिनिधि छनोट गर्न सकेन, त्यो चेतना विस्तार हुन सकेन, अरुअरु कुराले प्रभाव पार्‍यो भने अर्कै कुरा हो । राजनीतिक शासन व्यवस्था र पद्धतिसँग जोडेर हेर्दा नागरिकको प्रत्यक्ष संलग्नता गणतन्त्रमै हुन्छ । त्यसैले गणतन्त्र प्राप्तिको आन्दोलनमा सक्रियता, मुद्दाको अगुवाइ हामीले गर्‍यौँ, त्यसका निम्ति जेल गयौँ, जनतालाई बोध पनि गरायौँ ।

व्यवस्था र अवस्था

व्यवस्था परिवर्तन भयो, तर नागरिकले त्यसको अनुभूति गर्न सकेका छैनन् । सामन्तवादसँग मिल्दोजुल्दो प्रवृत्ति नेताहरूमा देखिएका कारण परिवर्तनको आभास जनताले गर्न नसकेका हुन् । नेतृत्वको प्रवृत्ति व्यक्तिको प्रधानतालाई स्थापित गर्ने खालको छ । 

देशको राजनीतिलाई शक्ति केन्द्रहरूले नियन्त्रण गर्ने अवस्था अहिले पनि छ । राज्य नियम, कानुन र विधिले चल्नुपर्छ । हामीले कानुनी शासन स्थापित गर्न गणतन्त्र ल्याएका हौँ, त्यसरी नै राज्यका संरचनाको संस्थागत विकास गर्न हामी चुक्यौँ । राजतन्त्रमा राज्यका सबै संरचना नारायणहिटीले चलाउँथ्यो । आज पनि राज्यका संरचना विभिन्न शक्ति केन्द्रले नै चलाउने स्थिति छ । 

शासन पद्धतिले सुनिश्चित गर्ने कुरा हो सुशासन । हिजो राणाले कौशीमा बसेर तँ सुब्बा भइस्, तँ खरदार भइस् भन्थे । आज त्यसरी भनिँदैन तर हुकुमले अवसर दिने स्थिति कायमै छ । त्यसकारण प्रवृत्तिगत पक्षबाट परिवर्तन भएको देखाउन सकिएन । यसको नकारात्मक असर राज्यका सबै पक्षमा परेर गयो । अनि मानिसले प्रश्न गर्ने थुप्रै ठाउँ बने । त्यसको उत्तर खोज्ने, झकझक्याउने, सच्चाउनका लागि दबाब सिर्जना गर्ने अवस्था पनि बनेन । प्रश्न उठ्दै गर्ने, आफ्नो काम गर्दै जानेजस्तो भयो । जसले उत्तरदायी, जवाफदेही र पारदर्शी राजनीतिक प्रणाली विकसित हुन सकेन । यद्यपि यी कुरा हामीले संवैधानिक व्यवस्था गरेका छौँ, अब त्यसबमोजिम कार्यान्वयन गरेर जानुपर्नेछ । 

(तत्कालीन नेविसंघका उपाध्यक्ष र हाल प्रतिनिधि सभा सदस्य पौडेलसँग फणीन्द्र नेपालले गरेको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप पौडेल
प्रदीप पौडेल
लेखकबाट थप