सीताले कहिले न्याय पाउने ?
२२ जनवरीको दिन अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भयो । त्यो भारत र नेपालमा मात्र होइन, विश्वभरि छरिएर रहेका करोडौँ हिन्दुका लागि ठुलो खुसी र गौरवको विषय बन्यो । त्यो राम मन्दिर बन्नलाई रामभक्तहरूले पाँच सय वर्ष सङ्घर्ष गर्नुप¥यो । पिताको वंश तेमुरलेनको र माताको वंश सम्बन्ध चेङ्गिज खानसँग भएका उज्बेकिस्तानमा जन्मी दिल्लीका लोदी बादशाहलाई हराएर सुल्तान बनेका बाबरले सन् १५२८ मा राम जन्मस्थलमा राम मन्दिर तोडेर बाबरी मस्जिद बनाएका थिए ।
हिन्दुको पवित्र स्थल अयोध्यामा राम मन्दिरको पुनर्निर्माणका लागि पाँच शताब्दी लामो सङ्घर्ष चल्यो । त्यो सङ्घर्षमा हजारौँ मानिस मारिए, अनेकौँ सङ्घर्ष र मुद्दा–मामिला चले, तर भारतको सर्वोच्च अदालतले सबै प्रमाण हेरी त्यो स्थल हिन्दु ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णयले खोलिदिएको मार्गले अयोध्यामा राम मन्दिर बन्न सम्भव भयो । यसरी त्रेता युगमा कैकेयीको मागबमोजिम १४ वर्ष वनवास पठाइएका रामलाई बाबरले कलियुगमा पाँच सय वर्ष सुकुमबासी बनाए र २२ जनवरीका दिन उनै रामको राम लल्लाका रूपमा गृह प्रवेश भयो । विवेकशील भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुझबुझ र सनातन धर्मप्रति आस्थाका कारण यो सम्भव भएको हो, नत्र यो कार्य पूरा हुन अझै कति वर्ष लाग्न सक्थ्यो, त्यसको अन्दाज गर्न गाह्रो छ । सन् १८८५ देखि नै रामजन्मभूमि तथा बाबरी मस्जिदको यो मुद्दा अदालतमा करिब डेढ सय वर्ष चल्यो, तर अनन्तः रामलाई न्याय मिल्यो ।
सीता अझै पनि अन्यायमै छिन् । सीताले रामको राज्याभिषेक हुनासाथै १४ वर्षका लागि वनवास जानुप¥यो । सीता पतिलाई छाडेर दरबारमै बस्न मानिनन् । रामका तीनै भाइ लक्ष्मण, भरत र शत्रुघ्नको सीताकी काकाकी तीन पुत्रीसँग विवाह भएको थियो । रामले सीतालाई आफूसँगै वनवास नजान सम्झाए तर सीता मानिनन् र रामसँगै वनवास गइन् । १४ वर्षको वनवास कति कष्टप्रद होला, त्यो हामीले कल्पना गर्न सक्दैनौँ । रामायणमाथि बनेको चलचित्र, टीभी सिरियलहरूमा आनन्दसँग राम र सीता जंगलमा विचरण गरिरहेको देखाइएजस्तो पक्कै थिएन । कुनै गाउँमा आश्रय लिनु वनवासको सर्तको उल्लङ्घन मानिन्थ्यो । जंगलमा प्रवासको जीवन एक दुःखद अनुभव हो । कीराहरूको प्रकोप र हिंसक जनावरबाट बच्नु, भोजन पानीको उचित बन्दोबस्त गर्नु, रोग र संक्रमणबाट जोगिनु, घुमन्ते जीवनलाई स्वीकार गरी मनमा सन्तुष्ट हुनु कठिन कुरा हो । हामी नै जब हप्ता दुई हप्ताका लागि कतै पद यात्रामा जान्छौँ, हाम्रो शरीर त्यही अवस्थामा हुँदैन, थकानले अनुहारलाई बिगारिसकेको हुन्छ र शरीर एक स्थिर विश्रान्त अवस्थामा फर्किन चाहन्छ । सीताले वनवासको सबै दुःख पतिसँग वरण गरिन् । वनबासकै कठिन समयमा रावणबाट अपहरणको अपमान पनि सहनुप¥यो । जति दबाब र प्रलोभन दिए पनि उनले रावणको प्रस्तावलाई स्वीकार गरिनन् र अशोकवाटिकामा रूखमुनि बसेर आफ्नो सतित्वको रक्षा गरिन् । त्यो उनको संकल्प शक्तिको विजय हो । वनबासबाट फर्किसकेपछि पनि उनी दरबारमा सुखपूर्वक बस्न सकिनन् । उनले आफ्नो सतित्वको अग्निपरीक्षा पनि दिनुप¥यो ।
सीताले गर्भवतीकै संवेदनशील अवस्थामै राजदरबारबाट निष्कासनको अपमान पनि सहनुप¥यो । लोकमतको रक्षाको नाममा उनलाई पुनः वनैमा निष्कासित गरियो । नेपालमै जन्मेकी सीतालाई गर्भवती अवस्थाकै जटिल समयमा फेरि नेपालकै वाल्मीकि आश्रममा आएर शरण लिनुप¥यो । उनले त्यहीँ जुम्ल्याहा लव र कुशलाई जन्म दिइन् । जनकको दरबारमा सुखसयलमा हुर्केकी राजकुमारीले जंगलमा प्रचण्ड असुविधा भोग्नुप¥यो । सो दुःख र असुविधाबाट उनी कहिल्यै मुक्त हुन सकिनन् र पुनः राजमहल फर्किन सकिनन् । जुन धर्तीमाताबाट शिरध्वज जनकले सीतालाई भेटाएका थिए, फेरि त्यही धर्तीमा उनले शरण लिएर विलीन हुनुप¥यो । उनका जीवनका अधिकांश समय गहन दुःख र असुविधामै बित्यो ।
आज रामको मन्दिर त बन्यो, सँगै सीताको मन्दिर पनि बन्नुपर्ने थियो । कृष्णको मन्दिरमा राधाकृष्णको मूर्ति हुन्छ, त्यस्तै रामको छेउमा सीताको स्थान हुनुपर्ने हो, त्यसले सीतालाई पनि न्याय दिन्थ्यो, त्यो पनि भएन । नेपालबाट सीताको मूर्ति बनाउन १६ र १४ टनका शिलाहरू लगिएको थियो । त्यसबाट रामसीताको मूर्ति बन्ला भन्ने परिकल्पना गरिएको थियो, त्यो पनि भएन ।
आज रामको मन्दिर त बन्यो, सँगै सीताको मन्दिर पनि बन्नुपर्ने थियो । कृष्णको मन्दिरमा राधाकृष्णको मूर्ति हुन्छ, त्यस्तै रामको छेउमा सीताको स्थान हुनुपर्ने हो, त्यसले सीतालाई पनि न्याय दिन्थ्यो, त्यो पनि भएन ।
वृन्दावनमा कृष्णको दर्शन गरेपछि हामी राधाको दर्शन गर्न बर्साना जान्छौँ । बर्साना राधाको गाउँ हो । त्यहाँ राधाको दुईवटा विशाल सुन्दर मन्दिर छन् । हजारौँ भक्तहरू प्रत्येक दिन मन्दिरको दर्शन गर्न बर्साना पुग्छन् । राधाको दर्शन नगरिञ्जेलसम्म कृष्ण दर्शन पूरा हुँदैन । प्रत्येकचोटि वृन्दावन जाँदा म पनि बर्साना जाने गरेको छु ।
त्यस्तै, रामको दर्शन गरेपछि सीताको जन्मस्थल जनकपुरधामको दर्शनपछि मात्र यो पवित्र यात्रा पूरा भएको मानिन्छ । जनकपुरको सीताको मन्दिर सीताका लागि राधाको बर्सानाजस्तै हो । अयोध्या र जनकपुरको बिचमा खासै ठुलो दूरी छैन । सिधा दूरी ३७२ किमि हो भने राजमार्गको दूरी ४३४ किमि, रेलमार्गको दूरी ४६२ किमि मात्रै छ । सुपरफास्ट ट्रेनहरू चलिरहेको भारतमा यो ४–५ घन्टाको यात्रा मात्रै हो । तीर्थयात्रीहरू बिहान आएर दर्शन गरेर बेलुका फर्कन सक्छन् । अयोध्यामा भव्य रेल स्टेसन बनेको छ, त्यस्तै त्यहाँ भव्य महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय एयरपोर्ट पनि बनेको छ । अयोध्या अब एक अन्तर्राष्ट्रिय सहर भइसक्यो । त्यहाँ पाँचतारे होटलहरू साथै अन्तर्राष्ट्रिय सुविधासहितको पूर्ण रूपमा वैकल्पिक सौर्य ऊर्जा आधारित सहर बनाउने भारत सरकारको योजना छ । केही समयपछि नै प्रत्येक दिन एकदेखि डेढ लाख धार्मिक पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू अयोध्या पुग्ने अनुमान छ । करिब चार करोड धार्मिक पर्यटक वार्षिक रूपमा अयोध्या पुग्ने अनुमान छ । मन्दिर निर्माणाधीन अवस्थामै २०२२ मा २ करोड २१ लाख मानिसले अयोध्याको भ्रमण गरे । राम मन्दिरको निर्माणपछि नेपाल, भारत र विश्वका अनेकौँ मुलुकमा बस्ने हिन्दुहरू अयोध्या पुग्नेछन् र यो संख्यामा उल्लेख्य वृद्धि हुँदै जानेछ । अयोध्याको त कायाकल्प भयो, त्यही उदारदृष्टिले सीता जन्मस्थल जनकपुरधाम र सीताले भूमिसमाधि लिएको वाल्मीकि आश्रमले पनि न्याय पाउनुपर्ने हो । यसले नेपालको धार्मिक पयर्टनको वृद्धिलाई ठूलो उछाल दिनेछ । अयोध्यामा आएर सुविधामा बसेको पर्यटकलाई त्यही सुविधा दिन जनकपुरको पनि कायाकल्प हुन जरुरी छ ।
वाल्मीकि आश्रम, जहाँ सीताले लव र कुशलाई जन्म दिइन् र अन्ततः भूमिसमाधि लिइन्, त्यो ठाउँ अहिले खुला जेलजस्तो छ । त्यो क्षेत्र नेपाल र भारतको सीमामा पर्छ । २१औँ शताब्दीमा त्यहाँ न मोबाइल लाग्छ, न बत्ती छ, न पानी छ, न सडकले जोडिएको छ । पैदल जाँदा जंगलको बिचमा चारैतिरबाट दिउँसै जनावर आउँछन् । त्यहाँ केही घन्टा विश्राम गर्ने व्यवस्था भएको न कुनै धर्मशाला नै छ । त्यहाँ दर्शन गरेर तुरुन्तै भागेर आउनुपर्छ । उता, वाल्मीकि नगरमा बिहार सरकारले अर्बौं रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय सभागृह र स्तरीय आधुनिक सुविधाजनक होटलहरूको निर्माण गरिसकेको छ ।
पाँच सय वर्षपछि रामले न्याय पाए, सीता अझै पनि अन्यायमा छिन् । रामलाई न्याय दिलाउन रामभक्तहरूले ठुलो सङ्घर्ष र त्याग गरे, सीतालाई न्याय दिलाउनलाई सनातनीले त्यस्तै त्याग र सङ्घर्ष गर्नुपर्ने अवस्था छ । नेपालका रामभक्तहरूलाई जोडदार साथ नेपाल र भारत सरकारका सामु यो विषय उठाउन म हार्दिक आग्रह गर्दछु । वाल्मीकि आश्रमको दुर्दशा देखेर आँखाबाट आँसु झर्दछ । त्यहाँ मानिसहरूलाई लालटिन बालेर बस्नुपरेको छ । शौचको कुनै उचित व्यवस्था छैन । त्यहाँ अविलम्ब नेपाल सरकारले बिजुली, इन्टरनेट र सडकको व्यवस्था गर्नुपर्छ । भारततिरबाट त्यहाँ पुग्यो भने पुलबाट भारत पुगेर गाडी छाडेर पैदल जंगल छिर्नुपर्छ । वर्षौं आवाज उठेपछि बल्ल नेपाली भूमिबाट झोलुङ्गे पुल त बन्यो, तर उही हाम्रै नेपाली विकासे पाराको । बनाउने र अन्तिममा उपयोग गर्न नसक्ने नियति त्यो पुलले खेप्नुपरेको छ । वर्षौंको मागपछि बनेको पुलमा आवागमन नेपाल सरकारबाटै रोक लगाइएको छ । त्यो पुल चालु भइदिएको भए नेपालको त्रिवेणीघाटबाट नदी पार गरेर नेपालकै त्यो क्षेत्र वाल्मीकि आश्रम पुग्न सकिन्थ्यो । सीमा चौकी र भन्सारको झन्झट बेहोर्नुपर्ने थिएन । पुलका किनाराबाट करिब तीन किमिको दूरीमा साना विद्युतीय सवारी साधन चलाएर त्यो क्षेत्रमा पर्यटकलाई सुविधासाथ मिनेटमै पु¥याउन सकिन्थ्यो । यति सानो काम पनि पूरा गर्न कसैमा कुनै चासो, उत्सुकता नभएका कारण अत्यन्त समस्याहरू झेलेर भारतको सीमाबाट घनघोर जंगल भएर हिँडेर जानुपर्छ । वर्षाको समयमा खोलानालामा पानी बढेपछि हिँडेर पुग्न पनि खतरनाक हुन्छ । त्यसैले नेपालकी राजकुमारी सीताले जन्मेको पवित्र ठाउँ जनकपुरधाम र सीताले भूमिसमाधि लिएको वाल्मीकि आश्रमले अब अयोध्याजस्तै न्याय पाउनुपर्छ ।
अयोध्याबाट जनकपुर हवाई यात्राद्वारा ३० मिनेट पुग्न सकिन्छ । अयोध्यामा गरिएझैँ जनकपुरको धावनमार्गलाई लम्ब्याएर २५ सय मिटर जतिको क्षमता भएको अन्तर्राष्ट्रिय उडान गर्न सक्ने दृष्टिले एयरपोर्टको स्तरोन्नति तुरुन्त गरिहाल्नुपर्छ । दुई सय सिटवाहक जहाजहरू अवतरण गर्न सकून् । अहिले तीव्र गतिले चल्ने रेलहरू बनिरहेका छन्, त्यसैबाट चार घन्टामा अयोध्याबाट जनकपुर आउन सकिन्छ । त्यसैले जनकपुर र अयोध्यालाई आधुनिक वायु, रेल र सडकमार्गबाट जोडौँ । रामले न्याय पाए, सीतालाई पनि न्याय दिलाऊँ । सबै रामभक्तलाई यो विषयलाई नेपाल र भारत सरकारसमक्ष अविलम्ब उठाउन जोडदार आग्रह गर्दछु ।