राजाको प्रत्यक्ष शासन कति कष्टकर हुन्छ भन्ने थाहा पाउन जनताले धेरैबेर कुर्नै परेन
०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिँदा म प्युठानको भृङ्गीमा थिएँ । एउटा टेलिभिजन कार्यक्रम निर्माणको सिलसिलामा म केही साथीहरू लिएर त्यहाँ पुगेको थिएँ । भोलिपल्ट कार्यक्रम आयोजना गर्नुपर्ने थियो । त्यसको तयारीमा व्यस्त थिएँ ।
त्यतिबेला राज्य पक्ष र तत्कालीन विद्रोही माओवादी पक्षबिच सशस्त्र द्वन्द्वको अवस्था थियो । जनता दुई वटा बन्दुकको चेपमा परेका थिए । त्यसैले शान्ति प्रक्रियामा जोड दिन म देशका विकट गाउँहरूमा पुगेर त्यहाँको अवस्था चित्रण गर्दै आफ्नो कार्यक्रम तयार पार्दथेँ । एक प्रकारले त्यो मेरो अभियान नै थियो ।
स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पेसाकर्मीहरूलाई म आफ्नो कार्यक्रममा सहभागी गराएर अन्तरक्रिया गर्दथेँ । त्यतिबेला द्वन्द्वरत पक्ष माओवादीका साथीहरूलाई पनि कार्यक्रममा सहभागी गराउँथे तर उनीहरूलाई सिधै माओवादी भनेर होइन कि स्वतन्त्र बुद्धिजीवीका रूपमा निम्त्याउँथे । किनकि माओवादीलाई त्यतिबेला राज्यले ‘आतङ्ककारी’ घोषणा गरेको थियो । त्यसैले स्वतन्त्र बुद्धिजीवी भन्दै निम्त्याएर माओवादीतिरका कुरालाई पनि कार्यक्रममा समेट्ने प्रयास गरेको थिएँ ।
सोही अनुरूप प्युठानमा कार्यक्रम सुरु गरेँ । ५०–६० जना सहभागी थिए । यत्तिकैमा जनमोर्चाका एक जना साथी (उहाँको नाम अहिले बिर्सिएँ) आएर मलाई ‘तपाईं यहाँ कार्यक्रम गर्दै हुनुहुन्छ, उता राजाले शासन आफ्नो हातमा लिइसके’ भनेर सुनाए ।
म झसङ्ग भएँ । तर तत्कालै आफूलाई सम्हालेर मैले कार्यक्रम अघि बढाउने निधो गरेँ । किनकि शासनसत्ता जसले लिए पनि मेरो कार्यक्रमको सान्दर्भिकता सकिएको थिएन । जनतालाई चाहिएको शान्ति हो, त्यो प्राप्त नहुन्जेल मेरो कार्यक्रमको औचित्य छँदै थियो । डेढ घण्टाजति समय खर्चिएर कार्यक्रम सकेँ ।
त्यसबिचमा मनमा अनेक कुरा आइरहेका थिए । काठमाडौँतिर के भइरहेको होला ? मुलुकको भविष्य अब के होला ? यस्ता कुरा मनमा खेलिरहे पनि म कार्यक्रममा सहभागीहरूलाई प्रश्न सोध्ने, उनीहरूको भोगाइ बुझ्ने र सरोकारवालासँग प्रतिक्रिया सोध्ने गरिरहेको थिएँ । सुरक्षाकर्मीबाट भएका ज्यादतीबारे जनताले अलिअलि कुरा निकाल्न खोज्थे, तर भोलि माओवादीको आरोप लगाएर राज्यले धरपकड गर्ने पो हो कि भन्ने चिन्ता पनि उनीहरूको अनुहारमा म देख्थेँ । उनीहरूमा ठुलो त्रास छ भन्ने प्रस्ट बुझिन्थ्यो ।
माघ १९ को शाही कदम तत्कालीन राजाले जनताको नाम लिएर जनतालाई नै दिएको चुनौती थियो । राजा वीरेन्द्रको वंश नाश भएपछि ज्ञानेन्द्र शाह राजा बने । त्यसअघि उनी व्यापारी थिए । उनमा राजकीय गुण र राजकीय सभ्यता थिएन । त्यसैले उनले निरंकुशतातिर कदम बढाए । माघ १९ मा राजाले जनतालाई चुनौती दिए । उनको त्यो चुनौती नै नेपालको इतिहासमा राजसंस्थाको अन्त्य र गणतन्त्रको बीजारोपण थियो ।
कार्यक्रम सकेर हामी त्यहाँबाट फर्कियौँ । सुविधा सम्पन्न ठाउँमा पुगेपछि राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमबारे केही थाहा हुन्छ कि भन्ने लाग्यो । त्यसपछि हामी भालुवाङ आयौँ । सुरक्षाकर्मीलाई पनि के भइरहेको छ भन्ने पत्तो थिएन । टेलिफोन चल्दैन, कसैसँग सम्पर्क हुन पाएको छैन । कुहिरोको कागजस्तै भएर बुटवल आयौँ । त्यहाँ पनि सबैतिर बन्द छ । कतै बस्ने ठाउँ पाएनौँ । केही साथीहरूसँग भेट भयो, शाही कदमबारे उनीहरूले थाहा पाएसम्मको सुनाए ।
बाटोमा धेरै अलमल गर्नु ठिक छैन भनेर हामी त्यहाँबाट काठमाडौँ नै जाने भनेर हिँड्यौँ । बाटोमा ठाउँ ठाउँमा सेनाको टोली भेटिन्थ्यो । प्रहरीको बाक्लो उपस्थिति थियो । कतै घोषित कर्फ्यु, कतै अघोषित । जसोतसो हामी कुरिनटार पुग्यौँ । तर त्यहाँबाट काठमाडौँ जान सक्ने अवस्था रहेन ।
कुरिनटारमा मैले चिनेका केटाहरू थिए । उनीहरूलाई बस्ने ठाउँको व्यवस्था मिलाउन भन्यौँ । हामी त्यहाँ चार दिनसम्म बस्यौँ । अब कति बस्ने ? आफूसँग भएको पैसा पनि सकिन लाग्यो । त्यसपछि काठमाडौँ जाने दुस्साहस ग¥यौँ । ठाउँ ठाउँमा चेकिङ थियो । यात्रुलाई ओरालेर सुरक्षाकर्मीले चेकजाँच गर्दथे । चेकजाँचमा सुरक्षा निकायका आलोकाँचो केटाहरूलाई खटाइएको थियो । नागरिकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्नेसम्म ज्ञान थिएन उनीहरूमा । सबै यात्रुको खानतलासी हुन्थ्यो । उनीहरु निकै रुखो बोल्थे, कतिपयलाई त अपशब्द पनि प्रयोग गर्दथे । राजाले शासनसत्ता हातमा लिनासाथ देशमा कस्तो परिवर्तन भयो र आफ्नो स्वतन्त्रता कति खोसियो भनेर जनताले प्रत्यक्ष अनुभूति गर्न पाए । राजाको प्रत्यक्ष शासन कति कष्टकर हुन्छ भन्ने थाहा पाउन जनताले धेरैबेर कुर्नै परेन ।
मैले यस्ता प्रकृतिका घटना पहिला पनि झेलेको थिएँ । पञ्चायतको बेलामा पिस्कर घटनाको रिपोटिङ गर्न जाँदा मलाई सिपाहीहरूले आतङ्कित तुल्याएका थिए । यस्ता अनुभव मसँग नभएको होइन तर माघ १९ पछिको अवस्था एउटा दृष्टिले भने निकै फरक थियो, त्यो हो नेपाली सेना परिचालन । माघ १९ पछि सुरक्षा चेकजाँच होस्, गस्ती, खानतलासीमा सेना पनि संलग्न थियो । तर त्यसअघि जनताले सेना यसरी संलग्न भएको देखेका थिएनन् । सेनाले गर्ने व्यवहार, उसको अधिकार र भूमिकाबारे कसैलाई केही थाहा थिएन । त्यसैले जनतामा त्रास बढेको थियो । प्रहरीले समात्यो भने जेल हाल्छ भन्नेसम्मको अनुमान मानिसले गर्न सक्थे तर सेनाले लग्यो भने के गर्ला भन्नेबारे अनुमान गर्न सक्ने अवस्था सर्वसाधारणमा थिएन ।
म आफैँ पनि ‘नरो वा कुञ्जरो अश्वत्थामा हतो हत’ भनेजस्तै थिएँ । के हो, के हो भन्ने भयो । मुलुकमा के भइरहेको छ भन्ने थाहा भएन । मसँग भएका क्यामेराम्यान, सहयोगी केटाहरू डराइरहेका थिए । उनीहरूलाई म हौसला दिइरहेको थिएँ । जसोतसो काठमाडौँ पुग्यौँ ।
दिन बित्दै गयो । परिवर्तित परिस्थितिका बिच सञ्चारकर्मीले आफ्नो भूमिका निर्वाह गरिरहेका थिए । मिडियाको न्यूज रुममा पनि सुरक्षाकर्मीले रुखो हस्तक्षेप गर्दथे । सुरक्षाकर्मीहरू प्रत्यक्ष आएर हस्तक्षेप गर्नुका साथै छद्मभेषी पत्रकार आएर गलत सूचना प्रवाहका लागि दबाब दिएको पनि अनुभव मसँग छ ।
मेरो सम्पादकीय नेतृत्वमा रहेका साथीहरूलाई सकेसम्म प्रतिकुलताबाट जोगाउन भूमिका निर्वाह गरेँ, कति ठाउँमा म आफैँ अगाडि उभिएर प्रतिवाद गर्दथेँ । दुःख पाएर, अन्याय सहेर थेत्तरो भइसकेको कारण मलाई यस्ता कुरा नौलो लागिरहेको थिएन । आफ्नो टिममा रहेका पत्रकार साथीहरूलाई सम्पादकले संरक्षण गर्नुपर्छ भन्नेमा म प्रस्ट थिएँ ।
मेरो अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै थियो । अमेरिकाको विश्वविद्यालयमा पढेको, नेपाल पत्रकार महासंघको नेतृत्व गरिसकेका कारण पनि विभिन्न मुलुकका साथीहरूसँग मेरो सम्बन्ध थियो र छ । माघ १९ को शाही घोषणापछि नेपालमा अब के हुन्छ भनेर मलाई विदेशका धेरै साथीले जिज्ञासा राखे । कतिपयले समाचार प्रयोजनका लागि सोधेका थिए भने कतिपयले जिज्ञासा मेट्नका लागि सोधेका थिए । ती सबैलाई म यहाँको वास्तविकता बताइदिन्थेँ । आफूलाई लागेका कुरा उनीहरूलाई भन्थेँ ।
माघ १९ को शाही कदम तत्कालीन राजाले जनताको नाम लिएर जनतालाई नै दिएको चुनौती थियो । राजा वीरेन्द्रको वंश नाश भएपछि ज्ञानेन्द्र शाह राजा बने । त्यसअघि उनी व्यापारी थिए । उनमा राजकीय गुण र राजकीय सभ्यता थिएन । त्यसैले उनले निरंकुशतातिर कदम बढाए । माघ १९ मा राजाले जनतालाई चुनौती दिए । उनको त्यो चुनौती नै नेपालको इतिहासमा राजसंस्थाको अन्त्य र गणतन्त्रको बीजारोपण थियो ।
(सुदर्शन आचार्यसँगको कुराकानीमा आधारित)