कक्षा १-५ मा झन्डै १ लाख विद्यार्थी घटे, ईसीडीमा बढे
काठमाडौँ । विश्वविद्यालय तहमा विद्यार्थी घटिरहेको भन्दै चर्को बहस जारी छ । विद्यार्थीहरू विदेशीने क्रम बढेपछि रोक्नका लागि बहस सुरु भएको हो । विश्वविद्यालय क्षेत्रमा अनेकन् कारणले विद्यार्थी घटिरहेको अनुमान छ । यसका पछाडि बेरोजगारीको समस्या, बजार सुहाउँदो शिक्षा प्रणाली नहुनु जस्ता कारणले विद्यार्थीहरू विदेश पलायन वा पढाई छोड्न बाध्य भइरहेको अवस्था हो ।
तर, विश्वविद्यालयमा मात्र नभई विद्यालय तहमा समेत विद्यार्थी घटिरहेको पाइएको छ । कक्षा १–५ सम्ममा यो वर्ष झन्डै १ लाख विद्यार्थी घटेको पाइएको हो ।
गत वर्षको तुलनामा यो वर्ष १ देखि ५ सम्म ९१ हजार ३८९ विद्यार्थी कम भर्ना भएका छन् । शैक्षिक सत्र २०७९ मा कक्षा १–५ सम्म ३६ लाख १० हजार ६०३ विद्यार्थी थिए । तर, चालु शैक्षिक सत्र २०८० मा ३५ लाख १९ हजार २१४ विद्यार्थी पढिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कले देखाएको छ ।
शैक्षिक सत्रको सुरुमा भर्ना भएर अन्तिमसम्म पढ्ने विद्यार्थीको तथ्याङ्क भने फरक हुन्छ । जुन हरेक वर्ष सुरुमा बढी भर्ना हुने र अन्तिममा वार्षिक परीक्षासम्म कक्षा छोड्ने विद्यार्थीहरू हुन्छन् । तर, यो वर्ष भने शैक्षिक सत्रको सुरुमै भर्ना हुने विद्यार्थी नै कम देखिएका हुन् ।
तथ्याङ्क स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र
तथ्याङ्क अनुसार कक्षा १ देखि ५ सम्म विद्यार्थी घटेको देखिएको छ । तर, प्रारम्भिक बाल विकास (ईसीडी) मा भने विद्यार्थी बढेको देखिएको छ । तथ्याङ्क अनुसार गत शैक्षिक सत्रको तुलनामा यो शैक्षिक सत्रमा ईसीडीमा ७८ हजार १०१ विद्यार्थी बढेका छन् । अघिल्लो वर्ष २०७९ मा १२ लाख ८ हजार ४२५ विद्यार्थी ईसीडीमा भर्ना भएका थिए । तर, यो वर्ष भने बढेर १२ लाख ८६ हजार ५२६ विद्यार्थी ईसीडीमा भर्ना भएको तथ्याङ्कले देखाएको छ ।
२०७९ भन्दा अघिल्ला वर्षहरूमा लगातार तीन वर्ष विद्यार्थीहरू ३५ लाखको वरिपरि नै देखिन्छ । तर, २०७९ मा ३६ लाख पुगेका थिए । त्यो बेला ईसीडीमा समेत विद्यार्थी बढेको देखिएको छ । तर, चालु शैक्षिक सत्रमा भने कक्षा १–५ मा विद्यार्थीको सङ्ख्यामा कमी आएको देखिएको छ ।
- विद्यार्थी घट्नुको कारण
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माले कक्षा १ देखि ५ सम्ममा विद्यार्थीको सङ्ख्या घट्नुका पछाडि थुप्रै कारण रहेको बताए । उनका अनुसार जनसङ्ख्या वृद्धिदर घटेकाले विद्यार्थीहरूको सङ्ख्यामा कमी आएको हो । त्यस्तै प्रारम्भिक बालविकास (ईसीडी) मा विद्यार्थीहरू बढी होल्ड हुँदा समेत माथिल्लो तहमा विद्यार्थीको सङ्ख्या कमी देखिएको उनको भनाइ छ ।
‘ईसीडीमा ओभरएज र अण्डरएजका बच्चाहरू धेरै देखिएका छन् । अहिले कक्षा १–५ सम्ममा १ लाखको हाराहारीमा बच्चा कम देखिन्छन् । तर, ईसीडीमा ८० हजार बच्चा बढेका छन्,’ निर्देशक शर्माले भने, ‘ओभरएज र अण्डरएजको बच्चा बढी देखियो । ईसीडीको बच्चा कक्षा १ मा नजाँदा कक्षा १ देखि ५ सम्म विद्यार्थी घटेको देखिएको हो,’ निर्देशन शर्माले भने ।
निजी क्षेत्रका विद्यालयमा भने विद्यार्थी सङ्ख्या घटेका छैनन् । निजी विद्यालयमा विगतकै जति विद्यार्थीहरू रहेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाका अनुसन्धानकर्ता डा. प्रमोद भट्टले भने जनसङ्ख्या वृद्धिदर घटेको कारण विद्यार्थी कम भर्ना भए भन्न नमिल्ने बताए । ‘अहिलेको अवस्थामा जनसङ्ख्या वृद्धिदर घटेकाले विद्यार्थी घटे भनिहाल्ने अवस्था आएको छैन । स्वाभाविक रूपमा जनसङ्ख्या वृद्धिदर घटेपछि असर त गर्छ नै । तर, अहिलेको अवस्थामा नै विद्यार्थी जनसङ्ख्याका कारण घट्यो भन्न मिल्दैन होला,’ भट्टले भने ।
घटेको मध्ये कक्षा १ मा २८ हजारको हाराहारीमा विद्यार्थी घटेका छन् । कक्षा १ सम्म विद्यार्थी घटे पनि ईसीडीतर्फ बढेको उनको भनाइ छ । यसलाई उमेर समूहभन्दा बाहिरका विद्यार्थीको भर्ना हुने दर घटेको भन्न मिल्ने उनको भनाइ छ ।
‘२ वर्षको तथ्याङ्क हेर्दा ओभरएज र अण्डरएजका विद्यार्थी कम देखिएका छन् । ईसीडीतिर बढ्नु भनेको कक्षा १ मा भर्ना हुने विद्यार्थी ईसीडीमै रोकिए कि भन्ने हुनसक्छ । त्यस्तै जनसङ्ख्याको वृद्धिदर घट्न भनेको कालान्तरमा यो सङ्ख्या घट्नु नै हो,’ उनले भने ।
अहिले विद्यार्थी भर्नादर शतप्रतिशत छैन । अर्थात् विद्यालय भर्ना हुनुपर्ने उमेर समूहका सबै विद्यार्थी विद्यालय गइसकेको अवस्था छैन । सरकारले शतप्रतिशत विद्यार्थी भर्ना गराउने भन्दै हरेक वर्ष अभियान चलाउँदै आएको छ । तर, शतप्रतिशत विद्यार्थी विद्यालय जान सकेका छैनन् । यस्तो अवस्थामा ईसीडीमा विद्यार्थी शतप्रतिशत पुगे भन्न नसकिने डा. भट्टको भनाइ छ ।
‘१०० प्रतिशत विद्यार्थी विद्यालयमा आइसकेका छैनन् नि । यो प्राप्त नभएसम्म जनसङ्ख्या वृद्धिदरको तर्क गर्नु ठिक होइन होला,’ उनले भने ।
उमेर नपुगीकन कक्षा १ मा आउने विद्यार्थीहरू ईसीडीमै रोकिएर त्यहाँ विद्यार्थी बढेको हुने सक्ने र कक्षा १ मा घटेको हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विपक्षी दलहरूको दौडधुप, सुप्रिम सहकारी ठगी प्रकरणमा रविसँग ४ करोड बिगो दाबी
-
थानकोटमा युवतीमाथि चक्कु प्रहार, एकजना पक्राउ
-
मन्त्रिपरिषद् बैठक सुरु
-
ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा