वाम एकताका लागि चिनियाँहरूको शुभेच्छा कि दबाब ?
काठमाडौँ । नेपालमा कम्युनिस्ट शक्तिहरूबिच वाम एकता गराउने प्रयास भइरहेको चर्चा बेलाबेलामा हुने गरेको छ । सो प्रयासमा चीनको महत्त्वपूर्ण भूमिका रहने गरेको दाबी गरिन्छ । पछिल्लो समय पनि नेपालका कम्युनिस्ट पार्टीहरूबिच एकताका लागि चिनियाँ कम्युनिस्ट पार्टीले प्रयास गरिरहेको र त्यसैका लागि चिनियाँ नेताहरूको नेपाल भ्रमण बाक्लिएको बताइएको छ ।
२०७५ सालमा नेकपा माओवादी र नेकपा एमाले मिलेर नेकपा बनाएपछि चीनको खुब चर्चा भएको थियो । सो एकता गराउनमा चीनको महत्त्वपूर्ण भूमिका रहेको सार्वजनिक रूपमै चर्चा हुने गरेको छ । तर त्यो एकता लामो समय टिक्न सकेन र तीन वर्ष नपुग्दै भङ्ग हुन पुग्यो । यसका बाबजुद चीनले वाम एकताका लागि अझै पनि आफ्नो प्रयास नछाडेको जानकारहरूको भनाई छ ।
पछिल्लो समय पुस र माघमा भएको चिनियाँ कम्युनिस्ट पार्टीका उच्च स्तरीय भ्रमणले पनि त्यही कुराको सङ्केत गरेको उनीहरूको बुझाई छ । पुस १९ गते नेकपा (एकीकृत समाजवादी) को निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तीय कमिटीका उपसचिव सी युगाङको नेतृत्वमा आएका टोलीले नेपालका कम्युनिस्ट नेताहरूलाई भेटेर वाम एकताका लागि सुझाव दिएका थिए ।
माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायान नेतृत्वको प्रतिनिधिमण्डलले पनि नेपालका कम्युनिस्ट नेताहरूलाई छुट्टाछुट्टै भेटेर वाम एकताका लागि सुझाव दिएको स्रोतले दाबी गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको प्रयासका कारण कहिलेकाहीँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिक देखिन्छन् । वाम गठबन्धनका लागि आफूले प्रयास थालेको धारणा प्रधानमन्त्री समेत रहेका प्रचण्डबाट नै आइरहेको हुन्छ । त्यसैको नतिजा हो, समाजवादी मोर्चा ।
तर विदेश मामिलामा दख्खल राख्ने एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘कसैले भन्दैमा वाम गठबन्धन हुन्छ वा हुँदैन भने होइन वाम गठबन्धनका लागि आन्तरिक तत्त्व प्रधान हो । चिनियाँ कम्युनिस्ट पार्टीसँग झण्डा मिल्छ, विचार मिल्छ, चुनाव चिन्ह मिल्छ भन्दैमा उसले भनेको आधारमा एकता गर्ने वा नगर्ने भन्ने हुँदैन ।’ चीनले त्यस्तो भन्ने पनि नगरेको उनले दाबी गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीले प्रारम्भदेखि नै कुनै पनि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएको बताउँदै उनले उनीहरू नेपाल भ्रमणमा आउँदा दुई देश, दुई पार्टीको हितको विषयमा कुराकानी गर्ने गरेको बताए । उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू नेपाल आउँदा कम्युनिस्ट पार्टीका नेताहरूसँग मात्र होइन, कांग्रेस, रास्वपालगायतका दलका नेताहरूसँग पनि भेट्ने गरेका छन् । त्यसैले वाम एकताका लागि कम्युनिस्ट पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीले दबाब दिने गरेको कुरा नै गलत हो ।’
विचार, सिद्धान्त मिलेको कारण भावनात्मक रूपमा शुभेच्छा राख्नु एउटा कुरा हो तर नीतिगत रूपमै कुनै दललाई एकताका लागि चीनले दबाब वा सुझाव नदिएको उनले बताए । उनले भने, ‘पुरानो सम्बन्ध भएको कारणले शुभेच्छा राख्नु स्वाभाविक हो तर नीतिगत रूपमा कसैले कसैलाई एकता वा गठबन्धनका लागि दबाब दिँदैन र दिनु पनि हुँदैन ।’
त्यस्तै धारणा नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालको रहेको छ । उनले पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले वाम एकताका लागि कहिले दबाब नदिएको दाबी गरे । तर उनले भने, ‘नजिकको पार्टी र पुरानो सम्बन्धका कारण एकताका लागि शुभेच्छा राख्नु बेग्लै कुरा हो । त्यो नेपालका लागि मात्र होइन विश्वकै कम्युनिस्टका लागि लागु हुन्छ ।’
आफू वाम एकताको पक्षमा रहेको तर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट्दा कहिले पनि एकताका लागि दबाब नदिएको दाबी गर्दै उनले केही दिनअघि उपमन्त्री सुन हायानसँग भेट्दा पनि यो विषयमा कुनै छलफल नभएको दाबी गरे ।
यद्यपि गत जेठमा चीन भ्रमण गएका बेला माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटासँग चीनका लागि रातोपाटी संवाददाता भरत शर्माले राखेको एक जिज्ञासामा भनेका थिए, ‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालका वामपन्थी राजनीतिक दलहरू एक हुनुपर्छ भनेर सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्ट पार्टीबिच एकता हुनुपर्छ भन्ने मान्यता राख्नु स्वाभाविक पनि हो ।’
चीन आउनुभन्दा पहिले नै आफूहरूले नेपालमा समाजवादी मोर्चा बनाउने, कम्युनिस्ट विचार र सिद्धान्तमा नजिकिएकासँग छलफल चलाउने, मुलुकका कम्युनिस्ट पार्टीहरूसँग एकता जरुरी छ भन्ने पहिले नै महसुस गरेको कुरा भएको कुरा पनि उनले भनेका थिए ।
यसबिचमा नेकपा एमालेका शीर्ष नेता, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत अन्य शीर्ष नेताहरूले चीनको भ्रमण गरेका छन् । माओवादी केन्द्रबाट पनि उच्च स्तरीय भ्रमण भएका छन् ती सबै भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीको एउटै सुझाव नेपालका कम्युनिस्टहरू एक होस् भन्ने रहेको छ ।
एमाले र माओवादी केन्द्र बीच एकताका लागि २०७४ फागुनमा सात बुँदे समझदारी भएपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता कुअ यचौ आएका थिए । त्यसपछि एकता नै घोषणा भएको थियो । जानकारहरूका अनुसार माओवादी र एमाले बिचको एकताका सूत्रधार यचौलाई मानिन्छ । त्यसपछि उनी पटक पटक नेपाल भ्रमणमा आएका थिए । नेकपामा खटपट हुँदा पनि उनी नेपाल भ्रमणमा आएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर कम्युनिस्ट पार्टीका सबै शीर्ष नेताहरूलाई भेटेका थिए ।
गत साउनमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले पनि नेपाल भ्रमण गरेका थिए । उनले त्यतिबेला माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग भेट्न पाएका थिएनन् । श्रीलंका हुँदै नेपाल आएका उनी तीन दिनसम्म विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेर वाम एकताका लागि सुझाव दिएको भन्ने कुरा त्यतिबेला पनि चर्चाको विषय बनेको थियो । त्यसअघि सन् २०२२ चिनियाँ कम्युनिस्ट पार्टीको तत्कालीन अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानछाओले भ्रमण गरेका थिए ।
उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर कम्युनिस्ट पार्टीका नेताहरूलाई छुट्टा छुट्टै भेटेका थिए । यहाँसम्म कि त्यतिबेला नेमकिपाका नेताहरूलाई पनि उनले भेटेका थिए ।
त्यसपछि पनि पटक पटक नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको भ्रमण भएको छ । नेपालका कम्युनिस्ट नेताहरूले पनि चीन भ्रमण गरेको छ । हरेक भ्रमणमा कम्युनिस्ट एकताको चर्चा हुने गरेको छ ।
यसअघि समाचारमा रिजाल हुनुपर्नेमा रिमाल भएकाले सच्याइएको छ-सं.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन