शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : लगातार नौ खेल जित्दै पुलिस फाइनलमा, सुदूरपश्चिलाई ७८ रनले हरायो

बिहीबार, १८ माघ २०८०, १६ : ०८
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराएको छ । जारी प्रतियोगितामा हालसम्म एक खेल पनि नहारी पुलिस क्लब फाइनलमा पुगेको हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको पुलिस क्लबले ४७.५ ओभरमा अलआउट हुनुअघि एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।

खराब मौसमका कारण निर्धारित समयभन्दा केही ढिलो सुरु भएकाले खेल ४९–४९ ओभरमा झारिएको थियो । सुदूरपश्चिम प्रदेशका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर गजेन्द्र बोहराले ३० रन बनाए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरण ठगुन्नाले २४ रन जोडे । नरेश साउद २४ रनमा अविजित रहे । विकास अग्रीले टोलीको खातामा १३ रन थपे । पुलिस क्लबका बलर दीपेन्द्रसिंह ऐरी एक्लैले सात विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल २० रन खर्चिए ।

दीपेन्द्र जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । यसअघि सातजना बलरले एउटै खेलमा ६ विकेट लिएका छन् । ललित भण्डारी, ललित राजवंशी र सागर ढकालले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि दुबै ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पुलिस क्लबका लागि शंकर राणाले ४६ रनको योगदान गरेका थिए । उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि ४४ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले ३८ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएका थिए । अर्जुन साउदले पनि टोलीको खातामा ३२ रन थपे । उनले लामो समय क्रिजमा टिकेर ६४ बलको सामना गरी चार चौका हिर्काए ।

आरिफ शेखले २६ रन बनाए । उनले ३५ बलमा तीन चौका हिर्काए । पुलिस क्लबका ओपनर ब्याट्सम्यान दिलिप नाथ ६ र कुशल भुर्तेल पाँच रन बनाउँदै आउट भएका थिए । रासिद खान पनि सात रन बनाउँदै पेभेलियन फर्किए । करण केसी चार रनमा आउट भए ।   

ललित राजवंशीले एक रन बनाए । सागर ढकालले आठ रनमा अविजित रहे । ललित भण्डारीले सात रन जोडे । पुलिस क्लबले अतिरिक्त रुपमा १२ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले तीन विकेट लिए । मिलन बोहरा, विकास अग्री र नारायण जोशीले दुई–दुई विकेट लिए । दीपक चन्दले पनि एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप