मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

लिभरपुलका डार्विन नुनेजले तोडे प्रिमियर लिगमा ‘उडवर्क’ को कीर्तिमान

बिहीबार, १८ माघ २०८०, १० : ३४
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । लिभरपुलका स्ट्राइकर डार्विन नुनेजले इङ्लिस प्रिमियर लिगमा ‘उडवर्क’ को कीर्तिमान तोडेका छन् । २४ वर्षीय नुनेज प्रिमियर लिगको इतिहासमा एउटै खेलमा चारपटक ‘उडवर्क’ प्रहार गर्ने एकमात्र खेलाडी बनेका छन् ।

फुटबल खेलमा कुनै पनि खेलाडीले गरेको प्रहार गोल पोष्टको क्रसबार वा दाया–बायाँको पोलमा गएर ठोक्किएको अवस्थालाई ‘उडवर्क’ भनिन्छ । अर्थात, कुनै पनि खेलाडीले गरेको प्रहार थोरै अन्तरले गोलमा परिणत हुनबाट जोगिएको अवस्था ।

उरुग्वेको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका नुनेजले बुधबार राति सम्पन्न चेल्सीविरुद्धको खेलमा चारपटक ‘उडवर्क’ प्रहार गरेका थिए । उनले चारपटक गरेको कलात्मक प्रहार गोल पोष्टमा ठोक्किएको थियो ।

यद्दपि, उक्त खेलमा नुनेजको टोली लिभरपुलले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । लिभरपुललाई महत्वपूर्ण जित दिलाउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुइस डियाजले एक–एक गोल गरेका थिए ।

इङ्लिस प्रिमियर लिगमा सन् २००२ देखि ‘उडवर्क’ को तथ्याङ्क राख्न थालिएको हो । त्यसयता कुनै पनि खेलाडीले एउटै खेलमा चारपटक ‘उडवर्क’ प्रहार गरेका थिएनन् । चेल्सीविरुद्धको खेलका क्रममा नुनेजको चारवटा प्रहार पोष्टमा ठोक्किए पनि उनले उपलब्ध गराएको एउटा पास भने गोलमा परिणत भएको थियो । उनले लुइस डियाजलाई गोलका लागि पास उपलब्ध गराएका थिए ।

चेल्सीविरुद्धको जितसँगै तालिकाको शीर्ष स्थानमा आसिन लिभरपुलले आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग पुनः पाँच अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५१ अंक बटुलेको छ । तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीको २१ खेलबाट ४६ अंक छ ।

नुनेजभन्दा अगाडि प्रिमियर लिगको एउटै खेलमा चारजना खेलाडीले तीन–तीनपटक ‘उडवर्क’ प्रहार गरेका छन् । यसअघि जे जे ओकोचा, क्रिस्टियानो रोनाल्डो, टिमो वेर्नर र लिएन्ड्रो ट्रोसार्डले एउटै खेलमा तीन–तीनपटक ‘उडवर्क’ प्रहार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप