नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ को मृत्यु

कानो । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको उक्त क्षेत्रमा काम गर्ने दुई गैरसरकारी सङ्गठन (एनजिओ) ले बुधबार बताएका छन् ।
काठ जम्मा गर्नेहरू दाउरा सङ्कलन गर्न झाडीतिर जाँदै गर्दै सोमबार उनीहरूले लगेको फ्ल्याट–बेड सवारी पुल्का गाउँबाहिरको राजमार्गमा बोको हराम जिहादीहरूले लगाएको खाडलमा पल्टिएको एनजिओले दुई रिपोर्टमा भनेका छन् ।
उत्तरपूर्वी नाइजेरिया एक दशकभन्दा लामो समयदेखि जिहादी विद्रोहको केन्द्रमा छ । यहाँ आतङ्कवादीहरूलाई द्वन्द्वको चरमोत्कर्षमा नियन्त्रित भूमिको ठूलो हिस्साबाट पछाडि धकेले पनि उनीहरूले अहिले पनि ग्रामीण क्षेत्रहरूलाई निशाना बनाउँछन् ।
एक रिपोर्टमा भनिएको छ, “बोको हराम हुनसक्ने आशङ्का गरिएका मानिसहरूले विस्फोटक पदार्थ राखेका थिए र पुल्काबाट ग्वोजा मार्गमा १२ जनाको हत्या गरेका छन्, दुई जना घाइते भएका छन् ।” अर्को रिपोर्टअनुसार मृतकको सङ्ख्या समान भएको र अन्य सात जना दाउरे घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि मैदुगुरी लगिएको छ ।
नाइजेरियाली सुरक्षा बलले विस्फोटको पुष्टि गर्न अनुरोध गर्दा जवाफ दिएको छैन । हालैका दिनमा सर्वसाधारणलाई निशाना बनाइने बारुदी सुरुङ विस्फोटका घटना बढेका छन् । उक्त विस्फोट जिहादीहरूले गराएको आरोप लगाइएको छ ।
बोको हरामले सन् २०१४ मा ग्वोजामाथि कब्जा गर्दै आफ्नो कथित खलिफाको मुख्यालय बनाएको थियो । सन् २०१५ मार्चमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो तर जिहादीहरूले अहिले पनि क्यामरुनको सिमानामा पहाडहरूमा लुकेका स्थानहरूबाट वरपरका गाउँहरूमा आक्रमण गर्छन् । यस क्षेत्रका बासिन्दाहरू ग्वोजा र नजिकको पुल्कामा भागेका छन् । त्यहाँ उनीहरू सैन्य सुरक्षाअन्तर्गत शिविरहरूमा बस्छन् ।
झाडीहरूमा जाने बासिन्दा विशेषगरी बबुलको फल र जलेका काठ सङ्कलन गर्ने महिलाहरूको हत्या वा अपहरण गर्नबाट आतङ्ककारीहरूलाई रोक्न सेनाले क्षेत्रमा गस्तीहरू सञ्चालन गर्छन् ।
बोको हराम र प्रतिद्वन्द्वी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तमा दाउरे, किसान र गोठालाहरूलाई निशाना बनाउनेका रूपमा परिचित छन् । दुवै आतङ्ककारी समूहले उनीहरूलाई सेना र जिहादी विरोधी मिलिसियाका लागि जासुसी गरेको आरोप लगाउँछन् ।
सन् २००९ मा कट्टरपन्थी इस्लामिक समूहले विद्रोह सुरु गरेपछि कम्तीमा ४० हजार मानिस मारिएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन् । विद्रोह छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनमा फैलिएको छ । त्यसैले आतङ्कवादीहरूसँग लड्नका लागि क्षेत्रीय सैन्य बलको निर्माण भएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म