अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट परिमार्जनसहित पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको समिति सभापति रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
सभापति खतिवडाले भने,‘राष्ट्रिय सभाबाट आएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयकका केही बुँदामा परिमार्जनसहित पारित गरेका छौँ । पर्सीपनि समितिमा यसबारे केही छलफल हुन्छ । माघ २२ गते सदनमा पेस गर्छौँ ।’
२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ सालमा पारित भएर प्रतिनिधि सभामा सन्देशसहित आएको थियो । संघीय सरकारले कार्यान्वयन गर्ने संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।