बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन

बिहीबार, १८ माघ २०८०, १७ : १२
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समयदेखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्थामा छन् । खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् । 

मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने कारणसहित कडा ढङ्गले विभागसामु प्रस्तुत भएका मन्त्री भुसालले भने, ‘तेस्राेपटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस् । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्नेछ । चलाउन नसके हात उठाऔँ, अर्को व्यवस्था हुन्छ, नत्र जसरी हुन्छ चलाऔं । राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन ।’ 

मन्त्री भुसालले चलाउन नसक्ने भए किन चलाउन नसकिने भन्ने आधार प्रस्तुत गर्न समेत निर्देशन दिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गत वर्ष पनि मन्त्री भुसालले विभागको समीक्षा गोष्ठीमा मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन निर्देशनमै सीमित भयो । पटक–पटक भ्यान सञ्चालनका लागि मौखिक निर्देशन दिए पनि भ्यान सञ्चालनको सुरु नदेखिएपछि बिहीबार पुनः मन्त्री भुसालले निर्देशन दिएका हुन् ।

शुक्रवार मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक सहितको छलफल आह्वान भएको छ । उक्त छलफल मोबाइल भ्यान सञ्चालन केन्द्रित रहने जनाइएको छ ।

यस्तै मन्त्री भुसालले विभागले सम्पादन गरेको काम प्रति त्यति धेरै सन्तुष्ट नभएको बताए । समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा मन्त्री भुसालको जोड छ ।

साथै उनले प्रगति विवरण अर्धवार्षिक रूपमा नभएर मासिक रूपमा सार्वजनिक गर्न निर्देशन दिए । अब अर्धवार्षिक रूपमा कामको विवरण पेश गरेर हुँदैन । 

‘विभागभित्र प्रगति पेश गरेर जनताले सुन्दैनन्, मन्त्री भुसालले निर्देशन दिँदै भने,’ ‘अब मासिक रूपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप