ब्राइटनलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लियो लुटन
![ब्राइटनलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लियो लुटन](https://npcdn.ratopati.com/media/news/luton_y7KHM5BQCY.jpg)
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लुटन टाउनले बलियो प्रतिद्वन्द्वी ब्राइटनलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । लुटनको सजिलो जितमा एलिजा एडेबायोले ह्याट्रिक गरेका थिए ।
जितसँगै लुटन टाउन लामो समयसपछि रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । लुटन टाउनले खेल सुरु भएको तीन मिनेटभित्रै दुई गोल गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमै एलिजाले लुटनलाई अग्रता दिलाएका थिए ।
तेस्रो मिनेटमा चिडोजी अगबेनले लुटनको अग्रता दोब्बर बनाएका थिए । ४२ औँ मिनेटमा एलिजाले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै लुटनलाई पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए । निर्धारित समयको ५६औँ मिनेटमा एलिजाले ह्याट्रिक पुरा गरेका थिए ।
हालसम्म २१ खेल खेलेको लुटन टाउन १९ अंकसहित तालिकाको १७ औँ स्थानमा उक्लिएको छ । २२ खेल खेलेको ब्राइटन भने ३२ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ ।