ट्याक्सी चालक र हर्कराजलाई छाडेकोमा जाँचबुझ आयोगको ‘चासो’

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन रिसिभ गर्न आएका हर्कराज राई र ट्याक्सी चालक अशोक लामालाई छाडेर पुनः पक्राउ गरेकोबारे जाँचबुझ आयोगले गम्भीर ‘चासो’ राखेको छ ।
सुन तस्करी जाँचबुझ आयाेगका पदाधिकारीले त्यसबारे राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग सोधपुछ गरेका छन् । साउन २ मा सुन बरामद गरेर विभागका अधिकारीहरुले सुन रिसिभ गर्न आएका हर्कराज राई र ट्याक्सी चालक अशोक लामालाई छाडेका हुन । त्यसदिन सुनसहितको ट्याक्सी पुल्चोकस्थित विभागको कार्यालयमा लगेर राखिएको थियो ।
भोलिपल्ट ट्याक्सी चालकलाई विभागका अधिकारीले फोन गरेर बोलाए । तर, हर्कराज राई नगएपछि महानिर्देशक ढुंगानाले उनलाई पक्राउ गरिदिन प्रहरी महानिरिक्षक बसन्त कुँवरलाई आग्रह गरेका थिए । आईजीपले आफू मातहतको ‘विशेष टिम’ परिचालन गरेर ३ गते मध्यराति पक्राउ गरेर राजस्वको जिम्मा लगाएका हुन् ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–४ घर भएका हर्कराज राई सुन तस्करसँग लामो समयदेखि ‘कनेक्सन’मा रहेको सिआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । बा.२ च २३२४ नम्बरको ट्याक्सिका चालक अशोक लामालाई विभागका अनुसन्धान अधिकृतहरुले साउन ३ मा पुल्चोकस्थित कार्यालयमा बोलाएका हुन् ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगाना र अनुसन्धानमा संलग्न सन्तोष पौडेलसँग सोधपुछ गरेका हुन् । आयोगका पदाधिकारीहरुले राजस्वका अधिकारीहरुलाई प्रश्न गरेका छन्,‘ट्याक्सीलाई किन पिछा गर्नुभएन, चालक र रिसिभरलाई किन छाड्नुभयो ?’
जवाफमा महानिर्देशक ढुंगानाले ट्राफिकको संख्या धेरै भएको हुनाले ‘उम्कन सक्ने’ कारण ट्याक्सीलाई पिछा नगरेर भन्सार कार्यालयको गेट बाहिरबाट नियन्त्रणमा लिएको बताएका छन् । सुन तस्करले ट्याक्सी नियन्त्रणमा लिएको थाहा पाएपछि बालुवाटार, बूढानिलकण्ठ र सोह्रखुट्टे जस्ता गोदामबाट रातभर सामान अन्यत्र सारेको हुनसक्ने आयोगका पदाधिकारीले आशंका व्यक्त गरेका छन् । त्यसबारे महानिर्देशक ढुंगानाले अनभिज्ञता प्रकट गरेका छन् ।
आयोगका पदाधिकारीले परिपक्व सुराक भएको अवस्थामा तस्करीको सुन किन विमानस्थल भित्र नै पक्राउ नगरेको भनेर प्रश्न गरेका छन् । ढुंगानाले त्यसबारे अर्को कार्यालयको क्षेत्र परेको हुनाले बरामद नगरिएको आयोगका पदाधिकारीलाई बताएका छन् ।
‘सुराक’ कहाँबाट आएको भन्ने जिज्ञासामा महानिर्देशक ढुंगानाले भनेका छन्,‘माथिबाट पनि हुनसक्छ, व्यापारीबाट पनि आउँछ ।’ तर, उनले सुराकीको विवरण गोप्य राख्नुपर्ने भन्दै सुराक दिनेको विवरण दिन अस्वीकार गरेका छन् ।
हर्कराज र तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग गहिरो ‘कनेक्सन’ भेटिएको छ । हर्कराजले प्रति खेपको १५ हजार लिएर मासिक ४ पटकसम्म तस्करीको सुन एयरपोर्टबाट गोदामसम्म ओसार्ने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
पछि, हर्कराजको बयानको आधारमा थाप्तेन पक्राउ परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?
-
सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
-
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल
-
प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छः महतो
-
१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च